सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिहरूको सभामामन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताए ।
मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेकोमा जोडसमेत दिए ।
उनले ‘सहकारीको सिद्धान्त, उद्देश्य, र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रतिबचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ, सहकारी क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै यस क्षेत्रप्रति आमनागरिकको विश्वास र भरोसा बढाउँदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो’ भने ।
मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताए ।
सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यहीअनुसार चल्ने भएकाले सोहीअनुसार भिजन पेपर तयार पारीरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।
सहकारीको सिद्धान्त मूल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिए ।