चार वर्षपछि प्रदेश–२ ले पायो नाम र राजधानी «

चार वर्षपछि प्रदेश–२ ले पायो नाम र राजधानी


प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेका छन् ।
सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ८० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । उक्त संख्या प्रदेशसभामा उपस्थित ९९ प्रदेशसभा सदस्यमध्ये दुई तिहाइ बढी मत भएको भन्दै मधेश प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।
जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका भरतप्रसाद साह प्रस्तावक रहेको मधेश प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख यादवले घोषणा गरे । प्रदेशसभामा १०४ जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ । प्रदेश नम्बर २ का नामका लागि मधेश प्रदेशसँगै जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता गरिएको थियो ।
यस्तै, सोमबार नै प्रदेशको राजधानी जनकपुरधाम कायम हुने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशसभामा भएको जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाइ बढी मतले पारित भएको थियो । हाल कायम रहेको १०४ प्रदेशसभा सदस्यमध्ये ९९ मत खसेको थियो । जसमा ७८ मत जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त संख्या दुुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरेका थिए ।
जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको उल्लेख छ । दोस्रो पटकको प्रयासमा प्रदेशको नाम र राजधानीको टुंगो लागेको हो । यसअघि २०७६ साल चैत ३ मा मतदान हुँदा पनि नाम र राजधानी तोकिन सकेको थिएन । दुवै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि नाम र स्थायी राजधानीको प्रस्ताव असफल भएको थियो ।
लामो समयको संवाद र बहसपछि प्रदेशको नाम र राजधानी टुंगो लागेपछि प्रदेशसभा सदस्यहरूले खुसियाली मनाएका छन् । प्रदेशसभामा प्रदेशको नाम र राजधानीको घोषणा गरिरहँदा बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरूले बैठक हलमै खुसियाली मनाएका हुन् । प्रदेशसभा सदस्यहरूले बैठक हलभित्रै खुसियालीमा नाराबाजीसमेत गरेका छन् । आफूले पाएको महत्वपूर्ण जिम्मेवारी पूरा भएकामा हर्षित बनेका प्रदेशसभा सदस्यहरूले ढिलै भए पनि मधेश र मधेशी जनताको पक्षमा निर्णय आएको भन्दै एक–अर्कालाई बधाईसमेत ज्ञापन गरेका छन् ।
‘प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसक्दा चारैतिर हाम्रो आलोचना भइरहेको थियो,’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘आज त्यो अभिभारा पूरा भएकामा खुसी लागेको छ, आज मधेश आन्दोलनको भावना, मधेशीको चाहनाअनुसारको उपलब्धि हासिल भएको महसुस गरेका छौँ ।’
प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम र नाम मधेश प्रदेश भएको खुसियालीमा सोमबार साँझ जनकपुरधामसहित प्रदेश २ का आठ वटै जिल्लामा दीप प्रज्वलन गरिएको छ । जनता समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरूको अगुवाइमा जनकपुरधामसहित मुख्य सहरहरूमा दीप प्रज्वलन गरिएको हो ।

आज सार्वजनिक बिदा
मधेश प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।
मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइएको जानकारी दिए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।
प्रदेश सभामा सोमबार भएको मतदानबाट प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तय भएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुरको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्