राष्ट्रियताको सवालमा कांग्रेसले कांग्रेससँग पनि सम्झौता गर्दैनः रामहरि खतिवडा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन् ।
देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा अबिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको ६ महिना यत्तिकै व्यतित भएको उल्लेख गरे । उनले भने, ‘सरकारको ६ महिनाको समिक्षा गर्दा यो ६ महिना त्यतिकै व्यतित भयो, प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’
भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले भने,‘एमालेको साथ लिएर कसैले एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना हो ।’ उनले सरकारको ६ महिनाको कामको समिक्षा गर्दा कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले प्रतिपक्षी दललाई गाली गरेर आफ्नो अभिव्यक्ति सुरु गरेको स्मरण गराए । उनले भने,‘उहाँहरूले एमालेलाई सर्वाधिक धेरै गाली गरे । एमाले यस्तो पार्टी हो, जसले गालीलाई स्विकार गर्दै तर्कसंगत खण्डन गर्न सक्छ ।’
भट्टराईले वर्तमान सरकार जनादेशले नभएर परमादेशले गठन भएको उल्लेख गरे । उनले भने, ‘दुनियाँमा अदालतले यति घण्टाभित्र सरकार बनाउनु र फलानोलाई प्रधानमन्त्री तोक्नु भनेको हामीलाई थाहा छैन् । तोकेको घण्टाभित्रै शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुभयो ।’ उनले यसअघिको आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले विकास निर्माणको धेरै काम गरेको स्मरण गराए । उनले भने, ‘अहिले म विकासको धेरै कुरा गर्न सक्दिन्, हाम्रो पार्टी सरकारको नेतृत्वमा हुँदा ३ सय ९६ वटा आधारभूत तहको अस्पतालको शिल्यान्यास गरेका थियौं । ती कुनै नक्कली आयोजना होईनन । रणनीतिक सडक सांसदहरूले लेखेर दिएको हो । डीपीआर र नक्सान सकिएको थियो ।’
अहिले विकास आयोजनाको कुरामा पनि यसअघिका योजनाहरू बेवारिसे बनेको नको गुनासो थियो । उनले भने,‘बजेट होलिडे यही बीचमा भयो । बजेटको अभावको कारण ठूलो समस्या भएको छ । बैंकहरूको तरलताको अवस्था छ । यति ठूलो संकट अहिलेसम्म आएको थिएन ।’
त्यस्तै, प्रशासनको तर्फको कुरा गर्दा पनि बेथिति मात्रै रहेको उनको टिप्पणी थियो । ‘यहाँ कार्यक्षमता भएकाहरूलाई बेकामे बनाइएको छ, प्रशासनमा पनि अहिले बेथितिमात्रै छ’–उनले भने । त्यस्तै, विभिन्न देशमा राजदूहरू रिक्त रहेको पनि उनले गुनासो पोखे । उनले भने,‘चीनमा राजदूत खाली राखिएको छ। यो सरकार महाकाली तुईन प्रकरणमा चुँ बोलेन । एमसीसीको सन्दर्भमा सरकारको धारणा अहिलेसम्म आएको छैन । कांग्रेसको धारणा त आयो, तर सरकारको धारणा के हो ? सरकारको एकीकृत धारणा अहिलेसम्म आएको देखिएको छैन ।’
उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप लगाए । उनले भने, ‘न्यायाधीशहरूको गुटबन्दी छ । न्यायालयमा चौपट समस्या उत्पन्न भएको छ । न्यायालय घुसखोरीको अखडा भएको छ, न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्टले यो कुरा भनेको हो । न्यायालयमा सुधारको लागि यो रिपोर्ट अक्षरंश पालना हुनुपर्छ ।’
भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने पनि बताए । उनले भने,‘हामीले संसद् सदाको लागि विघटन गरेको थिएनौं, एमाले संसदीय व्यवस्थाको लागि धेरै योगदान गरेको पार्टी हो । यसबाट एमाले किमार्थ पछि हट्दैन् । ०७४ को सालको जनादेशलाई यो संसदले बोकेन भनेर विघटन हामीले गरेको हो ।’
