Logo

गोदावरीको प्राथमिकतामा पूर्वाधार र कृषि

मेरो पालिका

प्रदेश – सुदूरपश्चिम
जिल्ला – कैलाली
स्थानीय तह – गोदावरी नगरपालिका
वडा संख्या – १२
जनसंख्या – ७८,०१८
घरधुरी – १४,९१५
क्षेत्रफल – ३०८.६३ वर्गकिमि
वार्षिक बजेट – १ अर्ब १८ करोड ७१ लाख ५७ हजार
अध्यक्ष – हरिसिंह साउद
उपाध्यक्ष – रत्ना कडायत
प्रमुख प्रशासकीय अधिकृत – खेमराज विष्ट

संविधान निर्माणपछि गठन भएको नयाँ नगरपालिका हो गोदावरी । यसअघि २०७१ सालमा अत्तरिया नगरपालिका गठन गरिएको थियो । राज्य पुनर्संरचना परामर्श समितिले गोदावरी गाविससमेत गाभेर गोदावरी नगरपालिका बनाउनुपर्ने सिफारिस गरेपछि २०७३ फागुन २८ गते गोदावरी नगरपालिका निर्माण गरिएको थियो ।
यस नगरपालिकामा २०७४ को स्थानीय निर्माचवबाट नगर प्रमुख हरिसिंह साउँद र उपप्रमुख रत्ना कडायत पहिलो जनप्रतिनिधिका रूपमा निर्वाचित भएका हुन् । गोदावरी नगरपालिकाले २०७४ मा नगर प्रोफाइल तयार गर्दा नगरपालिकाभित्र गोरेटो तथा कच्ची सडक ५ सय ४५ किलोमिटर, कालोपत्रे सडक ६०.५ किलोमिटर र घारेटो बाटो ३०.२२ किलोमिटर थियो ।
विकासको प्रमुख पूर्वाधार मानिएको यातायात पूर्वाधार (सडक) को स्टाटस कमजोर रहेकाले नगरपालिकाले प्रमुख प्राथमिकता दिएर सडक पूर्वाधार निर्माण गरिरहेको छ ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा सूचना अधिकारी शिवराज भाटले प्रत्येक वडामा प्रतिवर्ष १ देखि ३ किलोमिटरसम्म कालोपत्रे सडक निर्माण गर्ने गरी कार्ययोजना बनाइएको बताए । उनले वडा कार्यालयहरू मार्फत सडक ग्राभेल गर्नेलगायतका योजना राखिएको बताए । उनले गोदावरी नगरपालिकाको मुख्य आयस्रोतका रूपमा रहेको ढुंगा, गिट्टी, बालुवा संकलनको ठेक्का गत वर्ष नलागेकोले चालू आर्थिक वर्षमा दायित्व सारिएको बताए । उनले यस वर्ष तीनवटा नदीको ठेक्का एउटै प्याकेजमा ९ करोड रुपैयाँमा लागेको बताए ।
गोदावरी नगरपालिकाले चालू आर्थिक वर्षमा पूर्वाधार विकासका लागि ३२ करोड ३३ लाख १२ हजार विनियोजन गरेको छ, जसमा २७ करोड ५० लाख ३५ हजार रुपैयाँ यातायात पूर्वाधार विकासका लागि छुट्ट्याएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले टेन्डर गरेर कालोपत्रे सडक बनाउने योजनालाई अगाडि बढाइसकिएको बताए ।
गोदावरी नगरपालिकालाई क्षेत्रीय सहरी विकास कार्यक्रमले पनि यातायात पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । पहिलो चरणमा सो कार्यक्रमले गोदावरी नगरपालिकामा ६ वटा सहरी सडकको १६ किलोमिटर निर्माण गरिरहेको छ । सो सडक निर्माणका लागि भ्याटबाहेक ४८ करोड १७ लाख रुपैयाँमा ठेक्का लगाइएको छ ।
आयोजनाअन्तर्गत गेटा आँखा अस्पतालदेखि जोनापुर, जोनापुरदेखि कत्था उद्योग, गेटा आँखा अस्पतालदेखि लालपुर, लालपुरदेखि गौरी, सिर्जनानगरदेखि चौकीडाँडा र चौकीडाँडादेखि चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।
गोदावरी नगरपालिकाले दोस्रो प्राथमिकतामा कृषिलाई राखेको छ । नगरपालिकाभित्रका आमनागरिक कृषि पेसामा आधारित रहेको हुनाले कृषिलाई समेत प्राथमिकता दिएर काम गरिरहेको उपप्रमुख रत्ना कडायतले बताइन् । उनले चालू आर्थिक वर्षमा ३ करोड १५ लाख ६४ हजार रुपैयाँ कृषि र १ करोड ५ लाख ५६ हजार रुपैयाँ पशुपन्छी विकास कार्यक्रमका लागि निनियोजन गरिएको बताइन् ।
कृषि विकासका लागि गोदावरी नगरपालिकाले प्रत्येक वडामा पकेट क्षेत्र बनाएर कृषि उत्पादन बढाउने प्रयास गरिरहेको सूचना अधिकारी भाटले बताए । उनले अघिल्ला वर्षहरूमा अनुदानमा बीउ वितरण गर्दै आएकोमा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान च्यांफा ट्याक्टर दिनका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
गोदावरी नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ । सूचना अधिकारी भाटले स्वास्थ्य क्षेत्रभित्र कोभिड व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र खोप व्यवस्थापन र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले छुट्टै कोष खडा गरेर काम गरिरहेको बताए । स्वास्थ्य क्षेत्रका लागि गोदावरीले चालू वर्षमा ५ करोड ९१ लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी नेपालको संविधानले ग्यारेन्टी गरेको समान शिक्षा र निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नका लागि गोेदावरीले यस वर्षदेखि नगर शिक्षक खटाउने भएको छ । नगरप्रमुख हरिसिंह साउँदले निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकहरूलाई नै नगर शिक्षकको रूपमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
उनले यस वर्ष नगर शिक्षक व्यवस्थापनका लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बताए । उनले १ सय १५ जना नगर शिक्षक नियुक्त गर्ने लक्ष्य रहेको बताए ।
गोदावरीले एक वडा एक नमुना विद्यालय, कृषि प्राविधिक विद्यालय सञ्चालनलगायत कार्यक्रमहरू शिक्षा क्षेत्रमा ल्याएको छ । नगरपालिकाले चालू वर्षमा नगर शिक्षा योजना निर्माण गर्ने भएको छ । शिक्षा क्षेत्रमा जम्मा ६ करोड ७५ लाख रुपैयाँले विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्