अन्तु भ्याली टी स्टेटमा आगलागी हुँदा ठूलो क्षति «

अन्तु भ्याली टी स्टेटमा आगलागी हुँदा ठूलो क्षति

इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे तीन बजेबाट सुरु भएको आगलागि नियन्त्रणको प्रयासमा छ । यो समाचार तयार पार्दा सम्ममा करिब आगलागी नियन्त्रणको अन्तिम चरणमा पुगेको छ ।
आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के कति क्षति भयो भन्नेबारे जानकारी आउन नसक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी श्रीअन्तु, सशस्त्र प्रहरी बल बीओपी छब्बसीको टोली तथा स्थानीयको प्रयास जारी छ । त्यस्तै सूर्योदय नगरपालिकाको बारुणयन्त्र, इलाम नगरपालिका र झापा मेचीनगरको दमकल प्रयोग भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।
आगलागी नियन्त्रणमा खट्नु भएका स्थानीय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ । त्यस्तै भित्र रहेको ७० देखि ८० हजार किलो तयारी चियासमेत फ्याक्ट्रीभित्रै रहेको जानकारी आफूले पाएको उनले बताए । आगलागी दिउँसैबाट भए पनि साँगुरो बाटो भएका कारण दमकल पुग्न समय लागेका कारण पनि ठूलो क्षति भएको स्थानीय रुद्र घिमिरेले बताए । ढिलैगरी पुगेका दमकलहरूले अन्तु पोखरीको पानी ल्याएर आगलागी नियन्त्रणमा सघाउ पुर्याएको उनको भनाइ छ ।
आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआए पनि अब भने फैलिन नसक्ने अवस्थामा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्