स्थानीय निर्वाचन वैशाखमै गर्ने सहमति «

स्थानीय निर्वाचन वैशाखमै गर्ने सहमति

सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।
संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भइरहेको जानकारी दिए ।
निर्वाचन आयोगले सरकारलाई आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै वैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने समेत आयोगको प्रस्ताव गरिसकेको छ ।
बैठकमा यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको उम्मेदवारको विजय कसरी सुनिश्चित गराउने भन्ने विषयमा पनि समितिमा छलफल गरिएको थियो । गठबन्धन दलहरुबीचको उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा विजयी सुनिश्चित गराउने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्