Logo

तीव्र रूपमा फैलिँदै ओमिक्रोन

विगत दुई वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले आजसम्म पनि यसले भयावह रूप लिँदै आइरहेको छ । कोरोना भाइरसविरुद्धको खोप आएसँगै यसका भेरियन्टहरू पनि झन्झन् सक्रिय हुँदै गइरहेको छ । खोपको प्रभावकारितासँगै मृत्युदरको संख्या कम भए तापनि कोरोना भाइरस भने अझै अन्त्य भइसकेको छैन । यो महामारी कहिले अन्त्य हुन्छ भन्ने कुराको कुनै जानकारी पनि छैन । झन्–झन् यो त विभिन्न म्युटेनमा विभिन्न मुलुकहरूमा देखा पर्दै तीव्र रूपमा विश्वव्यापी रूपमा फैलिँदै गइरहेको अवस्था छ ।
विश्वको अर्थतन्त्रलाई नजिकबाट हेर्ने हो भने पनि विगत ६ वर्षको तुलनामा अर्थतन्त्र निकै ओरालो लागेको तथ्यांक रहेको छ । चीनको बुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस आज दुई वर्षभन्दा पनि बढी हुँदा झन्–झन् यसले तीव्र रूप लिँदै आइरहेको छ । नोबेल कोरोना भाइरस कोभिड–१९, त्यसपछि द्वितीय लहरमा युके नयाँ भेरियन्ट र अहिले कोरोनाको तेस्रो लहर ओमिक्रोन भाइरस विश्व मानव समुदाय महामारीसँग दिनानुदिन जुधिरहेको अवस्था छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन अत्यन्त तीव्र रूपमा फैलिने नयाँ भेरियन्ट भएको पुष्टि गरेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोनाको ओमिक्रोन भाइरस सबैभन्दा छिटो फैलने भाइरस हो । विज्ञहरूका अनुसार यो भाइरस सामान्यतया शरीरभित्र प्रवेश गरेपछि एक दिनदेखि तीन दिनसम्म मात्र सक्रिय रहने बताएका छन् भने कोरोनाविरुद्धको खोप नलगाएका मानिसहरूलाई चाहिँ निकै गाह्रो बनाउने र छिटो संक्रमण गर्ने देखिन्छ । चिकित्सकहरूका अनुसार खोप लगाएकाहरूलाई पनि यो भाइरसले आक्रमण गर्छ र श्वास–प्रश्वासमा पनि समस्या ल्याउँछ । तर, हत्तपत्त मृत्यु भने नहुने चिकित्सकहरूको अनुमान छ ।
पछिल्लो तथ्यांकअनुसार हाम्रो मुलुकमा पनि यो ओमिक्रोन भाइरस अत्यन्तै तीव्र रूपमा फैलिएको छ । माघ २ गते आइतबारको तथ्यांक मात्रै कोरोना भाइरस ओमिक्रोन ४ हजार ९ सय ६१ जना मानिसमा फैलिसकेको अवस्था छ । संक्रमणको गएको दुई महिनाको तथ्यांक हेर्दा हाम्रो मुलुकमा संक्रमण पाँच गुनाले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र सीसीएमसीको निर्णयले पनि सभा, शुभकार्य तथा सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा भेला नहुन आग्रह गरेको छ भने शैक्षिक संस्था माघ १५ गतेसम्म बन्द गरिसकेको छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण पालना कडाइको साथ पालना गर्न पनि आग्रह मन्त्रालयले आग्रह गरेको छ । के यो साँच्चै सरकारले भनेजस्तै पालना भएको छ त ? अहँ, छैन । सरकार भनिरहन्छ तर पालना भने निकै फितलो मात्रै छ ।
केही दिनअघि मात्रै राहदानी विभागमा मानिसहरूको उल्लेख्य भीड देखियो । राष्ट्रिय परिचयपत्रका लागि अनामनगरको एक ठाउँमा पनि अत्यन्तै मानिसहरूको लाइन देखियो । माघ २ गते आइतबार कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनका लागि बानेश्वरको निजामती अस्पतालपरिसर बाहिर मानिसहरूको उत्तिकै भीड । अनि कहाँ छ सामाजिक दूरी पालना ? सार्वजनिक यातायातमा यात्रा गर्ने मानिसहरूको भीड उस्तै । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रुहरू उत्तिकै देख्न सकिन्छ, अनि कहाँ छ पालना ? त्यसैले यो ओमिक्रोन भाइरस भित्रभित्रै समुदायस्तरमा पुगिसकेकाले यसको रोकथामका लागि सरकार र आमनागरिक जिम्मेवार हुनु जरुरी छ । एन्टिजेन परीक्षणको दायरा बढाउनु जरुरी छ । सबै ठाउँमा पायक पर्ने गरी खोपको व्यवस्था हुनु जरुरी छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण पालना गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्