तोरीको तेललाई ब्राण्ड बनाइने

भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागी थिए ।
“लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्याली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छाैं” भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले भने । साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धिको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उनको दाबी छ ।
भक्तपुरको गोमारी टोलमा सम्पन्न कार्यक्रममा पुख्र्यौली पेशा अँगाल्दै आएका साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुरको चोडे टोलका व्यवसायीहरू सहभागी थिए । दोस्रो चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेट्ने बताइएको छ ।
भक्तपुरमा स्थानीय उत्पादनलाई ब्राण्ड बनाउन अरू संघसंस्थाले पनि प्रयास गरिरहेका छन् । भक्तपुरको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकुलगायतका स्थानिय उत्पादनलाई करको दायरमा ल्याएर वैध बनाउँदै लानुपर्ने देखिन्छ । सरकारी नीति तथा प्रोत्साहन अभावले करिव उस्तै उत्पादनहरू विदेशबाट आयात गरि उपभोग गर्दा नेपाली मुद्रा विदेशिएका छन् । जुन राष्ट्रहितमा छैन । अब त्यस्ता उत्पादनलाई वैध बनाएर उद्योगको रूपको विकास गर्नसके रोजगारी सिर्जना गरी स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ ।
भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवालाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनको लागि संघले अध्ययन समिति बनाएको छ । समितिले सरोकारवाला पक्षलाई सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको हो ।