उनले एमालेले माओवादी केन्द्रसँग बाध्य भएर पार्टी एकता गर्नुपरेको पनि टिप्पणी गरे । उनले भने,‘सुरुमा हामीले गठबन्धन गरेका थियौं, पछि बाध्य भएर पार्टी एकता गरेको हो । अहिले कांग्रेसका साथीहरू यही गठबन्धन लिएर चुनावमा जानुभयो भने भोलि भोग्नुहुन्छ। एमाले संसदीय व्यवस्था र संविधानका उपलब्धिबाट पछि फर्किँदैन् ।’ उनले वर्तमान सरकारले खोपको उचित व्यवस्था गरेको छ भनेर भनिएकोमा यसमा पनि ओली सरकारकै योगदान रहेको सुनाए ।
उनले भने, ‘खोप स्टकमा छ भनियो, त्यो बेलाको सरकारले गरेको व्यवस्थाअनुसार यो सबै काम भएको हो । नयाँ तरिकाले खरिद गरिएको होईन । हावादारी गफ नगरे हुन्छ। बरु, अब खोपलाई अभियानको रुपमा लैजानुपर्छ । पारदर्शी तरिका अपनाएर खोपको व्यवस्था गर्नुपर्छ ।’
अहिलेकै अवस्थामा आफूहरूले संसद् चल्न नदिने उनको चेतावनी छ । उनले भने, ‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुक्नुभयो । सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरूलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषय अहिले अदालतसम्म पुगेको छ, अदालतले गर्ने निर्णय मान्छौं ।
उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । उनले भने, ‘यो गठबन्धन भत्काउने हाम्रो चाहना छैन । उनले भने, ‘अहिले एमालेको पक्षमा जनमत छ। माहोल राम्रो छ ।’
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरे ।
उनले भने, ‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो, तर उहाँहरू आँफैबीच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो, दुई तिहाईको मतलाई अपमान गर्नुभयो, उहाँहरूकै कारण अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । कांग्रेस सरकारमा आउनुपुर्व संवैधानिक निकाय र संसदीय पद्धती ध्वस्त थियो । तत्कालिन प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई दुई पटक संसद् विघटन गर्नुभयो, राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो । तर, अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ । यसले अहिले मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याएको छ ।’
उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाईएको भएपनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको दाबी गरे । उनले भने, ‘अहिले गठबन्धनको सरकारले राम्रो काम गर्यो । संविधानलाई सही ट्रयाकमा ल्याउने काम भएको छ। हिजो सरकारमा हुँदा केपी ओलीले ०७५ सालको मंसिरमै रेलको टिकट किन्न भन्नुभयो, पानीजहाजको कार्यालय खोल्नुभयो, तर तीन महिनाभित्रै बन्द भयो । उहाँले बोल्दा धेरै हास्ने काम त गरियो, तर उहाँको काम हेर्दा निन्द्रा लाग्दैन थियो ।’
उनले आफूहरूको सरकारको नेतृत्वमा आउनेबित्तिकै पदमुक्त भएका सांसदहरूको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए । उनले भने, ‘अहिले फेरि सरकारले कार्यकाल सम्पन्न भका राष्ट्रियसभाका सांसदहरूको निर्वाचनको तयारी गर्दैछ। यो निर्वाचन आगामी माघ १२ गते सम्पन्न हुँदैछ ।’
उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे । नले भने,‘हिजो केपी ओलीले १६५ वटा सडक एकैचोटी उद्घाटन गर्नुभयो । पैसा सैसा थिएन, एकैचोटी रणनीतिक सडक उद्घाटन गर्नुभयो । मुलुकमा खोप थिएन ।
अहिले १ करोड खोप जम्मा छ । यो सरकार आएपछि यसले खोप, खोप खोपमात्रै भनेको छ। माघ १ गतेबाट राष्ट्रिय खोप अभियान सुरु गर्दैछ। सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ, सोहीअनुसार काम गरिरहेको छ। यो बीचमा पार्टीले आफ्नो १४औं महाधिवेशन पनि सफल रुपमा सम्पन्न गरेको उनले सुनाए । त्यस्तै, सरकारले प्रत्येक (मुटु, मिर्गौला फेल भएका र स्पाईनल–कर्ड ईन्जुरी) का विरामीलाई ५ हजार दिन थालिएको पनि उनको दाबी छ ।
