दूध बिक्रीबाटै ३ लाख ५० सम्म आम्दानी

दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरु यी यस्तै समस्याहरु जेलिएका थिए । यहाँका किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्रबजारसम्म पु¥याएर बिक्री गर्नुपर्ने बाध्यता थियो । तर, अहिले अवस्था फेरिएको छ । गाउँगाउँमा दुग्ध सहकारी संस्थाहरु स्थापना भएका छन् ।
सहकारी संस्थाहरुले दूध संकलन गर्ने गरेका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै यहाँका किसानको अवस्था फेरिएको हो । सहकारी संस्थाहरुले दूध संकलन सुरु गरेपछि दूध बिक्री गर्नसमेत सहज बनेको छ । गाउँमै दूध बिक्री हुन थालेपछि यस क्षेत्रका किसान व्यावसायिक रुपमा गाईपालन गरी दूध बिक्री गर्दै आएका छन् । सामान्य घर खर्चसमेत चलाउन ऋण लिनुपर्ने अवस्था रहेको यहाँका किसान यतिबेला दूध बिक्रीबाटै वार्षिक रुपमा लाखौं आम्दानी लिँदै आएका छन् । गाउँमा सहकारी संस्थाले दूध संकलन सुरु गरेपछि बजारको समस्या मात्रै हटेको छैन दूध बिक्री यहाँका किसानको मुख्य आम्दानीको श्रोत नै बनेको छ ।
छथर गाउँपालिका २ का झमक कटुवालले दैनिक तीस लिटर बिक्री गर्दै आएका छन् । दूध बिक्रीबाटै कटुवालले वार्षिक तीन लाख ५० हजार रुपैयाा भन्दा बढी आम्दानी गर्छन् । झमक जस्तै यामबहादुर कटुवाले दैनिक २५ लिटर दूध बिक्री गर्दै आएका छन् । उनले पनि वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । झमक र यामबहादुर जस्तै यहाँका किसानको मुख्य आम्दानीको श्रोत नै दूध उत्पादन बनेको छ । किसानले उत्पादन गरेको दूध गाउँ मै खपत गर्ने उद्देश्यले सहकारी संस्थाले छुर्पी उद्योग सञ्चालन गरेका छन् । सहकारी संस्थाले छुर्पी उद्योग सञ्चालन गरेसँगै किसानलाई थप टेवा पुगेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष डम्बरबहादुर भट्टराईले बताए ।
दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांकअनुसार जिल्लामा दैनिक १७ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लाका २८ वटा सहकारीमा आवबद्ध किसानले दूध उत्पादन गर्दै आएको जिल्ला सहकारी संघका अध्यक्ष बुद्धिमान खुलालले बताए । पछिल्लो दुई वर्षको तुलनामा जिल्लामा यस वर्ष दूध उत्पादन दोब्बरले बढेका छ ।
संघले जिल्लाका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थानीय, प्रदेश र संघीय सरकारसँग साझेदारी गरी अनुदानका कार्र्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । पछिल्लो समय यहाँका युवाले गाई फर्म दर्ता गरी व्यावसायीक रुपमा दूध उत्पादनमा जोड दिन थालेका छन् ।
१४ सय किसानले उत्पादन गर्दै आएको दूध गाउँगाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुँदै आएको छ । जिल्लामा खपत भएर बचेको दूध मात्रै दुग्ध संस्थानमा बिक्री हुने गरेको छ । सहकारी संस्थाहरुले किसानलाई व्यावसायीक बनाउन विभिन्न पशुपालन सम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् ।