प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन «

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन


सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताए । उनले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँट स्वीकृति दिने, मेवा –चाङे र केराबारी–न्यू मस्र्याङदी १३२ के.भी प्रशारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय पनि गरिएको बताए ।
त्यस्तै बुढीगंगा जलविद्युत आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने, पाल्पा २२० के.भी सवस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र खोर्ले बेसी (गोरखा) ३३ केभी प्रशारण लाइन तथा सवस्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रवक्ता कार्कीले नेपाली जनताको तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने, नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान दिने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत दिने निर्णय समेत गरेको बताए ।
बैठकले सहसचिव शंकरप्रसाद खरेललाई सचिवमा बढुवा गरेको छ । बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ । त्यस्तै सरकारले चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्