कोभिड रोकथामका लागि नागरिक सचेतनामा जोड

केही समय मत्थर हुँदै गएको कोरोनाको तेस्रो लहर अहिले देशभर फैलिएको छ । विश्वव्यापी रूपमा फैलिएको तेस्रो लहरबाट नेपाल पनि अछुतो रहन सकेन । यसको प्रभाव दिनप्रतिदिन फैलिँदो छ । अझ भारतमा काम गर्न गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर वृद्धि हुन थालेपछि धमाधम नेपाल फर्कन थालेका छन् । नेपाल फर्कने क्रममा सीमा क्षेत्रमा एन्टिजेन र पीसीआर परीक्षणमा जोड दिनुपर्ने देखिन्छ । यदि संवेदनशील क्षेत्रमा परीक्षण नगरी घर जाने दिने हो भने संक्रमितको संख्या वृद्धि हुने देखिन्छ । कतिपय सीमा क्षेत्रमा परीक्षणको दर बढाइएको पाइएको छ भने कतिपय ठाउँमा होल्डिङ सेन्टर निर्माण गरिएको छ । यदि कुनै शंकास्पद व्यक्ति फेला परे होल्डिङ सेन्टरमा राखेर उसको स्वास्थ्य ठीक भएपछि मात्र घर पठाउने गरिएको छ । तर, यो क्रम सबै नाकामा छैन । अहिले हरेक क्षेत्रका व्यक्ति सचेत भएकाले पहिलेको जस्तो भयावह स्थिति आउने आंकलन कमै गरिएको छ । अहिले परीक्षण दर बढेसँगै संक्रमित बढे पनि पहिलो चरणको जस्तो खतराजनक नरहेको विज्ञहरूले बताएका छन् । यसै सन्दर्भमा कोरोना रोकथाम नियन्त्रणमा भएको प्रयासका बारेमा कारोबारकर्मीहरूले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको कुराकानीको सार :
संक्रमण फैलिनबाट रोक्न सिमानामै परीक्षण र खोप दिँदै छौं
ओमप्रकाश जोशी
निमित्त निर्देशक, प्रदेश स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम
विशेषगरी सीमालाई जोड दिएर कोभिड रोकथामका कामहरू भइरहेको छ । सीमामा आउने मानिसहरूको एन्टिजेन परीक्षण गर्ने र खोप नलगाएको भए खोप लगाएर पठाउने विषयलाई जोड दिएर काम भइरहेको छ । आउने सबैको एन्टिजेन परीक्षण भइरहेको छ । त्रिनगर नाकामा खोप दिन सुरु भइसकेको छ । केही दिनमा गड्डाचौकी नाकामा पनि खोप दिने कार्य गरिनेछ । पहिलो डोज पनि लगाएको छैन भने जोनसन एन्ड जोनसन र पहिलो डोज लगाएको छ भने भेरोसेल पनि सिमानामा उपलब्ध गराएका छौं । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका मानिसहरूलाई धनगढीको कनरीमा रहेको आइसोलेसनमा र महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्ने गरिएको छ । पोजेभिट छ तर लक्षण देखिएको छैन भने वडाको सिफारिसमा होमआइसोलेसनमा पठाउने गरिएको छ । सिमानामा होल्डिङ सेन्टर बनाउने कार्य भइरहेको छ । संघीय सरकारको योजनामा त्रिनगर र गड्डाचौकीमा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । निर्माण पूरा नभइसकेको हुनाले फुल फङ्सनमा अझै ती होल्डिङ सेन्टर सुरु भएका छैनन् । त्यसलाई छिटोभन्दा छिटो सञ्चालन गरिएको छ ।
विगतको दुईवटा लहरको सिकाइलाई आधार मानेर स्वास्थ्य संस्थाहरूमा तयारी गरिएको छ । दोस्रो लहरपछि संक्रमण कम भएको हुनाले तयारी पनि सुस्त भएको थियो । तेस्रो लहरको संकेत देखिएपछि तयारीलाई तीव्रता दिइएको छ । स्वास्थ्य संस्थाहरूमा औषधि उपकरण र जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । महाकाली र सेती प्रादेशिक अस्पताल र बझाङ जिल्ला अस्पतालमा अक्सिजनको राम्रो व्यवस्थापन भइसकेको छ । थप अक्सिजन प्लान्ट जडान गरेर अक्सिजन उत्पादन भइरहेको छ । अन्य जिल्ला अस्पतालमा पनि छिटोभन्दा छिटो अक्सिजन उत्पादन गरी प्रयोग गर्न सक्ने व्यवस्थापन भइरहेको छ । दोस्रो लहरको सिकाइले तेस्रो लहरमा अक्सिजनको अभाव हुन नदिने किसिमले तयारी भइरहेको छ । अस्पताल तहमा मेडिकल अफिसरसम्मका डाक्टरहरू हुनुहुन्छ । प्रादेशिक तहका अस्पतालमा विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ तर जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । पहिलो र दोस्रो लहरजस्तै गरी समुदायमा संक्रमण नफैलियोस् भनेर सिमानामै कडाइका साथ प्रस्तुत हुने नीति लिइएको छ । संक्रमित र आम नागरिकलाई छुट्ट्याएर राख्न सकियो भने संक्रमण फैलिनबाट रोक्न सकिन्छ भनेर सुरुको अवस्थामा सिमानामै कडाइ गर्नुपर्छ भनेर हामीले सिमानालाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौं । पूर्ण परीक्षण र भ्याक्सिनेसन गरेर संक्रमणलाई रोक्न सकिन्छ कि भन्ने अपेक्षा छ । संक्रमण फैलिहालेको खण्डमा अस्पतालहरूमा उपचारात्मक सेवाहरू दिने, अक्सिजन, भेन्टिलेटरहरू व्यवस्थापन गर्ने कार्यहरू पनि भइरहेका छन् ।
स्थानीय तहहरूमा आइसोलेसन भनेर छुट्टै संरचना बनाइसकिएको छैन । तेस्रो लहर रोक्नका लागि प्रदेश सरकारले नै द्रुत कार्ययोजना बनाएर स्थानीय तहमा २० बेडसम्मको आइसोलेसन सेन्टर बनाउनुपर्छ भनिएको छ । दु्रत कार्ययोजनामा मुख्यतः सीमा नाका र प्रवेश बिन्दुलाई व्यवस्थापन गर्ने कुरालाई जोड दिएको छ । प्रवेश बिन्दुमा बालबालिकासहित सबैको एन्टिजेन परीक्षण गर्ने भनिएको छ । सोहीअनुसार सिमानामा भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा सीमा नाकाहरूमा होल्डिङ सेन्टर सञ्चालन र व्यवस्थापन गर्ने, सेन्टरमा स्तनपान कक्षको व्यस्था गर्ने, चौबीसै घण्टा हेल्थ डेस्क सञ्चालन गर्ने, नाकाबाट भित्रिएका सम्पूर्ण व्यक्तिहरूको डिजिटल अभिलेख राख्ने, संक्रमितहरूको पहिचान गर्ने, एन्टिजेन पोजिटिभ देखिएका बालबालिकासहित अभिभावकलाई सुरक्षित रूपमा आइसोलेसन केन्द्र वा अस्पतालसम्म पु-याउन बस वा एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिनेछ । तेस्रो लहरको महामारीलाई लक्षित गरी महिला तथा बालबालिका केन्द्रित १ सय बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने तयारी भएको छ । प्रदेश सरकारले धनगढीस्थित आयुर्वेद चिकित्सालयको भवनलाई बालबालिका तथा महिला आइसोलेसन केन्द्र बनाउन लागेको छ । महिला र बालबालिकाका लागि यसपालि छुट्टै आइसोलेसन तयार गर्न लागिएको छ ।
प्रस्तुति : मुकेश चौधरी
परीक्षणको दायरा बढाउन आवश्यक छ
डा. उदयनारायण सिंह
कोभिड संयोजक
नारायणी अस्पताल, वीरगन्ज
अहिले पछिल्लो एक साताभित्र बिरामीहरूको चाप देखिएको छ । श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा संक्रमण भएका बिरामीहरू देखिएका छन् । धेरैजसो बिरामी रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने र ज्वरो आएका बिरामीहरू बहिरंग सेवामा आउने गरेका छन् । त्यसरी नै पीसीआर परीक्षणमा पनि संक्रमण दर बढिरहेको अवस्था छ । हिजो मात्रै गरिएको पीसीआर परीक्षणमा झन्डै ६० प्रतिशत बिरामीहरू कोभिड संक्रमित पुष्टि भएका छन् । त्योभन्दा अघिको तथ्यांकले पनि झन्डै ४० प्रतिशत संक्रमण फैलिएको देखाएको छ । यो संक्रमण दर दिनहुँजसो बढिरहेको छ । कोरोना संक्रमितहरूका लागि नारायणी अस्पतालमा आईसीयू र एचडीयु गरी ७४ बेड उपचार सेवालाई तयारी अवस्थामा राखेका छौं । पूर्ण रूपले भौतिक पूर्वाधारलगायतका आवश्यक अक्सिजनको समेत तयारी गरी व्यवस्था गरेका छौं । अहिले तीन जना संक्रमित भर्ना भएका छन् । उहाँहरूको स्वास्थ्य अवस्था पनि सामान्य नै छ । अक्सिजनको आवश्यकता परेको छैन । ओपीडी विभागतिर पनि नयाँ भेरियन्टका संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । दोस्रो लहरजस्तो तेस्रो लहरमा गम्भीर प्रकृतिका बिरामीहरू अहिलेसम्म आएका छैनन् । हाम्रो अनुभव र