Logo

राष्ट्रिय योजना आयोगमा तातोपानीका ११ योजना पेस

जुम्लाको तातोपानी गाउँपालिकाले राष्ट्रिय योजना आयोगमा विशेष महत्वका ११ आयोजना पेस गरेको छ । पालिकाभित्रका महत्वपूर्ण आयोजनालाई छनोट गरी आवश्यक अनुमानित बजेटसहित स्वीकृतिका लागि ११ आयोजना योजना आयोगमा पेस गरिएको हो ।
प्राथमिकीकरणका आधारमा नयाँ योजना पेस गरिएको पालिकाका आईटी अफिसर ऋषिकेश उपाध्यायले जानकारी दिए । उनका अनुसार पालिकाका ८ वटै वडाका नागरिक लाभान्वित हुने, बृहत् खानेपानीका आयोजनालाई प्राथमिकता दिँदै नदी नियन्त्रण, कृषि सडक, लिफ्ट सिँचाइ, स्याउ बगैंचा घेराबारा, पदमार्ग निर्माणलगायतका ११ योजना पेस गरिएको छ ।
जसमा ६ नम्बर वडाको रावतबाडामा ९८ लाख ५४ हजार लागतको एक घर एक धारा योजना, वडा नंं ४ को पाडेबाडामा एक करोड ७८ लाख ५९ हजार लागतको बृहत् खानेपानी योजना, वडा न. ४ कै गौतमबाडामा ९८ लाख ५३ हजार नौ हजार लागतको एक घर एक धारा योजना, वडा नं ८ ताम्तीको लामाबगरमा एक करोड ३० लाख लागतमा बर्थिङ सेन्टर योजना, ताम्ती स्वास्थ्य चौकी घेराबार योजना स्वीकृतका लागि पेस गरिएको छ ।
त्यस्तै, बैस रुख सामूहिक बगैचा घेराबार, रामिज्युला नदी नियन्त्रण, लाछु ज्युला नदी नियन्त्रण, विपल ढुंगी थारमारे सडक, बुदबुदी हुँदै लछालकृति पैकेला दरबारको पदमार्ग निर्माण र लिफ्ट सिँचाइ आयोजना गरी पालिकाका ८ वटकै वडाका करिब ३० हजार नागरिक लाभान्वित हुने ११ महत्वका योजना पेस गरिएको आईटी अफिसर उपाध्यायले जानकारी दिए ।
हामीले गाउँबाट माग भई आएका, निर्माण गर्नैपर्ने योजना । तर पालिकासँंग बजेट नभएकाले राष्ट्यि योजना आयोगमा योजना पेस गरेका छौं । तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापा भन्छन, “आयोगमा पेस भएका सबै योजना स्वीकृत हुन्छन् भन्ने हुँदैन । हामीले पेस गरेकामध्ये जति योजना बजेटसहित स्वीकृत भएर आउँछन् । ती आयोजना निर्माण कार्यलाई पालिकाले अगाडि बढाउँछ ।”
गाउँपालिकाको लागतले निर्माण हुन नसक्ने डेढ करोडसम्मका आयोजनालाई छनोट गरी पठाइएको छ । आयोगले योजनाको प्राथमिकीकरणका आधारमा स्वीकृत गर्छ । सबै योजना मागमा आधारित अत्यावश्यक भएकाले पेस भएका अधिकांश योजना स्वीकृत हुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेको अपेक्षा छ । उनका अनुसार पालिकाको बजेटले साना आधार विकास हुने र ठूला लगानीका आयोजना निर्माणका लागि आयोगमा पेस गर्नुपर्ने, संघ प्रदेशलाई गुहार्नुपर्ने बाध्यता छ ।
तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नवराज बुढाले उच्च जनघनत्व भएको २ नम्बर वडामा बृहत्त खानेपानी आयोजना निर्माण हुनुपर्ने वर्षेनी बाढीले बगाउन नदी नियन्त्रण योजना पेस गरेको बताए । दैनिक सयौं पर्यटक आउने र गाउँमा पनि पानीको समस्या भएकाले २ नम्बर वडाका लागि खानेपानी योजना छनोट हुनुपर्ने उनको माग छ । उता गाउँपालिकाका योजना अधिकृत ओमबहादुर चन्दले २ र ३ नम्बर वडाका लागि मार्फीफाँट जोगाउन नदी नियन्त्रण योजना पेस भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्