अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउने

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए ।
शनिबार उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे । मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गरे । उनका अनुसार आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औषधि उपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन् ।
परराष्ट्रमन्त्री खड्काले भने,‘यो एउटा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो । अभियान नै हो । हामीले अफगानिस्तानका लाखौं जनता जो भोकमरीबाट पीडित छन्, लत्ताकपडा र धेरै ठूलो औषधिउपचारको संकटमा हुनुहुन्छ, उहाँहरुको चीत्कार दिनैपिच्छे हामीहरुले अन्तर्राष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं । यस सन्दर्भमा हामी यो दक्षिण एसियाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ फ्यामिलीको एउटा सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर हामीले एउटा मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं ।’
मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे । उनले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए ।
नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए । उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरे । संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ । लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समुदायलाई अपिल गर्दै आएको छ ।