लोकतन्त्रको महत्व र नेपालको अवस्था «

लोकतन्त्रको महत्व र नेपालको अवस्था

जाडो धेरै भए पनि स्वस्थानी माहात्म्य सुरु भइसकेको छैन, लोकतन्त्र माहात्म्य श्रवण गरेर दिनहरू बिताउन बाध्य छन् आमनेपालीहरू । विलियम शेक्सपियर भन्थे, ‘राजनीति त्यस्तो विषय हो जसले ईश्वरलाई नै धोका दिन्छ’ । चरित्र साथमा भए सुन्दरताको अर्थ रहन्छ, धर्म साथमा भए धन साथमा रहन्छ, विवेक साथमा भए बुद्धि साथमा रहन्छ र प्रेम र विश्वास साथमा भए परिवार साथमा रहन्छ भनेका थिए चाणक्यले । हामी भाषण गर्दा चाणक्य नीति, विदुर नीति, कौटिल्य नीतिको कुरा गर्छौं अनि काम एकातिर कुम्लो अर्कैतिर हुन्छ । जनता भन्छन् नयाँ नेतृत्व, नेता भन्छन् पुरानै ठीक । नेकपा एमालेको १० औँ महाधिवेशनले पुरानै नेतृत्व देखायो, कांग्रेसको १४ औँ महाधिवेशनले पनि देहो-याएर निर्वाचन गराएर भए पनि उही पुरानो नेतृत्व देखायो । आखिर यही हुनुपर्ने थियो भने सर्वसम्मत गराएर अरूलाई सास्ती नदिएको भए हुन्थ्यो । धनको खोला बाढी बगाएर देखाइएको यो दृश्यले दलमा आन्तरिक लोकतन्त्र छैन भन्ने स्पष्ट हुन्छ, दलमै लोकतन्त्र नभएपछि देशमा लोकतन्त्र कसरी बसिरहन्छ ? यस्तै लक्षणहरू देखिएर लोकतन्त्रको घाँटी सुराहीजस्तै साँघुरो भएको थियो विगतमा, अब त घाँटी खुकुलो छ, भस्मासुरले झैँ जति हाले पनि पेट अपच हुने देखिन्न ।
२०४६ को परिवर्तनपछि अधिकांश समय लोकतन्त्रवादी नेपाली कांग्रेसले देशमा सरकार चलायो । सबैजसो सरकारमा आफुलाई समाजवादी वामपन्थी भन्ने कम्युनिस्टहरूले सत्ताको साझेदारी गरे । यसअघि कम्युनिस्ट आफुले मात्रै पनि सरकारको नेतृत्व गरेको हो । पछिल्लोपल्ट त जनताले दुईतिहाइको कम्युनिस्ट सरकार बनाइदिएका पनि हुन् । हाल चलिरहेको कांग्रेस सरकार पनि कम्युनिस्टकै भ-याङ चढेर बनेको हो । लोकतन्त्रको छुट्टै नमुना यो परमादेशको सरकार पनि हो र यसलाई पनि हामीले बनाइदिएको भनेर भृकुटीमण्डपमा कम्युनिस्टहरू नै कुर्लिएका हुन् । निश्चय नै कम्युनिस्ट भन्नु यथास्थितिबाट माथि उठेर अग्रगमन भनौँ प्रगतिवादी भनी विद्यालयदेखि नै हामीले पढ्दै आएका हौँ, र माओ भन्थे, ‘जनताको एक टुक्रा धागो पनि नलिनू, एउटा सियोको टुप्पो बराबरको अंशमा पनि आँखा नगाड्नू ।’ बाल्यकालदेखि विश्व विद्यालयका ठेलीहरूमा हामीले पढेको यही हो ।
जनताले पनि सायद यही पत्याए र एकपटक अधिक मतबाट परीक्षण गरौँ भने पनि । कसैले हल्लाउन नसक्ने गरी मत दिए, तर घमन्डले मातिएर आफैँ चिराचिरामा परे । ५० वर्ष कसैले हल्लाउन नसक्ने भन्थे, दुवै हात उठाएर कसम खाएका थिए, तीन वर्षमै तीन चिरा भए, सिसा फुटेजस्तै गरी फुटे, धारे हात लाउँछन् अहिले । लोकतन्त्रवादी भन्ने कांगे्रस पनि चिरा–चिरा नभएको होइन, घात, अन्तर्घात, पाएको बहुमतको सखाप, अर्काको एजेन्डा बोकी हिँड्ने, कांग्रेस जसले बनायो उसको नीति फेर्ने अतीतको इतिहास कति छ कति बेलगामको । कांग्रेसकै एक नेता त रुँदै बाहिरिए, भोट हाल्नसम्म गएनन्, भृकुटीमण्डपमा गणेशमान, भट्टराई भावुक भएर रोएको हामीले देखेकै हौँ । भृकुटीमण्डपमै एउटा गाईको बाच्छोले के बाँ गरेको थियो तीन–तीन वटा साँढेहरू डुक्रिएका पनि देखिहाल्यौँ । कसैले केही भन्न नहुने रहेछ यहाँ । चोखो छु भन्ने कम्युनिस्टहरूको राजसी शैली देखेर पनि जनता भने वाक्कदिक्क भएका छन् । चीनका महामहिमले केही बेर काठमाडौँको भ्रमण गरेर सुशासन र पारदर्शिताका विषयमा के भनेर गएका थिए, बिर्सियो होला सायद ।
