पर्यटन क्षेत्र जोगाउन हातेमालो गरौं «

पर्यटन क्षेत्र जोगाउन हातेमालो गरौं

कोरोनाले सबैभन्दा बढी प्रभावित तथा नेपालको विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटनलाई जोगाउन सरकार, विकास साझेदार तथा निजी क्षेत्र सबैको हातेमालो आवश्यक छ ।

कोरोनाको तेस्रो लहरले फेरि एकपटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । गोष्ठी, सेमिनार, समीक्षा, बैठकलगायतका कार्यक्रममा पनि बन्देज लगाएपछि बिस्तारै चलायमान हुन थालेको आन्तरिक पर्यटनमा अल्पविराम लागेको छ । भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजिन परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्न दिने सरकारको निर्णयले आन्तरिक पर्यटनमा नकारात्मक असर गर्नेछ ।
साथसाथै, मनोरञ्जनका कार्यक्रममा पनि सरकारले कडाइ गरेपछि यसबाट होटल, रेस्टुराँ, हेल्थक्लबजस्ता व्यवसायमा पनि नकारात्मक असर पर्नेछ । किनकि सरकारले ७ माघबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरू मात्र उपस्थित हुने गरी कार्यक्रम गर्न तथा सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम १५ माघसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको छ । यसबाट सरकारले कोरोना संक्रमण रोक्न अघिल्ला दुई लहरमा भएको गल्तीबाट पाठ सिकेको देखिन्छ । साथै, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन पनि १५ माघसम्म भौतिक रूपमा सञ्चालन नगर्न तथा त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेर सरकारले हाल अत्यधिक चाँडो बढिरहेको तेस्रो लहरलाई नियन्त्रण गर्न खोजेको देखिन्छ ।
तर, सपिङ मल, डिपार्टमेन्ट स्टोर वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जनाभन्दा बढी भेला हुन नभईकनै व्यवसाय गर्न पाइने तथा पार्टी प्यालेसमा पनि एकपटकमा कुल क्षमताको एकतिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्र्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, व्रतबन्ध, न्वारन तथा पास्नीजस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने भएका कारण आर्थिक गतिविधि ठप्पै नपार्ने सरकारको योजना रहेको पनि देखिन्छ । किनकि यसअगाडिका दुई लहरबाट अर्थतन्त्रमा परेको नकारात्मक असरले हालसम्म अर्थतन्त्र सहज हुन सकेको छैन ।
यसरी दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक–पटक साबुनपानीले हात धुने तथा स्यानिटाइज गर्ने गरी व्यवसाय सञ्चालन गर्न दिँदा अर्थतन्त्र पनि चलायमान भइरहन्छ । त्यसैले जनस्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउँदै व्यवसाय सञ्चालन गर्न दिएझैं पर्यटनमा पनि तत्काल सुधार नआए तापनि पुनरुत्थानका लागि केही कार्यक्रम गर्न आवश्यक छ ।
विकास साझेदारसँग जीविकोपार्जनसम्बन्धी गतिविधिका कार्यक्रमको निरन्तरताका साथै नयाँ परिस्थतिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्न तथा आन्तरिक पर्यटनलाई चलायमान बनाइराख्न सरकारले केही ठोस योजना बनाउनु आवश्यक छ ।
नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसँगको सहकार्यमा सञ्चालन गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाजस्ता कार्यक्रमले लामो समयदेखि बेरोजगार भएका पर्यटन व्यवसायसँग सम्बन्धित कामदारको जीविकामा राहत दिन सकिन्छ । नेपाल पर्यटन पुनरुत्थानको रणनीति सन् २०२१ बारे विकास साझेदार एवं कूटनीतिक नियोगसँगको सहकार्य प्रगाढ बनाएर कोभिड–१९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि केही रचनात्मक काम गर्न सकिन्छ । त्यसैले कोरोनाको नयाँ भेरियन्टका कारण तत्काल परिस्थति सहज बन्ने अवस्था नभएका कारण पर्यटन क्षेत्रलाई बचाइराख्न तथा यससँग सम्बन्धित कामदारलाई रोजगारी सिर्जना गर्न अत्यन्त आवश्यक छ । कोरोनाले सबैभन्दा बढी प्रभावित तथा नेपालको विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटनलाई जोगाउन सरकार, विकास साझेदार तथा निजी क्षेत्र सबैको हातेमालो आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्