खानेपानी वितरणका लागि उपत्यकामा १२ सय किमी सञ्जाल «

खानेपानी वितरणका लागि उपत्यकामा १२ सय किमी सञ्जाल

pouring water into glass from a bottle, on blue background

मेलम्चीको खानेपानी वितरणका लागि करिब १ हजार २ सय २० किलोमिटर वितरण सञ्जाल तयार भएको छ । काठमाडौं उपत्यकाबासीको घर–घरमा उपलब्ध गराउनका लागि खानेपानीको नयाँ वितरण सञ्जाल तयार भएको हो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी १ हजार २ सय २० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको छ । यसबाट ती क्षेत्रका करिब एक लाख घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।आयोजनाका उपनिर्देशक उज्वल प्रजापतिका अनुसार काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी सञ्जाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता दिइएको छ । “काठमाडौंको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लु क्षेत्रमा गरी २२४ किलोमिटरमध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा गरी २४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिछ्याइएको छ,” उनले भने, “यसबाट ती क्षेत्रका ५३ हजार १०६ घरधुरीमध्ये ११ हजार ६२८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।”काठमाडौंको चक्रपथ बाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चाबहिलको बाहिरी भाग र तीनचुली लगायतका क्षेत्रमा २ सय ९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको उनले बताए । उनका अनुसार ती क्षेत्रका ९ हजार ७ सय ७६ घरधुरीमध्ये ४ हजार ३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ । “खानेपानी चुहावट नियन्त्रणका लागि हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण सञ्जालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत भइहेको छ,” उनले थपे, “यसका साथै वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ७ हजार ५ सय घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको छ भने ती ट्याङ्कीसम्म खानेपानी लैजान निर्माण गरिएको ७७ किलोमिटर थोक वितरण सञ्जालको परीक्षण गर्ने कार्य सम्पन्न गरी सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ ।” उनका अनुसार केयुकेयलका मौजुदा आठवटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्