नेपालको बिमा बजार पूरै खाली छ

नेपालको बिमा क्षेत्रमा हालै नौवटा जीवन बिमा कम्पनी थपिएका छन् । योसँगै नेपालमा जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ । कम्पनीहरू थपिएसँगै बजारमा कर्मचारी तथा अभिकर्ता तानातानको अवस्था सिर्जना भएको छ । दक्ष कर्मचारी तथा व्यावसायिक अभिकर्ता अभाव हुँदा नयाँ कम्पनीहरू पुराना कम्पनीका अभिकर्ता तथा कर्मचारीलाई आकर्षित गर्ने काम गरिरहेका छन् । निजी कम्पनीमा कर्मचारीको मुभमेन्ट स्वाभाविक भए पनि हाल बिमा क्षेत्रमा देखिएको मुभमेन्टले भने समग्र बिमा क्षेत्रलाई प्रभावित बनाएको छ । पुराना कम्पनीमा सामान्य तहमा काम गरेका कर्मचारी तथा अभिकर्तालाई नयाँ कम्पनीहरूले उच्च तह र सुविधा दिन थालेपछि पुराना कम्पनीहरू अप्ठेरोमा परेका छन् । यसरी क्षमताभन्दा माथिको तहमा कर्मचारी नियुक्त गर्दा एकातिर नयाँ कम्पनीको प्रस्तुति खस्कने र सञ्चालन खर्च उच्च हुने देखिएको छ । त्यस्तै, हालै सञ्चालनमा आएका नयाँ कम्पनीहरूले प्राथमिक सेयर जारी गर्ने तयारी गरेका छन् । नयाँ कम्पनीमध्ये युनियन लाइफ, आईएम र ज्योति लाइफले गत आवको अन्त्यमा समितिबाट बिमक सञ्चालनको प्रमाणपत्र पाए पनि कम्पनीहरूले चालू आवमा मात्रै व्यवसाय सञ्चालन गर्ने अनुमति पाएका हुन् । तर, कम्पनीहरूले गत आवमा नै पुँजी संकलन भइसकेकाले कम्पनीले एउटा आर्थिक वर्ष पूरा गरेको भन्दै चालू आवमा नै आईपीओ जारी गर्ने तयारी गरेका छन् । नयाँ कम्पनीहरूमा देखिएको अभिकर्ता र कर्मचारीको समस्या, नेपालमा देखिएको व्यावसायिक अभिकर्ता उत्पादनको समस्यालगायतका विषयमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानीको सार:
बिमाको पहुँच विस्तार गर्न नयाँ कम्पनीहरू दर्ता भएका छन् । नयाँ कम्पनीहरूमा नयाँपन के छ त ?
कम्पनीहरूले नयाँ तारिकाले सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, कम्पनीहरूले जारी गरेका बिमा योजनाहरू पनि नयाँ खालका छन् । हुन त कम्पनीहरूलाई नेपालको बिमा बजारमा नयाँपन केही दिनु पर्दैन । किनभने अहिले पूरै बजार नै खाली छ । तथ्यांकअनुसार अहिले बिमाको पेनिट्रेसन १० प्रतिशत छ, तर यो पनि वास्तविक तथ्यांक भने होइन । एउटै व्यक्तिले पनि धेरै योजना खरिद गरेको हुन सक्छ । त्यसै गरी पहिला बिमा गर्नेहरूको पोलिसी अवधि पनि सकिएको हुन सक्छ । त्यसैले मिहिन रूपमा अध्ययन गर्ने हो भने नेपालका १० प्रतिशत व्यक्तिमा पनि बिमाको पहुँच पुगेको छैन । त्यसै गरी धेरैजसो व्यक्तिले अहिले अपुरो खालको बिमा गरिरहेका छन् । जस्तै, ५ लाख रुपैयाँबराबरको बिमा गर्न सक्ने र आवश्यकता भएको व्यक्तिले १ लाख रुपैयाँको बिमा गरेको छ । त्यसैले मानिसहरूले आफ्नो आवश्यकता र क्षमताअनुसार पनि बिमा गरेका छैनन् । तसर्थ नेपालको बिमा बजार पूरा खाली छ, जहाँ हामीले काम गर्न सक्छौं ।
तपाईंले कम्पनीहरूले नयाँ खालका बिमा योजनाहरू सञ्चालनमा ल्याएका छन् भन्नुभयो । तर, कम्पनीहरूले ल्याएका योजनाहरूमा खासै नयाँपन त केही छैन नि ?
