शिक्षा नीति परिमार्जन गर्नुपर्छः मुख्यमन्त्री गुरुङ

लमजुङ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुणस्तरीय शिक्षाको लागि नीति परिवर्तन आवश्यक रहेको बताएका छन् । आइतबार बेशीसहरस्थित अर्थली प्याराडाइज बोर्डिङ स्कुलको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि निजी र सामुदायिक विद्यालयबीच सन्तुलन राख्नुपर्ने बताए । निजी विद्यालय र सामुदायिक विद्यालयबीचको असमानतालाई तोड्न सकेमात्र शिक्षा क्षेत्रमा सुधार आउने मुख्यमन्त्री गुरुङको दाबी थियो ।
मुख्यमन्त्री गुरुङले राज्यले शिक्षा नीतिलाई परिमार्जन गरी व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । शिक्षाको गुणस्तरलाई माथि उकास्नका लागि दक्ष शिक्षक र व्यवस्थापनको पाटोलाई पनि विषेश ध्यान दिन विद्यालयहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री गुरुङले दश वर्षभित्र प्रत्येक गाउँमा एक विद्यालय स्थापना गरी एक खालको नया संरचना देख्न सकिने बताए । शैक्षिक क्षेत्रमा देखिएको फोहोरी खेललाई निखार्न प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री गुरुङले अब उपलब्धी देखिने समेत उल्लेख गरे ।