हवाई उडानमा एन्टिजेन परीक्षण सम्भव छैन : संघ

निजी वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा ऐन्टिजेन परीक्षण अव्यवहारिक भएको बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत साता जारी गरेको आन्तरिक हवाई सञ्चालन मापदण्ड नै अव्यवहारिक भएको संघले बताएको हो । मापदण्डमा सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा यात्रुको एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमात्र यात्रा गराउन पाउने उल्लेख छ ।
मापदण्डमा सरकारले आन्तरिक उडानमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेस–सिल्ड अनिवार्य गर्ने, विमानभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने तथा चेकइन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान र प्रतिक्षालयमा भिडभाड गर्न नहुने र जनस्वास्थ्यको मापदण्ड लागु गर्नुपर्ने व्यवस्था गरिएको छ ।
वायुसेवा सञ्चालक संघले भने सोमबार सरकारले जारी गरेको आन्तरिक उडानमा एन्टिजेन परीक्षण व्यहारिक नभएको जनाएको हो । सरकारको यस्तो निर्णयले उडान तालिका प्रभावित हुने र हवाई यात्रुको भाडादरमा समेत वृद्धि गर्नुपर्ने भएकाले अव्यवहारिक भएको संघका प्रवक्ता योगराज कँडेलले बताए । एक जना यात्रुलाई एन्टिजेन परीक्षण गर्न करिब १२ मिनेट लाग्ने र जनस्वास्थ्यका अन्य मापदण्ड पालना गर्दा अझ धेरै समय लाग्ने भएकाले गर्दा हवाई यात्रा झन् झन्झटिलो हुने उनको भनाइ छ । “जनस्वास्थ्यका मादण्ड पालना गर्न कुनै समस्या छैन । सरकारकै खर्चमा परीक्षण गर्ने भए ठिक छ, नभए एन्टिजेन परीक्षण गर्दा हामीले यात्रुको भाडामा थप अतिरिक्त शुल्क थप गरेर वृद्धि गर्नुपर्छ, जुन सम्भव छैन,” प्रवक्ता कँडेलले भने ।
बक्स
सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य
सरकारले सार्वजनिक यातायातमा पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारीसाधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदि व्यवस्था गरिएको छ ।
चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रूपमा निःसंक्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने सरकारले जारी गरेको मपदण्डमा उल्लेख छ ।
मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।