गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र «

गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले अख्तियारमा गुनासो गरेपछि कम्पनीले काम गर्न छोड्यो ।
सुविधासम्पन्न भवन निर्माण अलपत्र परेपछि चौकुने गाउँपालिकाको केन्द्रमा रहेको गुटु स्वास्थ्यचौकी जीर्ण भवनबाट सेवा दिँदै आएको छ । “निर्माणाधीन भवन भएकाले अर्काे भवन बनाउन पनि मिलेन समयमा बन्ने पनि देखिएको छैन,” गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन पाण्डेले भने, “गाउँपालिकाको केन्द्रमा भएकाले गुटु स्वास्थ्य चौकीमा विरामीको चाप छ तर भवन नहुँदा समस्या छ ।” भवन निर्माणका लागि प्रदेश र संघीय सरकारलाई पटक–पटक आग्रह गरे पनि सफल हुन नसकेको पाण्डेको भनाइ छ । भवन निर्माण सम्पन्न नहुँदै साविकको सहरी विकास तथा भवन डिभिजन कार्यालयले भुक्तानी दिएको प्रमाणका आधारमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख, लेखापाल र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले टुँगो नलागेसम्म काम अघि नबढ्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्