एकीकृत व्यापार रणनीति कार्यान्वयनमा जोड

सरकारले स्वदेशी वस्तुको निर्यात वृद्धि गरी मुलुकमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित २०१६ मा पाँच वर्षका लागि नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) ल्याएको थियो । सो कार्यक्रम लक्ष्यअनुसार सफल हुन नसकेपछि त्यसलाई पुनरावलोकन गर्न लागिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एनटीआईएस कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्नका लागि सरोकारवाला निकायसँग सुझाव मागेको छ ।
मन्त्रालयले हालै सूचना जारी गरेर सम्बन्धित संघसंस्था, सरकारी निकाय एवम् सरोकारवालालाई माघसम्म सुझाव पेस गर्न भनेको छ । सुझाव पठाउँदा नयाँ रणनीतिमा नेपालको निर्यातका सम्भावना भएका के–कस्ता वस्तु तथा सेवाहरू समेट्नुपर्छ र त्यस्ता वस्तु वा सेवाको निर्यात प्रवद्र्धन गर्न लिनुपर्ने रणनीति तथा कार्यानीतिका बारेमा ठोस सुझाव उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ ।
एनटीआईएस कार्यक्रमभित्र विभिन्न १२ वटा उत्पादन तथा सेवा क्षेत्र रहेका छन् । सरकारले स्वदेशी वस्तुको पहिचान गरेर निर्यात गराउने लक्ष्यसहित नौवटा उत्पादन र तीन सेवा क्षेत्रलाई एनटीआईएस कार्यक्रमअन्तर्गत राखेको थियो । सन् २०१० मा सुरु भएको सो कार्यक्रम पाँच वर्षपछि २०१६ मा पुनरावलोकन भइसकेको छ । कार्यक्रम प्रभावकारी नभएपछि मन्त्रालयले पुनः पुनरावलोकन गर्न लागेको हो । एनटीआईएस कार्यक्रमअन्तर्गत अलैंची, अदुवा, चिया, जडिबुटी, पस्मिनाको निर्यात भने बढेको छ । एनटीआईएसअन्तर्गत अलैंची, अदुवा, चिया, जडिबुटी, फ्रेबिक, लेदर, फुटवेयर, पस्मिना र कार्पेट रहेका छन् ।
कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधिजन्य जडिबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको जनाएको छ । एनटीआईएस कार्यक्रममा समावेश गरिएका वस्तुलाई थपघट गरी पुनरावलोकन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि सञ्चालन गरिएको यस कार्यक्रम किन सफल हुन सकेन्, असफल हुँदाहुँदै पनि फेरि किन ल्याउन लागिएको छ । एनटीआईएस कार्यक्रम कुन–कुन वस्तु थप गर्न र हाल भएका कुन कुन वस्तु आवश्यक छैन, किन प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेन लगायतका अन्य विषयमा केन्द्रित रहेर सरोकारवाला व्यक्तिसँग कारोबारले गरेको कुराकानीको सार :
निर्यात बढाउन रणनीति ल्याएर मात्र हुँदैन, पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ
पुरुषोत्तम ओझा
पूर्वसचिव एवं व्यापार विज्ञ
नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम तेस्रो चरणमा सकिएको छ । सन् २००३-२००४ मा डाइनोस्टिभ टे«ड इन्टिग्रेसन स्टडी भनेर गरेको थियो । दोस्रो सिरिजका रूपमा एनटीआईएस २००९ र तेस्रो २०१६ मा आयो । यस हिसाबले हेर्दा नयाँ तर्जुमा गर्न लागिएका एन्टिआईएस यो चौथो हो । अगाडिका ट्रेड इन्टिग्रेसन स्टाटेजीको कार्यान्वयन अवस्था सन्तोषजनक रहेन । जति पनि उत्पादन र सेवा पहिचान भयो । त्यसको विकास गर्ने गरेर निर्यात बढाउने भनिएको थियो, तर
त्यो हुन सकेन ।
एनटीआईएस कार्यक्रम किन सफल हुन सकेन भनेर त्यसको समीक्षा गर्नुपथ्र्यो, भएन । योजना, रणनीति बनाउने तर कार्यान्वयन नहुने ठूलो समस्या रहेको छ । भनाइ र गराइको बीचमा ग्याप रहेको छ । एनटीआईएस कार्यक्रमले विभिन्न वस्तु र सेवा पहिचान गरेको भए पनि त्यस वस्तु र सेवाको चरणबद्ध विकास हुन सकेन । व्यवस्थित ढंगबाट वस्तुको विकास गर्न कुरा हुन सकेन । यसका लागि आवश्यक संयन्त्र, जनशक्ति र आवश्यक स्रोतसाधनको व्यवस्थापन नहुँदा रणनीतिले लाभ पु-याउन सकेन । वस्तुहरू र सेवा पहिचान होलान् । पहिलाको तुलनामा सन् २०१६ को एकीकृत व्यापार रणनीति पहिलाको तुलनामा संकुचन भयो ।
वस्तु र सेवाको संख्या कम भएकाले पनि संकुचन भयो । वस्तु र सेवाको संख्या बढाउनुपर्छ । कार्यान्वयन ध्यान दिन सक्नुपर्छ । योजना मात्र बनाएर हुँदैन, त्यसलाई कार्यान्वयन गर्नका लागि आवश्यक संयन्त्र, नीति, नियम–कानुनको व्यवस्थापन हुन जरुरी छ । विगतकै जसरी ल्याइयो भने प्रभावकारी हुँदैन । स्वदेशी वस्तुको पहिचानसँगै मूल्य श्रृंखलामा विकास गर्ने हो । अदुवा भनेर यसको खेती मात्र गरेर भएन । अदुवाबाट अन्य भेराइटिकी उत्पादनहरू बनाउने, मूल्य श्रृंखलालाई विकासमा जोड दिनुपर्छ । उत्पादनमा मात्र जोड नदिएर त्यसको मूल्य अभिवृद्धिमा कति जोड दिनुपर्छ । विगतको एनटीआईएस कार्यान्वयन अवस्था एकदम दयनीय रहेको छ । रणनीतिले परिकल्पना गरेअनुसार वस्तु विकास र मूल्य अभिवृद्धि गर्ने काम हुन सकेको छैन ।
नयाँ तर्जुमा बन्न लागेको एनटीआईएस कार्यक्रममा उत्पादन र सेवा विस्तार हुनुपर्छ । कार्यान्वयनका लागि प्रतिबद्धता र संयन्त्र र आवश्यक पर्ने नीति, नियम–कानुन आवश्यक पर्छ । कार्यान्वयनका लागि स्रोतसाधन जुटाउनुपर्छ । यसअघिको एनटीआईएसले लक्ष्य पूरा नगरेकाले फेरि पनि असफल हुने हो कि भन्ने आशंका पनि रहेको छ । आशंका हटाउन र निर्यात बढाउनका लागि कार्यान्वय पक्ष कडा बनाएर जानुपर्छ । एनटीआईएस कार्यक्रमअन्तर्गत राखिएको वस्तुको निर्यात घट्दै गएको छ । वस्तुको निर्यात बढाएर व्यापारघाटा कम गर्ने लक्ष्य राखिए पनि सोअनुरूप पूरा हुन सकेको छैन । नयाँ तर्जुमा हुन लागेको रणनीतिमा वस्तु तथा सेवाको संख्या बढाएर त्यसको प्रतिफल आउने लागू गर्नुपर्छ । निर्यात बढाउनका लागि रणनीतिमात्र ल्याएर हुँदैन, त्यसको पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छ । निर्यात बढाएर व्यापारघाटा कम गर्नका लागि थुप्रै रणनीति तयार भए पनि अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन भएको छ ।
