भवन निर्माण गर्दा आचार संहिता पालना गर्न प्रधानमन्त्रीको आह्वान «

भवन निर्माण गर्दा आचार संहिता पालना गर्न प्रधानमन्त्रीको आह्वान


प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । २४औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपदका बेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । उनले सुरक्षित भवन निर्माण गर्ने र भूकम्पसहितका विपद् जोखिम न्यूनीकरण गर्ने कार्यमा तीनवटै तहको सरकारको बलियो सहकार्यको आवश्यक्ता पनि औंल्याए ।

नागरिकलाई कोरोनाबाट जोगाउन सरकार लागिपरेको छ ः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
२४औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताएका हुन् । उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताए । मन्त्री खाँणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सकेमात्रै विगतमा भएका ठूला नोक्शानीलाई कम गर्न सकिने बताए ।
अर्को कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनीकरणको अभियानमा जुटन् प्रदेश र स्थानीय तहको सरकारलाई आग्रह गरे । उनले त्यसका लागि संघीय सरकारले आवश्यक कानुनको व्यवस्था गरेको पनि दाबी गरे ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले भवन संहिताको पालना गरेर भवन निर्माण गरिदिए विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताइन् । उनले संविधानले विपद् जोखिम न्यूनीकरणमा तीनवटै तहका सरकारले भूमिकालाई तोकि दिए पनि सोहीअनुसारको काम हुन नसकेको बताइन् । मन्त्री झाँक्रीले भवन संहिताको पूर्ण पालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गरिन् ।

सरकारसँग समन्वय नहुँदा क्षति भएका संरचना बनाउन सकिएन
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए । उनले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गरे । मेयर शाक्यले टेको लगाएर राखिएका भवन वर्षा हुँदासमेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे ।
मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्