Logo

जीविकोपार्जनमा सहयोग गर्न पर्यटन बोर्डको आग्रह


तत्काल पर्यटन क्षेत्रमा सुधार नआउने भएकाले नेपाल पर्यटन बोर्डले पुनःउत्थानका लागि दातृ निकायसँग जीविकोपार्जन सम्बन्धी गतिविधिका कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेको छ । नयाँ परिस्थतिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेर बोर्डले सो आग्रह गरेको हो ।
बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)अन्तर्गत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति सन् २०२१ बारे विकास साझेदार एवं कूटनीतिक नियोगसँग औपचारिक छलफल गरेको हो । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनञ्जय रेग्मीले कोभिड–१९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितिमा पनि नयाँ रणनीतिका साथ काम गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थति सहज बन्ने अवस्था देखिँदैन । यद्यपि यो क्षेत्रलाई बचाइराख्न केही न कही गर्नैपर्ने अवस्था छ । त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्दछु ।”
एसटीएलआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना, १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकल मार्ग निर्माण, ७५ किलोमिटर पदमार्गको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सात वटा काठे पुल निर्माण तथा ११ वटाको मर्मतसम्हार गरिएको जानकारी उनले दिए ।
परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला, डोल्पा र सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो ।
कार्यक्रममा यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरणदेखि नै यूएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजना अन्तर्गत गरेका कामहरु महत्वपूर्ण रहेको बताइन् । “कठिन समयमा कुनै पनि काम गर्न गाह्रो छ । त्यसमा पनि कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनमा यस प्रकारका कार्यहरु झनै आवश्यक थियो । त्यसैले हामीले बोर्डसँग मिलेर यो काम ग-यौं । परियोजनाले जुन लक्ष्य लिएको थियो, त्यो हासिल गर्नु नै उपलब्धि हो,” उनले भनिन् । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा) लगायत संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना गर्दै पर्यटकीय प्रडक्ट समेत तयार पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्