केएमसी अस्पतालमा अनलाइनबाट ‘अपोइन्टमेन्ट’ लिन सकिने

काठमाडौं मोडल अस्पतालमा अब अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने भएको छ ।
काठमाडौं मोडल अस्पतालमा ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरू भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरू भएको हो । योसँगै अबदेखि काठमाडौंमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ई–सेवा मोबाइल एप्मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ। बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झट नहुनुका साथै समयको समेत बचत हुनेछ ।
अहिले महामारी फैलिनेक्रम जारी रहेको अवस्थामा यो सेवाले अझ धेरै सहजता ल्याउनेमा कम्पनी र अस्पताल विश्वस्त छ। कोजेन्ट हेल्थ र ई–सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आवद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव–प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दैछ ।
कोजेन्ट हेल्थ र ई–सेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्युआर पेमेन्टलगायत कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपाल भरका एक सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।