हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले चेलिबेटी बेचबिखनलाई रोक्न नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशको पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरे । बिहीबार सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलिबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढंगबाट देखाउन खोजिएको छ । गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलिबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताए ।
आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुग्नु भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने संदेश दिएको बताए । गीतले चेलिबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने श्रेष्ठले बताए ।
यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय छ । गीतमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणको लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउँदा गौरव महसुस भएको बताए ।
बरिष्ठ कलाकार आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् । सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडियो निर्माण गरिएको छ ।