आईएमएफले पौने ४७ अर्ब ऋण दिने «

आईएमएफले पौने ४७ अर्ब ऋण दिने


अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई करिब ४६ अर्ब ७० करोड ऋण दिने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोषको बोर्डले एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तर्गत नेपाललाई ३८ महिनाभित्र सहुलियतपूर्ण ब्याजदरमा २८२.४२ मिलियन एसडीआर (३९ करोड ५९ लाख अमेरिकी डलर) ऋण स्वीकृत गरेको छ ।
बुधबार आईएमएफको बोर्ड बैठकले स्वीकृत गरेको उक्त ऋण सहायतामध्ये ११ करोड अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुनेछ । अर्थ मन्त्रालयका अनुसार उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्ग संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारणसम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन सहयोग हुनेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरी खर्च गर्न सकिने भन्दै अर्थ मन्त्रालयले उक्त कोषसँंग भएको प्रारम्भिक छलफलका आधारमा चालू आवको बजेटमा समेत उक्त स्रोत कायम गरिएको जनाएको छ ।
कोभिडका कारण उत्पन्न असहज परिस्थितिलाई सामना गर्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा प्रयासको अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डका कार्यकारी निर्देशकहरूले उच्च प्रशंसा गर्दै परिपूरकको रूपमा उक्त सहयोग प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । यता कोषले जारी गरेको विज्ञप्तिअनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) बढाउने क्षेत्रमा उक्त सहयोग रकम खर्च हुने उल्लेख छ ।
चालू आर्थिक वर्षमा वैदेशिक मुद्रा सञ्चितिमा गिरावट आएपछि सरकारले वैदेशिक मुद्राको सञ्चिति बढाउन पनि कोषसंँग ऋण लिएको हो । चालू आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्रका प्रमुख सूचक नकारात्मक रहँदै आएका छन् । शोधनान्तर घाटा चुलिँदै गएको छ भने विदेशी मुद्रा सञ्चितिमा पनि ह्रास आएको छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्ममा शोधनान्तर घाटा एक खर्ब ९५ अर्ब एक करोड पुगेको छ । यसरी शोधनान्तर घाटा लगातार बढ्दा चालू खाता घाटामा पनि दबाब पुगेको छ । कात्तिकमा दुई खर्ब २३ अर्ब १९ करोड रहेको चालू खाता घाटा मंसिरमा तीन खर्ब ६९ करोड रुपैयाँमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, चालू आर्थिक वर्षको चौथो महिनामा ७.२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको विदेशी मुद्राको सञ्चिति पाँचौ महिनामा आइपुग्दा घटेर ६.८ महिनाको वस्तु तथा आयातमात्रै धान्ने अवस्थामा झरेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८-०७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्