कमजोर संरचना निर्माणले धेरै क्षति «

कमजोर संरचना निर्माणले धेरै क्षति

भैरहवा-२४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ रुपन्देहीमा पनि मनाइएको छ । भूकम्पले भन्दा पनि कमजोर संरचना निर्माण भए त्यसबाट बढी क्षति हुने भएकाले आम सर्वसाधारणलाई सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाइएको हो । प्रत्येक वर्ष माघ २ गतेका दिन भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउँदै आइएको छ ।
२०७२ सालको भूकम्पपछि भने आमसर्वसाधारण सचेत हुन थालेका छन् । भवन मापदण्डअनुसार निर्माण अनिवार्य छ । यद्यपि ग्रामीण दुर्गम क्षेत्रमा अझै पनि भवन मापदण्ड बिना नै आफ्नो स्वेच्छाले नक्सा बनाई घर भवन बनाउने गरेको पाइन्छ । यसरी घर भवन निर्माण गर्दा जोखिम र क्षति बढी हुन्छ, यस्ता घर भवन भत्कन ढल्न भूकम्प नै कुर्नु नपर्ने इन्जिनियरहरू बताउँछन् ।
अहिले भूकम्प प्रतिरोधी भवन अनिवार्य छ । गाउँपालिकामा पनि भवन वा संरचना निर्माण गर्दा भवन मापदण्ड, भूकम्प प्रतिरोधी र नक्सा पास अनिवार्य भइसकेको छ । नेपालका अधिकांश ग्रामीण क्षेत्रका भवनको अझै पनि नक्सा पास छैन ।
रुपन्देहीमा आयोजित २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय रुपन्देहीका इन्जिनियर एवं सूचना अधिकारी धु्रव पौडेल खत्रीले कार्यपत्र प्रस्तुत गर्दै भवन निर्माणको मापदण्डभित्र रही संरचना निर्माण गरे भूकम्प आए त्यसबाट हुने जोखिम र क्षतिबाट बच्न सकिने बताए । उनले सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण र दुर्गम क्षेत्रमा भवन बनाउँदा मापदण्डविपरीत घर तथा भवन बन्ने गरेकाले पनि भूकम्पमा त्यस्ता घर तथा भवनमा बढी क्षति हुने गरेको बताए । १९९०, २०४५ र २०७२ सालमा कमजोर संरचना र पुराना भवन तथा सम्पदा बढी नोक्सानी भएको उनले दाबी गरे । भूकम्प प्रतिरोधी नभएका घर, भवन मापदण्डविपरीतका संरचना कुनै पनि बेला भत्कन सक्छ, पछिल्लो समय २०७२ को भूकम्पपछि घर बनाउँदा धेरै सचेत हुने गरेका छन् । “भूकम्प प्रतिरोधी भवन बनाउनु पर्छ भनेर धेरैले बुझ्दै छन् अझै बुझाउनु पर्छ,” इन्जिनियर पौडेलले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विगतका भूकम्पबाट पाठ सिकी अघि बढनु पर्ने र मापदण्डविपरीत भवन संरचना निर्माण गर्न नहुने बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले भवन मापदण्ड, नक्सा पास, अनिवार्य सबैले गर्नुपर्ने र ग्रामीण क्षेत्रमा अझ बढी यो विषयमा ध्यान दिनुपर्ने बताए ।
कोरोना भाइरस संक्रमण र जोखिम रहेकाले प्रतिनिधिमूलक रूपमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिएको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय रुपन्देहीका प्रमुख डीई रमेश थिंगले बताए ।

प्रतिक्रिया दिनुहोस्