खानेपानी योजनाका प्रमुखसँग विकास समिति सभापति असन्तुष्ट «

खानेपानी योजनाका प्रमुखसँग विकास समिति सभापति असन्तुष्ट

pouring water into glass from a bottle, on blue background


खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानु परेको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैंठकमा खानेपानीमन्त्री, सचिव र मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई बोलाएको थियो । छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री, मेलम्ची खानेपानी आयोजना विकास समिति कार्यकारी निर्देशक वासुदेव पौडेल, खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयनिर्देशक कमलराज श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिवविक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले समिति बैठकमा खानेपानीमा भएका समस्या, चुनौती वा कुनै आगामी योजनाका विषयमा कुरा नराखेपछि समिति सभापतिले हप्काएकी थिइन् । उनीहरूसँग समितिले अहिले भइरहेका आयोजनाको वर्तमान अवस्था र आगामी दिनमा सरकारले खानेपानी क्षेत्रमा गर्नुपर्ने विषयमा छलफल गर्न बोलाएको थियो । उपत्यका खानेपानी लिमिटेड र ढल व्यवस्थापन अन्य विभागभन्दा पनि मेलम्ची खानेपानी आयोजना आगामी दिनमा कसरी अगाडि बढ्दै छ र सरकारले के गर्नुपर्छ भन्ने विषय महत्वका साथ उठ्ने समितिले अपेक्षा गरेको भन्दै पूर्वसूचना गरे पनि पदाधिकारीहरू त्यसै बैठकमा उपस्थित भएका थिए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्रीले विभागअन्तर्गत १० वटा शाखा रहेको बताए । उनले विभागले सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम गर्दै आएको बताए । खत्रीले भने, “यो विभागअन्तर्गत १० वटा शाखा छन् । जसमा २ वटा महाशाखा र ८ वटा शाखा छन् । त्यहींबाट सहरी खानेपानी तथा सरसफाइ आयोजनाका काम गरिहेका छौं । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरेका आयोजनालाई कार्यान्वयन गर्ने काम गरेको छ । विभागले केन्द्रीयस्तरका आयोजनामा निर्माणको काम गर्दै आएको छ । अहिलेसम्म केन्द्रीयस्तरका २४ आयोजनामा १० निर्माण भइसकेका छन् ।
मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मेलम्चीको भौतिक प्रगति ९५ प्रतिशत भएको बताए । उनले मेलम्चीको पानी काठमाडौंमा ल्याएर तीन महिना परीक्षणसमेत गरेको बताए । पौडेलले भने, “मेलम्ची खानेपानी गत आर्थिक वर्षमा सुरुङ र टनेलको काम ९५.५ प्रतिशत काम सम्पन्न गरेर तीन महिना काठमाडौं उपत्यकामा पानी पठाएका थियौं । मेलम्ची हेड बक्सको ९५प्रतिशत काम सकिएको थियो । काठमाडौंमा मेलम्चीको पानी ल्याएर परीक्षण समेत सकिएको थियो । सामाजिक उत्थान कार्यक्रम भनेर सिन्धुपाल्चोक जिल्लाका साविकका ३० गाविस र काभ्रे जिल्लाका ५ गाविस गरी ३५ गाविसमा मेलम्ची खानेपानी आयोजनाले आर्थिक आयआर्जन र रोजगारीका कार्यक्रमहरू गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाले मुआब्जा प्रक्षेपण गरेको ९२ करोड १० लाखमध्येमा अहिलेसम्म ८४ करोड ५६ लाख वितरण गरिएको छ । गत असार १ गते मेलम्चीमा आएको बाढीको कारण २७ किलो सडक ८ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ ।”
त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिव विक्रम राणाल बोर्डले उपत्यका खानेपानीमा रहेको सम्पत्ति सुरक्षाको काम गर्दै आएको बताए । त्यस्तै काठमाडौैं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपभोक्तालाई गुणस्तरीय र सर्वसुलव पानी दिने काम गर्दै आएको बताए । उनले पछिल्लो समय काठमाडौं उपत्यकामा उपभोक्ताको मागअनुसार सबै जानकारी सामाजिक सञ्जालमार्फत दिने गरेको दाबी गरे ।
बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बैठकमा यस अगाडि नै प्रस्तुत भएको विषय प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाइन् । उनले मेलम्ची खानेपानी आयोजनाको विषयमा यस अगाडि नै जानकारी गराएको पुरानै विषय वस्तु भएको उनको भनाइ थियो । खड्काले समग्र खानेपानी क्षेत्रमा अहिले भएका र आगामी दिनमा सरकारले गर्नुपर्ने विषयमा जानकारी दिनु पर्नेमा त्यस्तो नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्