नेवार समुदायमा जंकु

नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो भन्ने हामीले पढ्दै आएका छौं । यहाँको भाषा, धर्म, संस्कृति र प्रत्येक जातका पहिरनले विश्वमा नेपाललाई चिनाउँदै आएका छन् । त्यही धेरै जातमध्येका एक प्रमुख जात हो नेवार समुदाय । नेवारलाई राजधानीको रैथाने जातका रूप चिनिन्छ । नेपालका वृद्धाश्रममा वृद्धवृद्धाहरू खचाखच भरिएको देखिन्छ । तर, नेवार समुदायमा एउटा यस्तो पर्व छ, जहाँ वृद्धवृद्धाहरूलाई पुनर्जन्मको उपमा दिएर भगवान्जतिकै पूजा गरिन्छ ।
नेवाः समुदायले मनाउने संस्कृतिमध्येको एक हो— ‘जंकु’ । ‘जंकु’ भन्नाले निश्चित आयु पार गरेपछि मनाइने खुसीयाली हो । नेवार समुदायमा बच्चा हुँदा गरिने पास्नी र भात खुवाइलाई जंकुको संज्ञामा राखे पनि पाँचवटा विशेष महत्वका पर्व हुन् । बूढाबूढी भएपछि नेवारहरूको जंको गर्ने चलन छ । सकेसम्म परिवार, समाज र देशका लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशीर्वाद थाप्ने हो ।
सांस्कृतिक मान्यताअनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवतासरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ । त्यसैले ‘जंकु’ गरिसकेका बूढाबूढीहरूले भनेको मान्ने कोसिस गरिन्छ । उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन । बूढा भएसम्म बूढाको उमेरअनुसार साइत हेरेर दुवैको जंकु गरिन्छ । बूढी मात्र रहे उनकै उमेरअनुसार साइत हेरेर जंको गरिन्छ । तर, पहिला बूढासँगै जंको गरिसकेको छ भने फेरि गर्नु पर्दैन । थरीथरीका बूढाजंकोहरू यसरी मानेर आएको देखिन्छ ।
रथारोहण गर्दा विशेष गरी आफ्नो परिवारका छोरा र नातिहरू प्रयोग गर्नुपर्छ भन्ने परम्परा रहिआएको छ । नेवारी संस्कृतिअनुसार ७७ वर्ष ७ महिना ७ दिनमा पहिलो जंकु गरिन्छ । जसलाई भीम रथारोहण भनिन्छ । त्यस्तै ८२ वर्ष ४ महिना ४ दिनमा दोस्रो जंकु गरिन्छ, जसलाई चन्द्र रथारोहण भनिन्छ । तेस्रो ८८ वर्ष ८ महिना ८ दिनमा गरिन्छ, जसलाई देव रथारोहण भनिन्छ । मानिसको चौथो जंकु ९९ वर्ष ९ महिना ९ दिनमा गरिन्छ, जसलाई दिव्य रथारोहण भनिन्छ । यदि मानिस त्यो समयभन्दा पनि बढी बाँचिरह्यो भने उसको अन्तिम र पाचौं जंकु १ सय ५ वर्ष, ८ महिना, ८ दिनमा गरिन्छ । यसलाई महादिव्य रथारोहण भनिन्छ । यो अन्तिम जंकु गरिसकेपछि वृद्धवृद्धालाई देवीदेवताको संज्ञामा राखिन्छ ।
श्रीमान्–श्रीमती दुवै राखेर मनाइने यो परम्परा आफूभन्दा ठूलाको चीर, सुख–शान्ति र स्वास्थ्य लाभको कामना गरी गरिन्छ । पहिलो र दोस्रोमा भीम रथारोहणमा नातिहरू वा छोराहरू कमसेकम चार जनाले आफ्नो कपाल खौरेर विवाहझैँ सजाएर डोलीमा राखी ‘जंकु’ गरिएका व्यक्तिलाई टोल सहरको परिक्रमा गराई एउटा उत्सवको रूपमा यस पर्वलाई मनाउने गरिन्छ । तेस्रोमा झ्यालबाहिरबाट भीम रथारोहण हुने व्यक्तिलाई तानेर घरभित्र ल्याइन्छ । चौथोमा माटोको भाँडा (कओ) भित्र राखेर पूजा गरेपछि बाहिर ल्याइन्छ । यसरी नै रातो मच्छिन्द्रनाथको जात्राका क्रममा सुन्धारामा पुग्दा यो समुदायले मच्छिन्द्रनाथलाई माटाका भाँडाहरू चढाउनुपर्ने परम्परा रहिआएको छ । कान छेडेर मुन्द्रा लगाउने चलन पनि छ ।
जीवनकालमा जति पटक जंकु गरियो, त्यति नै कानमा मुन्द्रा थपिन्छ । यसबाट पनि उमेर कति भन्ने जान्न सजिलो हुन्छ । रथारोहण गर्दा विशेष गरी आफ्नो परिवारका छोरा र नातिहरू प्रयोग गर्नुपर्छ भन्ने परम्परा रहिआएको छ । आफ्ना परिवारका छोरानाति कम भएमा अरू नजिकका आफन्तहरूले पनि सहयोग गर्न सकिन्छ ।