Logo

दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।
ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन् । सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ईपीएस प्रणाली पास गरेर बसेकाहरूलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताए ।
मन्त्री श्रेष्ठले इसिएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ता भित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे । उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भईरहेको पनि बताए । मन्त्री श्रेष्ठले आफूले ईपिएस प्रणालीबाट पास गरेकाहरूलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहो-याए ।
उनले भने, ‘असाध्यै सिन्सियर भएर लागेको छु । तपाईहरू पास हुनुभयो । पास भएपछि मलाई थाहा छ । अघि आफैले भन्नु भयो,–गाउँमा बस्ने अवस्था छैन । कतिपयले त मानसिक औषधि खानेबेला भएको होला । मेरो हातमा हुन्छ भने त म एक हप्तामै सबैर्लाइ उडाइदिऊ भन्ने पक्षमा छु म । तपाईंहरूलाई रोकेर, दायाँबायाँ गरेर सरकारलाई कुनै फाईदा छैन । त्यसकारणले तपाईहरूले जुन विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई एकदमै देखिने गरी प्रयास गरिराखेका छौं । यो कोरोनाकै बीचमा पनि यदि मन्त्रीजाँदा क्वारेन्टाईन बस्नु नपर्ने हो भने जानेकी भनेर सल्लाह गरिराखेको छु । कोरियामा गएर श्रममन्त्रीसँग एक चोटी फोन गरेपछि यसको केही न केही उपाय निस्कन्छ । अर्को मौसमी कामदारको कुरा निस्केको छ । हेर्नुस्, तपाईहरूको कारणले गर्दा इपिएसमा पास भएर बसेका भाइबहिनीहरूको कारणले गर्दा सायद मेरो जागिर जाने अवस्थाको पावरको दवाव आउँदा पनि मैले खोलेको छैन ।
यो कुरामा तपाईहरू क्लिएर हुनुस् । मलाई यति दवाव थियो कि सिजनल वर्कर चाँही छिटो खोल्नु प¥यो । मैले भने– खोल्ने ओके । नखोल्ने भन्या छैन । सँगसँगै यो सिजनल वर्कर जाँदाखेरी यो इपिएस पास गरेर बसेका भाईबहिनीहरूको सुन्दर सपना कुठाराघात हुन्छ कि भनेर रोकेको छु । हिजो मात्रै पनि मलाई फोन आएको थियो । केही मान्छेहरू सेटिङमा गईसकेका छन । तर श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले एक जना पनि पठाएका छैंनौं । यो कुरामा ढुक्क हुनुस् ।’
यता, पीडितहरूले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दबाब दिएका थिए । लुम्बिनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरूलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरे । उनले कामदार छनौंटमा पनि महिलाहरू माथि विभ्द हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिनेगरी विदेश जानेहरूलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे । उनले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुनेतर्फ पनि बताए ।

प्रतिक्रिया दिनुहोस्