विश्वको अर्बपति सूचीमा रहेका व्यापारी खुला प्रतिस्पर्धा छोडेर मधेसी कोटा भन्दै दलका प्रतिनिधि बन्छन् यहाँ । यहाँ दलका मानिसहरूले नै घरजग्गाको क्रय–विक्रय गराएका छन् बढी मूल्य गराएर, जग्गा प्लटिङमा दलकै मान्छे छन्, केन्द्रदेखि स्थानीय तहसम्मको ठेक्कापट्टामा दलकै मान्छे छन् । निजी विद्यालय, कलेजदेखि विश्वविद्यालयसम्म दलकै छन्, पछिल्लो समय दर्जनौँ कांग्रेस पदाधिकारीहरू या त ठेक्कापट्टामा, या त शिक्षा, या स्वास्थ्य या बैंक व्यवसायमा लागेको पाइएको छ । यहाँ मरेका नेताका नाममा शिक्षा, स्वास्थ्य, एनजीओ आदिमा सरकारी बजेट जाने गरेको छ, सार्वजनिक जग्गा प्राप्तिमा दल निकट हुने गरेको छ । शैक्षिक संस्था, स्वास्थ्यक्षेत्र, होटल, डिपार्टमेन्टल स्टोर, जलविद्युत् आदिमा नेताहरूकै सेयर, लगानी भएको चर्चा छ, चिल्ला र महँगा गाडी अनि महँगो राजधानी सहरमा अग्ला घर, महलहरू पनि । उद्यमी, व्यवसायी भएर रातो दिन खटिरहेकालाई पनि दलकै सदस्यता दिएर राजनीतिक पद दिने गरेको देखिन्छ, राजदूत बनाउने काम त दलकै कोटाबाट भएकै हो, पछिल्लो अवस्थामा अदालतदेखि बारसम्मको वार भएको कारण पनि दलकै भागशान्तिको कारण देखियो । स्वीस बैंक, विदेशी बैंकमा पैसा दलहरूकै छ भनी सार्वजनिक मिडियामा आएको विषय हो । एक कम्युनिस्टका उपल्लो नेताले विदेश उपचार गराउँदा १७ करोड राज्यबाट लिएको, अर्काले मृगौला प्रत्यारोपणमा केही महिनाअघि मात्रै ८१ लाख लिएको, सर्प पाल्न पनि सरकारी पैसा लिएको भनिएकै हो ।
यी प्रतिनिधि केसहरू मात्र हुन्, उपचार खर्चमा मात्रै अरबौँ रकम स्वाहा भएको जगजाहेर छ सबैलाई । कम्युनिस्ट खम्बा रहेको हालको परमादेश सरकारले ०८१ सालसम्म जलविद्युत् वा निश्चित उद्योगमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनी बजेटमै भनेर संसद्बाट मान्यता दिलाई कानुनी रूप लिइसकेको अवस्था छ । सवारी चालक, भान्छे आफ्नै मान्छे हुनैपर्ने भयो । ३५ पेजसम्मको गाली आफ्नै मान्छेबाट हुँदा, कार्यकारी प्रमुखको मुख बोलीबाट यति–उति अर्बको हिसाब छैन भनिरहँदा मौन रहन्छन् आफैँ । हामीकहाँ समाजवादको खेती गरिन्छ तर त्यो खेतीबाट उब्जनी हुने भनेको सुकेनास र सिटामोल नपाउने जनता हुन् अनि जग्गा बेचेर खाडीमा भाँडा माझ्न भेडा पाल्न जाने हुन्, तिनले पठाएका विप्रेषणको रकमले यहाँको अर्थतन्त्रको जोहो हुने हो, कति त फर्कनै सक्दैनन्, फर्किहाले पनि बाकसमा एकैपटक घाटमा फर्कने हुन् । जनयुद्ध केका लागि थियो, जबकि यो देशले अहिलेसम्म स्वतन्त्रता दिवस मनाउनुपरेको छैन, एकता दिवस कुनै बेला मनाइन्थ्यो, अहिले त्यो इतिहास बनेको छ । जसले यो देश बनाएर हामी अहिले स्वाभिमान भन्दै छौँ उसकै नाम लिन गाह्रो हुन्छ हामीलाई ।
सडकभरि राजनीति पोखिएको छ, अदालत त लामो समय बन्दै भयो । राजस्व उठाउन सरकार पछि परेको छैन । ऋण भने दुईतिहाईको सरकारले ३ वर्षमा दोब्बर बढाएको थियो । साबिक ८ खर्ब ५८ अर्बको ऋणबाट १५ खर्ब ८९ अर्बमाथि लगेको थियो । ऋणलाई ठूला पूर्वाधार विकासमा लगाइनुपर्नेमा सवारी साधन, तलबभत्ता भनौँ प्रशासनिक खर्चमा लगाएको थियो । अब नेपाली जनता जन्मदै झन्डै ६० हजारको ऋण बोकेर जन्मनुपरेको छ । जन्मदर्तादेखि मृत्युदर्ता भनौँ प्रसूतिगृहदेखि आर्यघाटसम्मको हिसाबकिताब चुक्ता गर्नुपर्छ जनताले । देशमा जनता चालू राजनीतिक ठूलो संयन्त्रले अधिक करको मारमा परेका छन्, आमनेपालीले यसलाई लोकतन्त्रको विकृति नभने के भन्ने ? संघीयताले स्वीजरल्यान्ड सही देश बनेको हो र अमेरिका पनि । कम्युनिज्मकै कारण चीन विश्वको शक्तिशाली भएको हो । गणतन्त्रकै कारण भारत विश्वकै चौथो समृद्ध देश भएको हो, लोकतन्त्रकै कारण आज बेलायत बेलायत भएको छ । तर, यहाँ भने यिनै शब्द भजाएर साना–ठूला सबैले देशलाई हरिकंगाल बनाएका छन् । त्यसैले भाषणले देश बन्दैन र कर्म गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्