त्यस्तै, खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको दाबी गरे । उनले भने,‘हिजोका दिनमा कनिका छरेरजस्तो बजेट दुरुपयोग गर्न दिँदैनौं । जनतालाई भ्रमको खेति गरिएको थियो, अहिले यो सरकारले सही ट्रयाकमा ल्याएको छ ।’ उनले एमालेले संसद् चल्न नदिएकोमा पनि आक्रोश पोखे ।
उनले भने,‘चुनावबाट बनेको संसद् देखिनसक्नेले किन फेरि चुनावको कुरा गरेर भ्रमको खेती गर्नु ? एमालेका साथीहरू संसद्को बैठकमा चाहीँ जानुहुन्छ, अनि अवरोध गर्नुहुन्छ। फेरि भक्ता चाहीँ खाइरहनुभएको छ । संसदीय समितिमा माधव नेपालहरू बस्दा सँगै बस्ने अनि संसद्मा चाहीँ विरोध गर्ने काम गलत हो । उहाँहरूले सभामुखमाथि विषवमन गर्नुभयो ।’
उनले हिजोका दिनमा आफूहरूले प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए । उनले भने, ‘संसद्मा प्रतिपक्षीको भूमिका हामीले राम्रोसँग खेल्यौं । तर, अहिले एमालेले संसद् अवरोध गरिरहेको छ । हामी त प्रमुख प्रतिपक्षीसँग सल्लाह गरेर संसद् चलाउँछौं । प्रधानमन्त्री आफंै गएर प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्नुभएको छ । मलाई विश्वास छ, ओलीले संसद् चलाउन सहयोग गर्नुहुन्छ । केपी ओलीले हिजो प्रधानमन्त्री हुँदा बोलाएको सर्वदलीय बैठकमा देउवा सहभागी हुनुभयो । तर, अहिले ओली सर्वदलीय बैठकमा आउनुभएन । प्रतिपक्षी सत्तापक्षसँग किन नमिल्ने ? सबै दल मिलौं । एमालेलाई पनि यही सरकारमा ल्याएर चुनावमा जान हामी तयार छौं । यो सरकार संसद्को पूरै अवधि चल्छ ।’
उनले नेपालको भूमीमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भत्र्सना गरे । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो । नक्सा ल्याउँदा पनि कांग्रेसले केन्द्रीय समितिको बैठक राखेर निर्णय गरेको छ । हामी कुटनीतकि रूपमा सम्वाद गरेर हाम्रो भूमी फिर्ता ल्याउँछौं । यसको लागि अहिले पहल भैरहेको छ । परराष्ट्रमन्त्रीले पनि यसबारेमा पहल भैरहेको भन्नुभएको छ । राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैन् ।’
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने,‘पहिलो कुरा त संविधान बचाउनको लागि यो सरकार र पाँच दलीय गठबन्धन सफल भयो । बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार ससफल भएको छ, यो कुरा दुनियाँलाई थाहा छ । यो गठबन्धन बाध्यतावश बनेको हो । संविधान नै समाप्त हुने अवस्थामा, व्यवस्थापनि के हुने हो भनेर मान्छेले चिन्ता गर्ने अवस्थामा, त्यो बचाउनको लागि यो गठबन्धन बनेको हो । यो कुरा सबै जनतालाई थाहा छ ।’
उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे । उनले भने,‘यो सरकार आएपछि संविधान बचेको छ । दुई तिहाई प्राप्त नेकपाको सरकार बहिर्गमन भयो । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरियो । प्रदेश सरकार छिन्नभिन्न र लथालिङ भयो । कसको कारण यो हुन गयो ? यो कुरा छर्लङ भएको छ, म नाम लिन चाहन्नँ । मुख्य कुरा त देशको बागडोर सम्हाल्नेले नै यो सबै बिगारे ।’
उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश पोखे । पाण्डेले भने, ‘बिना ईस्युमा सदन अवरोध छ । बालहठका लागि एमालेले अवरोध ग¥यो । संवैधानिक व्यवस्था बचाउने काम यो सरकारले गरेको छ । संसद् अवरोध गरेर कसैले जितेको छैन् । संसद् खुल्नुपर्छ ।’
माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले बालहठ देखाएको पनि उनको आरोप छ । उक्त विषय अहिले अदालतमा रहेको सुनाउँदै उनले एमालेले यो विषयमा संसद् अवरोध गर्नु गलत रहेको टिप्प्णी गरे ।