अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारालगायतका पूर्वाधार निर्माण गरिएको हो ।
पर्यटन मन्त्रालयबाट विनियोजन करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविरसम्म पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
हालसम्म ढुंगा चिनेर ६ हजार पाँच सय वटा सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पाइएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्षसमेत रहेका गुरुङका अनुसार, २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण कार्यले पूर्णता पाउन लागेको छ । नीलगिरि खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिए ।
पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धीखर्क, भुसकेत, धर्मशालामा गरी ६ ठाउँका खोलामा झोलुंगे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ । नीलगिरि हिमालको फेदी हुम खोलाबाट करिब १४ किलोमिटर लामो पदमार्गमा ढुंगाको सिँढी चिनिएको छ भने अक्करे पहाड र भीरमा रेलिङसमेत राखिएको छ । पर्यटन विभागबाट खानी एण्ड एबी जेभी निर्माण कम्पनीले ठेक्कामार्फत पदमार्गमा पूर्वाधार बनाउने जिम्मा लिएको थियो । अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर होमराज गौतमले जानकारी दिए ।
पदमार्गअन्तर्गत पाँच ठाउँमा काठको साँघु, १० ठाउँमा चौतारालगायतका पूर्वाधारसमेत निर्माण भइरहेको छ । यस पदमार्गमा यसअघि पर्यटन विभागसँंगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का समेत लगानीमा पदमार्ग, झोलुंगे पुल, फड्के पुल, सिँढीलगायतका पूर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण प्रथमआधार शिविर जाने पदमार्ग छोटिएसँंगै अब आधार शिविरमा एकैदिन पुग्न सकिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियोे । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित पदमार्ग भएकाले यसको व्यापक प्रचार प्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।
पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेश विन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सवसमेत गरिएको थियो । अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमालको आरोहण गरेका थिए ।