वस्तुको उत्पादन प्याकेजिङदेखि बजारीकरणमा जोड दिनुपर्छ
रविशंकर सैंजू
व्यापार विज्ञ
यसअघि तर्जुमा गरिएको एनटीआईएसले कति रोजगारी सिर्जना गरेको छ भन्ने हिसाबले हेरियो । अहिले रोजगारीलाई मात्र नहेरेर नजिकको बजारलाई लक्षित गरेर उत्पादकत्व बढ्न सक्ने वस्तुहरू थप्नुपर्छ । पहिला छानिएका परम्परागत कृषि उत्पादनहरू रहेका छन् । तिनीहरूको निश्चित उत्पादनभन्दा बढी निर्यात गर्न सकिँदैन । अदुवा भनौं, अदुवा वार्षिक दुई अर्बको भन्दा बढी निर्यात गर्न सकिँदैन । अन्तर्राष्ट्रिय बजारको मागअनुसार बजारमा सामान आपूर्ति गर्न सक्ने वस्तुहरू छान्नुपर्छ । नेपालमा उत्पादन गर्न सकिने र मागअनुसार उत्पादन बढाएर निर्यात गर्न सकिने वस्तुलाई प्राथमिकता दिनुपर्छ । उत्पादन गर्न सकिने वस्तुमात्र पहिचान गरेर हुँदैन । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले एनटीआईएसअन्तर्गत वस्तु छनोट गरेर उत्पादनको बजार देखाउने काम मात्र ग-यो ।
मन्त्रालयले समग्र वस्तुको उत्पादनदेखि बजारीकरणसम्म समायोजन गर्नुपर्ने थियो, त्यसमा कमजोरी भयो । उत्पादन गरेर बजारसम्म सप्लाई चेन देखाउनुपर्ने थियो तर हुन सकेन । एनटीआईएस कार्यक्रम बनाउने बेला वस्तुको उत्पादनदेखि बजारसम्म लैजानका लागि लजिस्टिक सिस्टमका बारेमा विचार गरिएन । यसका लागि कुनै रणनीति नै आएन । यसले गर्दा बजारसम्म पु¥याउनका लागि कठिन भयो । अब नयाँ बन्न लागेको रणनीतिमा समावेश गरिनुपर्छ । साना–साना उत्पादकहरूले आफै पु-याउन सकेन । यसले मिडल म्यानको भर पर्नुपर्छ । अदुवा र अलैंचीमा त्यस्तै भएको छ । सामान उत्पादन गरेको छ, तर बजारसम्म पु-याउनका लागि अर्काे पक्षको भर पर्नुपर्ने अवस्था छ । बजारमा जति सामान पुग्यो, त्यसको २० प्रतिशत रकम मात्र किसानले पाउने र बाँकी अरूले पाउँछन् । सरकारले वस्तुको भ्यालु एडिसन गरेर पठाउनुपर्छ । युरोपियन युनियनको सहयोगमा नयाँ तर्जुमा गर्न लागिएको एनटीआईएसलाई नयाँ मोडिफाइड गरेर लैजानुपर्छ ।
साना–साना आइटमभन्दा पनि ठूलो स्केलको उत्पादनलाई लिएर जानुपर्छ । कृषिजन्य वस्तुको एउटा–एउटा उत्पादन नभएर सामूहिक रूपमा उत्पादन बढाउने रणनीति बनाउनुपर्छ । उत्पादनको मात्र पहिचान गरेर भएन । त्यसको मापदण्ड पनि तयार गर्नुपर्छ । उत्पादकत्व बढाउने काममा संयोजन गर्नुपर्छ । कृषि उत्पादन, औद्योगिक उत्पादनको भ्यालु एडिसन कसरी गर्ने र सप्लाई चेन म्यानेजमेन्ट कसरी गर्ने, वेयर हाउजिङ, प्याकेजिङ, ब्रान्डिङका कुरामा जोड