देशभरका म्यानपावर कम्पनी बन्द «

देशभरका म्यानपावर कम्पनी बन्द

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको विरोधमा आइतबार देशभरका म्यानपावर कम्पनी बन्द भएका छन् । काठमाडौंको बसुन्धरास्थित गुरुङको घरमा शुक्रबार राति एक समूहले शक्तिशाली बम विस्फोट गराएको थियो । घटना भत्र्सना गर्दै आइतबार एक दिन देशभरका म्यानपावर कम्पनी बन्द गराइएको संघका अध्यक्ष एवं पीडित गुरुङले बताए । आफ्नो व्यवसाय असुरक्षित रहेको तथा व्यवसाय अगाडि बढाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा सोमबार निर्णय गर्ने उनले बताए । उनका अनुसार संघमा ११ सय म्यानपवार कम्पनी आवद्ध छन् ।
बम विस्फोटले अध्यक्ष गुरुङको घरमा आगलागी भएको थियो भने पार्किङ गरी राखिएको गाडी पूर्णरूपमा ध्वस्त भएको थियो । घटनामा चार जना घाइतेसमेत भएका थिए । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा गत शुक्रबार राति बम विस्फोट गराइएको घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको भ्रातृ संगठनले लिएको छ । चन्द नेतृत्वको नेकपाको भ्रातृ संगठन युवा संगठन नेपालले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो ।

महासंघद्वारा आक्रमणको भत्र्सना
नेपाल उद्योग वाणिज्य महासंघले पनि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा भएको बम विस्फोटको घटनाको भत्र्सना गरेको छ । महासंघले विज्ञप्ति जारी गरी व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य नहुने जनाएको छ । एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउँदै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको महासंघको भनाइ छ । राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएकाले त्यसतर्फ गम्भीर भएर सोच्न सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत महासंघले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्