बाँकेमा ६ महिनामा ८८ जना लागूऔषध कारोबारी पक्राउ «

बाँकेमा ६ महिनामा ८८ जना लागूऔषध कारोबारी पक्राउ

नेपालगन्ज : बाँकेमा ६ महिनाको अवधिमा ८८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार ६ महिनामा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेश, ३ हजार ५४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा र १ हजार ४३० ट्रमाडोल ट्याब्लेटसहित ८८ जना कारोबारीलाई पक्राउ गरेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता मधुसुदन न्यौपानेले पक्राउ परेका लागू औषध कारोबारीबाट ५ लाख ११ हजार नगद बरामद गरेको बताए ।
प्रहरीको पछिल्लो तथ्यांकले बाँकेमा हरेक दुई दिनको अन्तरमा एक जना लागूऔषधका कारोबारी पक्राउ परिरहेको देखिएको छ । जुन हरेक महिना झन्डै १५ जना पक्राउ परेको देखिन्छ । यसबाट हरेक २ दिनको अन्तरमा एक जना लागूऔषध कारोबारी पक्राउ परेको हुन आउँछ । यसले बाँके लागू औषधको ट्रान्जिट बन्दै गएको देखिन्छ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयले भारतमासमेत लागूऔषधको कारोबारीलाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेकाले नेपालमा लागूऔषध ओसारपसारमा कमी आएको दाबी गर्छन् ।
प्रहरीले सार्वजनिक गरेको ६ महिनाको प्रगति विवरणमा १ सय ३९ जना फरार अभियुक्त पक्राउ गरेको, नेपालगन्ज विमानस्थलवाट २ जना तस्करसहित करिब ३ करोड १४ लाख मूल्य बराबरको ४ किलो २९.१९ ग्राम सुन बरामद, भन्सार चोरी पैठारीसम्बन्धी ४ करोड ३६ लाख २६ हजार बराबरको समानसहित २७ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको जनाएको छ । त्यस्तै बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित ४, हातीको दाँत २ सहित १० जना लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको । २० लाख मुल्य बराबरका बोइलर कुखुरा, चल्ला, मासु, माछासहित ७ जना लाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
हालसम्म कुल ५३७ मुद्दामा ६७४ जनालाई पक्राउ गरी कारबाही गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले सो अवधिमा कुल ९ करोड ३९ लाख ९३ हजार ८०७ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्