सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश पारित

सिभिल बैंकले आफ्ना सेयरधनीहरुलाई पाँच प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको एघारौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो । सभाले आव २०७८÷०७९ को लेखापरीक्षण गर्नको लागि एनबीएसएमएण्ड एसोसियट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
करिब पाँच लाखभन्दा बढी ग्राहकलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकले ९१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।