Logo

बौद्धिक सम्पत्ति संरक्षणमा सरोकारवालाको जोड

नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरिक्रया कार्यक्रमका सहभागि वक्ताहरुले बौद्धिक सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले बौद्धिक सम्पत्तिको संरक्षणमा सरकार गम्भिरतापूर्वक लागेको र नयाँ कानुन बनाएर लागु गर्न लागिएको जानकारी दिए । नीति र कानुनअनुसार संस्थाको सेटअप बनाई सेवा डेलिभरीको क्षमता बढाउँदै जानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बौद्धिक सम्पत्तिको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्ने बताए । पूर्वमन्त्री शंकर कोइरालाले बौद्धिक सम्पत्तिको संरक्षण संविधानमै व्यवस्था गरिएकाले यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै जानुपर्ने बताए । बौद्धिक सम्पत्ति संरक्षण गर्नका लागि नीति नियम मात्र ल्याएर नहुने भन्दै उनले यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बौद्धिक सम्पत्ति इनोभेसनको प्यारामिटर भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताए । पूर्व सचिव एवं बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका अध्यक्ष कृष्ण ज्ञवालीले बौद्धिक सम्पत्ति सम्बन्धि कानुन छिटो ल्याएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्