पृथ्वीनारायण शाहलाई समग्रमा स्विकारौं «

पृथ्वीनारायण शाहलाई समग्रमा स्विकारौं

विसं २०६२-०६३ को परिवर्तनअघिसम्म नेपालको भौगोलिक एकीकरणका सफल अभियन्ता मानिएका पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राज्यस्तरमै मनाउने गरिन्थ्यो । वि.सं. २०६२-०६३ को परिवर्तनपछि केही वर्षबाहेक पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राज्यस्तरमा मनाउने क्रम रोकिएको छ ।
‘विश्वका सर्वहाराहरू एक हौं’ भन्ने र ‘हामी सर्वहारा (कम्युनिस्ट) हरू अन्तर्राष्ट्रिय जाति हौं’ भन्नेहरू नै संयोगले अति राष्ट्रवादी भएपछि नेपाली कांग्रेसका केही नेताहरू, वरिष्ठ लेखक, पत्रकार, बौद्घिक अथवा बुद्घिजीवी, इतिहासकार, राजनीतिज्ञ, समाजसेवी भनिनेहरू राष्ट्रवादी हुनु र पृथ्वीनारायण शाहको ‘जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउनुमा आश्चार्य नमाने हुन्छ । अझ यो वर्ष त अझ राष्ट्रवादी कामरेडहरूले पृथ्वीनारायण शाहका एघारौं पुस्ताका नाति तथा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराएर सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गराए भने त्यस कार्यमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू पनि सरिक हुनुभएको थियो ।
इतिहासकार, लेखक, प्राध्यापक, बौद्घिक कर्म गर्नेहरूले पृथ्वीनारायण शाहबारे वास्तविकता जे हो, त्यो लेखेको-बोलेको देखिँदैन । बौद्घिक, लेखक, विश्लेषक, इतिहासकार आदिले पृथ्वीनारायण शाहका सबल र दुर्बल दुवै पक्ष बाहिर ल्याऊन् । खुला छलफल गरुन् । जस्तै कीर्तिपुरको युुद्घमा कीर्तिपुरे जनता (सेना) द्वारा पृथ्वीनारायण शाहका सेना प्रमुख कालु पाँडे मारिएको र आफ्ना भाई सूरप्रताप शाहको आँखा फुटेको झोकमा कीर्तिपुरे जनतामाथि अन्याय गरेको भनिएको घटना के हो, सत्य तथ्य आउनु आवश्यक छ । त्यस्तै, कीर्तिपुरे सेनाको सिपाहीले पृथ्वीनारायण शाहलाई चिनेर मार्न लाग्दा अर्को सिपाहीले देखेर ‘राजालाई मार्न राजा नै चाहिन्छ, हामीले मार्ने होइन’ भनेर मात्रै पृथ्वीनारायण शाह बाँचेको प्रसंग, आफ्नो स्वार्थका लागि गोत्र नै परिवर्तन गरेको प्रसंग, पूर्वका किरातीहरूलाई छल गरेर (अरुण नदीमा बिनाहातहतियार भेला भई मीत लगाउने भनी लिम्बू राजाहरूलाई बोलाइयो, तर पृथ्वीनारायण शाहका सेनाहरूले पहिले नै बालुवामा लुकाएर राखेको खुँडा, तरबार आदिले काटेर-मारेर) जितेको प्रसंग, तनहुँका राजा त्रिविक्रम सेन (आफ्नै पिता नरभूपाल शाहका मावली खलक) लाई पनि उनका गुरु गौरेश्वर पन्तलाई विश्वासमा लिई मिल्ती गर्ने भनी त्रिशूली नदीको किनार, ज्यामिरघाटमा तत्कालीन प्रचलनअनुसार बिना हातहतियार पृथ्वीनारायण शाह र त्रिविक्रम सेन भेट हुने भनी तय गरिएको, तर पृथ्वीनारायण शाह र त्रिविक्रम सेन भेट भएर कुराकानी हुँदाहुँदै अघि नै पृथ्वीनारायण शाहका सेनाहरूले योजनाअनुसार नदी किनारको बालुवामा लुकाएर राखेको हातहतियार झिकी त्रिविक्रम सेनमाथि जाई लागेकोे अनि तत्कालै त्रिविक्रम सेनलाई कैद गरी नुवाकोट लगिएको घटनाहरू र गुरु मानिएका जसले त्रिविक्रम सेनलाई पृथ्वीनाराणय शाहसँग भेट्न राजी गराएका थिए, उनै गुरु गौरेश्वर पन्तलाई पनि पृथ्वीनारायण शाहले देश निकाला गरेको प्रसंग पनि यथार्थमा आउन आवश्यक छ ।
पृथ्वीनारायण शाहले पाल्कीमा चढी युद्घ सञ्चालन गरिरहेको बेला शत्रु पक्ष (कीर्तिपुरे) का सेनाले पृथ्वीनारायण शाहलाई चिनेर खुँडा उजाए । तर, अर्को सेनाले आएर ‘राजा त अवध्य हुन्छन्’ भनेर हात नसमातेको भए पृथ्वीनारायण शाहको जीवन त्यसै स्थलमा समाप्त हुन्थ्यो भनी ‘नेपालको ऐतिहासिक रूपरेखा’ नामक किताबको पाना नम्बर–१७८ मा बालचन्द्र शर्माले लेखेका छन् ।
यसरी हेर्दा शत्रु पक्षको एउटा सामान्य सिपाहीको दूरदर्शिताले मात्रै कीर्तिपुरको दोस्रो लडाइँमा पृथ्वीनारायण शाह बाँचेको देखिन्छ । त्यस्तै बेलकोट युद्घमा कैद परेका जयन्त रानालाई मार्न लगाएको प्रसंग, मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीलाई दोस्रो पटक लिन जाँदा आफु बसेको ठाउँमा मकवानपुरे राजाका सेनाले जुत्ता नखोली सलाम गर्दा ती सेनाहरूलाई आफ्नो मानिस लगाई तत्कालै मार्न लगाएको र त्यसपछि उनका जेठान दिग्बन्धन सेन तुरुन्तै आई…तर, राजा हेमकर्ण सेन तुरुन्तै आई छोरालाई तत्कालै रोकेको प्रसंग (स्मरणीय छ, इतिहासकार बालचन्द्र शर्माका अनुसार हेमकर्ण सेन तुरुन्तै आई पुगी दिग्बन्धन सेनलाई नरोकेको भए त्यही बेला पृथ्वीनारायण शाहमाथि जे पनि हुन सक्थ्यो । यो भनेको दोस्रो पटक पृथ्वीनारायणको खड्गो टरेको हो । ‘भारध्वज गोत्र’बाट ‘कश्यप’ वा ‘काश्यप गोत्र’मा परिवर्तन भएका थिए, पृथ्वीनारायण शाह । यसरी समग्रमा पृथ्वी नारायण शाहमाथि छलफल हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्