तथ्यांकले पनि जटिल खालका बिरामीहरू भेटिएका छैनन् । तथापि संक्रमण बढ्यो भने पनि खासगरी दीर्घरोगीहरू, मुटु, उच्च रक्तचापका बिरामीहरू बढी प्रभावित हुनसक्ने जोखिम छ । ओमिक्रोन भेरियन्टको संक्रमण पहिलेको जस्तो कडा खालको नहोला कि भन्ने अन्तर्राष्ट्रिय अनुभवहरूले पनि देखिएको र यहाँ पनि अहिलेसम्म त्यही नै अनुभव हामीले पाएका छौं । आमनागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना नगरेको पाइरहेका छौं । यसले अहिलेको ओमिक्रोन चाँडो संक्रमण फैलिने विश्वव्यापी अध्ययनले देखाएकाले पनि यसको संक्रमण गति तीव्र हुने जोखिम बढेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना नगरे हप्ता–दस दिनमै संक्रमणको संख्या अझ बढ्न सक्ने सम्भावना छ । जिल्ला संकट व्यवस्थापन समितिमा विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायहरूसँग छलफल भइरहेको छ । स्थानीय तहहरूसँग पनि एक चरणको छलफल तयारीको बारेमा भइसकेको छ । यसले उहाँहरूमा थप जिम्मेवार बनाएको छ । डीसीसीएमसीको बैठकमा पूर्वतयारीका लागि बढी केन्द्रित भएको थियो । बैठकमा खासगरी निजी अस्पताल, पालिकाका स्वास्थ्य संस्थाहरू, आइसोलेसन सेन्टरहरू तयारी अवस्थामा राख्ने तथा हरेक पालिकाले संक्रमित ओसारपसारका लागि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र दुईवटा एम्बुलेन्स डीसीसीएमसीको प्रत्यक्ष निगरानीमा रहने गरी राख्ने निर्णय गरिएको छ । सार्वजनिक स्थानहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने-गराउने निर्णयहरू पनि भएको छ । अहिलेको भेरियन्ट अत्यन्त छिटो संक्रमण हुने खालको छ । सार्वजनिक स्थानहरूमा देखिएको हेलचेक्र्याइँले हजारौंको संख्यामा संक्रमण भइसकेको जस्तो सम्पर्कमा रहेका व्यक्तिहरूबाट प्राप्त सूचनाहरू आएका छन् । यद्यपि त्यो परीक्षणपछि मात्रै यकिन हुने हो । तर, विभिन्न माध्यमबाट बिरामीहरूले दिने जानकारीले भने ओमिक्रोनकै लक्षण हो भन्ने अनुमान गर्न सकिन्छ । यसको यकिन तथ्यांक भने आएको छैन । समुदाय स्तरमा यसको परीक्षण गरियो भने त्यही नतिजा आउन सक्ने सम्भावना बढी छ । आमनागरिकले मास्क नलगाउने, भीडभाड बढी हुने जस्ता क्रियाकलापले यो संक्रमण त्यति छिटै नियन्त्रणमा आउला भन्नेचाहिँ लाग्दैन ।
प्रस्तुति : नीरज पिठाकोटे
जोखिम न्यूनीकरण गर्न हामीले सबै उपाय अवलम्बन गरेका छौं
जयराम यादव
मन्त्री, सामाजिक विकास मन्त्रालय, प्रदेश–१
प्रदेश–१ मा पनि कोभिड–१९ कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढ्दै गएको छ । संक्रमणदर पनि हरेक दिन बढ्दै गएको छ । विशेषगरी प्रदेश राजधानी विराटनगरसहित सहरी क्षेत्रमा बढी संक्रमणदर देखा परेको छ । यसको अर्थ भीडभाड हुने ठाउँमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ भन्ने देखाउँछ । कोरोनाको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले सबै किसिमका उपायहरू अवलम्बन गरेको छ । मैले सम्हालेको सामाजिक विकास मन्त्रालयअन्तर्गत नै स्वास्थ्य पनि पर्छ । त्यसो भएकाले तराईसहित पहाडी जिल्लामा समेत कोभिडको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिइसकेको छु । भारतमा संक्रमण उच्च दरले फैलिरहेको छ । झापा, मोरङ र सुनसरी प्रदेश–१ का तराईका जिल्ला भारतसँग जोडिएको छ, जसले गर्दा यी जिल्लामा बढी जोखिम छ । हामीले सीमा नाकामा हेल्थ डेस्क राखेका छौं । चेकजाँच नगरीकन आवतजावत गर्न पाइँदैन । यस्तै स्थानीय प्रशासनसँगको समन्वयमा सीमा नाकाबाट आवतजावत गर्न अनिवार्य रूपमा खोपकार्ड हुनुपर्नेछ । ठाउँ–ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको छ । सरकारी र निजी अस्पतालहरूलाई पनि अक्सिजन र भेन्टिलेटरसहितका बेडहरू तयारी अवस्थामा राख्न निर्देशन दिइसकिएको छ । हामीले पहिलो र दोस्रो लहर सामना गरिसकेका छौं । अब पनि हामीले जनतालाई स्वास्थ्य सावधानीका बारेमा जनचेतना जगाइरहनुपर्छ भन्ने लाग्दैन मलाई । उहाँहरू आफैं सचेत हुनुभएको छ । यदि जनताले नै सावधानी अपनाउने हो भने कोरोना फैलिँदैन । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यान्वयन गरेमा कोरोनाको जोखिम कम हुन्छ । सबैभन्दा पहिला त जनता नै सचेत हुनुपर्छ । सरकारका तर्फबाट हामीले सबै किसिमका तयारी गरिरहेका छौं । जनशक्तिसहितका भौतिक संरचनाहरू तयारी अवस्थामै छन् । तर, कोभिड लागेर अस्पताल जानुभन्दा लाग्नै नदिने उपायतर्फ आमसर्वसाधारण ध्यान दिनुपर्छ । भारतबाट आउने नागरिकलाई अनिवार्य रूपमा होल्डिङ सेन्टरमा राख्ने प्रबन्ध मिलाएका छौं । होल्डिङ सेन्टरको निर्माण धमाधम भइरहेको छ । अब केही दिनभित्रै सञ्चालनमा आउनेछ । नागरिक समाज, उद्योगी–व्यवसायी, पत्रकार, आमनागरिक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेमा कोरोनाविरुद्धको लडाइँमा हामी सफल हुनेछौं ।
प्रस्तुति : मीनकुमार नवोदित
नागरिकलाई सचेतनासँगै अरू तयारी अगाडि बढाइएको छ
हीरालाल रेग्मी
प्रमुख जिल्ला अधिकारी, दाङ
जिल्लामा पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि नागरिकलाई सचेत बनाएर स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने काम भइरहेको छ । नागरिकलाई सचेत बनाउन नेपाल प्रहरीबाट समेत ‘तपाईंको मास्क खोइ ?” अभियान सञ्चालन गरिएका छन् । यसका साथै जिल्लामा रहेका विभिन्न सामाजिक संघ–संस्थाहरूले पनि यस प्रकारको अभियानमा साथ दिनुभएको छ । सबैको सहयोगले मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने भएकाले यसमा सबैको सहयोग आवश्यक पर्छ । कोभिड संक्रमणबाट जटिल बिरामीको उपचारका लागि अस्पतालमा तयारी गर्ने, अक्सिजनको अवस्थाबारेमा काम भइरहेको छ । नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनसमेत अनुरोध गरिँदै आएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि पुस २९ गतेबाट संक्रमण दरलाई रोक्ने गरी भीडभाड हुने होटल–रेस्टुराँहरू बेलुका ७ बजेसम्म खोल्न दिने, सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्क प्रयोग गर्ने, राजनीतिक, आर्थिक, सामाजिक (माघी मेला समेत) तथा व्यावसायिक सबै प्रकृतिका कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन, भेला तथा जमघट गर्नसमेत रोक लगाइएको छ । यसले पनि संक्रमण थप फैलन नदिनका लागि सहयोग पुग्नेछ । यसै गरेर सार्वजनिक स्थानहरू होटल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कमा प्रवेश गर्दा माघको ७ गतेदेखि लागू हुने गरी कोभिडको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि) अनिवार्य गरिएको छ, जसले गर्दा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेहरूको संख्या बढ्नेछ ।
कोरोना संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाबमोजिम माघको १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाइएको छ भने निर्धारित समेस्टर र वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्थापन गरी सञ्चालन गर्न दिइने, बसको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरेका छौं । यसरी नै कोभिड संक्रमण फैलन नदिनका लागि काम भइरहेका छन् । अवस्था के गर्ने भनेर अगाडि बढ्नेछौं ।