सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नु होः मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नको लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे ।
श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका व्यावहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशिल सरोकारवालाहरूलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताए । स्थानीय स्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरूको पहिचान गर्न रआन्तरिक रोजगारीको प्रवद्र्धनमा संघ, प्रदेश र स्थानीयतहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरूको पहिचान गर्न आवश्यक रहेको उनले बताए ।