दिनुपर्छ । कुन सामान कस्तो प्रकारको माग भइरहेको छ, त्यसअनुसार सामानको ब्रान्डिङ गर्नुपर्छ । अलैंची भनेपछि विभिन्न थरीको हुन्छ । त्यसको पनि यो मापदण्डको अलैंची भनी निर्धारण गरिनुपर्छ । बजार देखाइदिइसकेपछि बजारसम्म पु¥याउनका लागि के–के व्यवस्था छन् । नेपालमा धेरैजसो सामान साना–साना उत्पादकले उत्पादन गर्छ । त्यसको कन्सुलिकेसन गर्ने बेला उत्पादकलाई पहिलै नै भन्नुपर्छ ।
बजारको माग र मापदण्डअनुसार हुनुपर्छ । बजारको मागअनुसार उत्पादकले वस्तु उत्पादन गर्नुपर्छ । वस्तुको पहिचान गरेर मात्र भएन, यसका लागि समग्र संयोजन प्रणाली गर्न हुन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । वस्तुको उत्पादनदेखि बजारीकरणसम्म मागअनुसार गर्न सकियो भने निर्यात बढाउन सकिन्छ । जसले सामान उत्पादन गर्छन्, तिनीहरूले आफ्नो घर खर्च चल्ने गरी उत्पादन गरिरहेका छन् । व्यावसायिक रूपमा उत्पादन हुन सकेको छैन । तिनीहरूको प्राविधिक क्षमता कसरी विकास गर्ने, लगानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू रणनीतिमा प्याकेजकै रूपमा आउनुपर्छ । बजार पहुँच व्यवस्था, सामान उत्पादन गर्नका लागि क्षमता विकाससँगै त्यसका लागि आवश्यक पर्ने लगानीको व्यवस्थापन गर्नुपर्छ ।
एनटीआईएस कार्यक्रम किन असफल भयो समीक्षा गरेर मात्र नयाँ ल्याउनुपर्छ
शरदविक्रम राणा
पूर्वकार्यकारी निर्देशक
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र
नेपाल एकीकृत व्यापार रणनीति पहिला डोनरको स्वार्थमा आएको थियो । एनटीआईएसभित्र राख्नका लागि कसरी उत्पादन छनोट गरियो । जुन उद्देश्यले एनटीआईएस कार्यक्रम ल्याएको थियो सोअनुसार कार्यान्वयनमा आउन सकेन र सफल भएन । सन् २०१६ देखि २०२१ सम्म रहेको एनटीआईएस कार्यक्रमभित्र रहेको पस्मिनालाई ५० मिलियन अमेरिकी डलर पु-याउने भनेर विभिन्न किसिमका रणनीतिहरू बनाइएको थियो । एनटीआईएस बनाउँदा जुन घटेर ३५ मिलियन अमेरिकी डलर थियो, एनटीआईएस समाप्त हुने बेला १६ मिलियनमा पुग्यो । एनटीआईएस के–के कारणले गर्दा फेलियर भयो भनेर त्यसको समीक्षा पहिला गर्नुपर्छ ।
के कुराले लक्ष्य हासिल गर्न सकेनौं भनेर पहिले गहन रूपमा समीक्षा गर्नुपर्छ । अनि त्यसपछि मात्र सबै क्षेत्रका सरोकारवाला व्यक्तिलाई बोलाएर पोटेनसियालिटी कहाँ छ र कसरी अगाडि बढ्ने भनेर छलफल गर्नुपर्छ । तर, नयाँ रणनीति कसरी बनाइरहेको छ त्यसबारेमा मलाई जानकारी छैन । एनटीआईएस २०१६–२०२१ किन फेलियर भयो भनेर बृहत् समीक्षा गरेर सबैलाई जानकारी दिनुपर्छ । अब के गर्ने भनेर सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने थियो । एनटीआईएसको पस्मिना ठूलो प्रोजेक्ट फेलियर हुँदाहुँदै फेरि अर्काे प्रोजेक्ट च्याङ्ग्रापालन भनेर ल्याइएको छ । निर्यात रणनीतिहरू चारवटा बनाइएको थियो । यस रणनीतिअन्तर्गतका कार्यक्रमहरूमा कति लागत लाग्छ भनेर नै बनाएको थियो । एनटीआईएसजस्तै अरू रणनीतिहरू पनि कार्यान्वयन नै छैन । कार्यक्रम घोषणा गरिएको हुन्छ तर त्यसका लागि कति रकम लाग्छ भनेर नराखीकन नेपाल सरकार अथवा डोनरसँग कति रकम माग्ने । नीति रणनीतिको पूर्ण रूपमा कार्यान्वयन नहुँदा व्यापार घाटा बढ्दै गएको छ । अहिले व्यापारघाटा चुलिनु भएको दुईवटा एनटीआईएस फेलियर हुनु हो ।
यो भनेको क्रसकटिङ विषय हो । एउटै मन्त्रालयले अगाडि बढाएर सम्भावना छैन । अब नयाँ तर्जुमा गर्न लागिएको एनटीआईएसमा कुन–कुन वस्त छानिन्छन् । कृषि, सिँचाइ, अर्थसँग सम्बन्धित हुन सक्छ । सबैभन्दा पहिला एनटीआईएसले वस्तु विकास गर्नेतर्फ जोड दिनुपर्छ । वस्तु विकास गर्नका लागि पुँजीको आवश्यक पर्छ । वस्तु विकास गरिसकेपछि अन्तर्राष्ट्रिय बजारसम्म लैजानका लागि बजारको पहुँच हुनुपर्छ । पारवहन मार्गबाट वस्तु पठाएपछि उत्पादन गर्ने अन्य देशसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन ।
वस्तुमात्र विकास गरेर नेपालमा यो वस्तु उत्पादन हुन्छ, यसलाई प्रवद्र्धन गरे हुन्छ मात्र भनेर होइन । वस्तुको उत्पादनदेखि बोर्डरसम्म पु-याउनका लागि रणनीतिले पहिचान गर्नुुपर्छ । २०१६ देखि २०२१ मा एनटीआईएस रणनीति समाप्त भइसकेपछि नयाँ बनाउन लागियो तर त्यसको मध्यावधि समीक्षा गर्नुपथ्र्यो तर हुन सकेन । कहाँ कमजोरी भयो, कसरी समाधान गर्ने भनेर बीचमा आएर समीक्षा गर्नुपथ्र्यो तर हुन सकेन । किन सफल भएन भनेर समीक्षा नगरीकन फेरी नयाँ बनाउन लागियो ।
रणनीति डोनरबाट नभएर उत्पादकहरूबाट निर्देशित हुनुुपर्छ । एनटीआईएसमा के–केमा कमी–कमजोरी देखियो भनेर बाहिर आएको छैन । आउनुपथ्र्याे । यो दुःखको कुरा हो । वस्तु उत्पादन, वस्तुको बजारीकरणका लागि आवश्यक पर्ने बजेट चाहिन्छ । उत्पादन गर भन्ने तर लघु उद्यमीहरूले कसरी पुँजी परिचालन गर्ने । उत्पादन छ । अन्तर्राष्ट्रिय बजारमा माग आयो, पठाउनका लागि प्याकेजिङ, लेबलिङ, ट्रान्सपोर्टेसन गर्नका लागि स्रोतको अभाव छ भने कसरी वस्तु निर्यात गर्न सकिन्छ । तर पर्चेज अर्डर छ, वस्तु विकास गर्नका लागि सरकारले अनुदान मात्र दिएर हुँदैन । सरल तरिकाले ऋण उपलब्ध गराउनुपर्ने हुन्छ । तर, त्यसले मात्र पुग्दैन । अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पुग्ने बेलासम्म उद्यमीहरूलाई पुँजीको आवश्यकता पर्छ । त्यसको व्यवस्था गरिनुपर्छ । निर्यात बढाउनका लागि विभिन्न रणनीतिहरू ल्याएका हुन्छन्, तर ती पूर्ण रूपमा कार्यान्वयनमा आएको देखिँदैन । भएका रणनीतिहरू कार्यान्वयन गरेर मात्र नयाँ गराउनुपर्छ ।