उत्पादनभन्दा आयातबाट पाँच गुणा बढी कर संकलन «

उत्पादनभन्दा आयातबाट पाँच गुणा बढी कर संकलन

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा आन्तरिक उत्पादनको तुलनामा आयातबाट झण्डै ५ गुणा बढी मूल्य अभिवृद्धि कर (भ्याट) उठेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले आयातबाट १ खर्ब २ अर्ब १४ करोड रुपैयाँ भ्याट उठाउँदा आन्तरिक उत्पादनबाट भने १६ अर्ब ९८ करोड रुपैयाँमात्र उठाउन सकेको छ । सरकारले सो अवधिमा ४ खर्ब ९४ अर्ब कर राजस्व संकलन गर्दा १ खर्ब ५५ अर्ब रुपैयाँ अर्थात् कर राजस्वको ३१.५ प्रतिशत भ्याट कर संकलन गरेको छ ।
उत्पादनभन्दा आयातबाट धेरै कर उठ्नुले हाम्रो समग्र अर्थतन्त्र नै उत्पादनतर्फ नगई व्यापारतर्फ गएको देखाउने अर्थशास्त्री प्रा.डा. रेशम थापा बताउँछन् । सरकारको आम्दानी आयातमा निर्भर रहेकाले नेपालको अर्थतन्त्र भाडामा चलेको उनको तर्क छ । “अन्य कतिपय देश पनि भाडामा नै चलेका हुन्छन् । तर, हाम्रो जति परनिर्भर भएका मुलुक निकै नै कम छन्,” उनले भने । आयातबाटै कर उठाएर कर्मचारीलाई खुसी पारे देश चल्छ भन्ने सोचले सबै कुरा बिग्रिएको उनको तर्क छ ।
राजा महेन्द्रको समयदेखि चलेको भाडाको प्रणाली अहिलेसम्म रहिरहेको भन्दै थापाले सन् १९९२ को उदारवादी नीतिले व्यापारलाई प्रोत्साहन गरे पनि उद्योगलाई गर्न नसकेको बताए । “पूर्वतयारी नहुँदै उदारवादी व्यापार नीति (ट्रेड लिबरल पोलिसी) आयो र लथालिंग भयो । नीति खराब थिएन, तर समय खराब थियो,” उनले भने । अब पनि अर्थतन्त्रमा पुनः सुधार गर्नुपर्छ भन्दै गलत नीतिहरु हावी हुन सक्ने उनको आशंका छ । “आयातमा आधारित अर्थतन्त्र भएकाले असामान्य अवस्थामा अर्थतन्त्रमा समस्या देखिन सक्छ । त्यस्तो अवस्थामा दोस्रो पुस्ताको वित्तीय नीति आवश्यक छ भनेर पूर्व तयारी र संस्थागत संरचनामा सुधार नै नगरी वित्तीय सुधार हुने देखिन्छ,” उनले भने ।
त्यस्तै, सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आयातको तुलनामा निर्यातबाट नगण्य भन्सार महसुल उठाएको छ ।
महालेखाका अनुसनर सरकारले पुस मसान्तसम्ममा १ अर्ब ६९ करोड भन्दा बढी भन्सार महसुल आयातबाट उठाउँदा वस्तु तथा सेवाको निर्यातबाट ३४ करोड रुपैयाँमात्र उठाएको छ । त्यस्तै, सरकारले पुससम्ममा ३४ अर्ब ४८ करोड रुपैयाँ आयातबाट अन्तःशुल्क उठाएको छ भने भन्सार सम्बन्धी अन्य आयबाट १ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठेको छ । यस आर्थिक वर्षको ६ महिनामा कर राजस्व ४ खर्ब ९४ अर्ब र गैरकर राजस्व ४८ अर्ब गरेर ५ खर्ब ४२ अर्ब गरी कुल ५ खर्ब ४२ अर्ब राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्