जीवन बिमा क्षेत्रमा मुख्य गरी चार प्रकारका बिमा योजना छन्— आजीवन जीवन बिमा, सावधिक जीवन बिमा, म्यादी जीवन बिमा र एन्यूटी जीवन बिमा । अन्य सबै बिमाहरू यिनै बिमा योजनाका आधारमा निर्माण गरिन्छ । त्यसैले हामीले पनि यी योजना आधारित बिमा योजनाहरू ल्याएका छौं, जसमा केही नयाँपन भेट्न सकिन्छ । जस्तै, पहिला मनि ब्याक पोलिसी मात्रै बजारमा थियो, अहिले हामीले नयाँ सुविधासहित मनि ब्याक र आजीवन जीवन बिमा संयोजन गरी नयाँ योजना सञ्चालन गरेका छौं । हुन त अहिले बिमाको बजार पूरै खाली छ । त्यसैले नयाँ योजना चाहिन्छ भन्ने नै छैन । यदि पुराना कम्पनीहरूले बजारलाई पूरै छोएको भए हामीले नयाँ योजना ल्याएर बजारमा जानुपर्छ भन्ने हुन्थ्यो । तर, यहाँ त पूरै खाली छ । त्यसैले नयाँ योजनाको आवश्यकता नै पर्दैन । त्यसो भन्दैमा नयाँ नै चाहिँदैन भन्ने त होइन । हामीले केही परिवर्तन चाहिँ गर्न खोजेका छौं ।
एकातिर बिमाको बजार पूरै खाली छ । अर्कातिर पुराना जीवन बिमा कम्पनीको व्यवसाय खासै बढ्न सकेको छैन । बजार हुँदाहुदै पनि कम्पनीहरूले व्यापार गर्न नसक्नुको कारण के हो ?
कम्पनीहरूले दक्ष कर्मचारी तथा अभिकर्ता उत्पादन गर्न नसक्दा पनि व्यापार बढ्न नसकेको हो । हाम्रो कम्पनीको व्यवसायलाई हेर्नुहुन्छ भने हामीले गत असोज ४ गते बिमा समितिबाट व्यवसाय सञ्चालनको अन्तिम स्वीकृति लिएका थियौं । दसैंको मुखमै भएकाले हामीले दसैंपछि मात्र राम्रोसँग सञ्चालन गर्यो । पुससम्मको अवधिमा हामीले करिब २४ करोड ७६ बिमाशुल्क संकलन गरेका छौं, जसमध्ये ९ करोड ३० लाख वैदेशिक रोजागारी म्यादी जीवन बिमाबापत संकलन गरेका छौं । यो भन्नुको अर्थ कम्पनीले चाहे भने काम गर्न सक्छन् । जीवन बिमा कम्पनी अभिकर्तामा नै आधारित हुन्छ, तसर्थ अभिकर्तालाई राम्रोसँग मुभिलाइज गर्नुपर्छ । एकपटक तालिम दिएर मात्र हुँदैन । समय समयमा विभिन्न खालका तालिम दिएर अभिकर्तालाई प्रेरित गरिरहनुपर्छ । तसर्थ अबका दिनमा पुराना कम्पनीले मात्र होइन, नयाँ कम्पनीहरूले पनि एगे्रसिभ्ली काम गर्न सक्छन् ।
जीवन बिमा कम्पनीमा अभिकर्ता नै प्रमुख हुन् भन्नुभयो । तर, अहिले बिमा कम्पनीहरूमा कर्मचारीजस्तै गरी अभिकर्ताहरू पनि तानातान भएका छन् भन्ने सुनिन्छ नि ?
बिमा कम्पनीहरूमा अभिकर्ता तानातान गर्ने प्रचलन पहिले पनि थियो । अहिले कम्पनीहरू थपिएपछि झन् बढेको हुन सक्छ । तर, तानातानभन्दा पनि सुतेका अभिकर्तालाई नयाँ कम्पनीहरूले जगाउने काम गरेका छन् । जस्तै, पहिले कुनै कम्पनीबाट तालिम लिए तर काम गरेनन् । त्यस्ता अभिकर्तालाई नयाँ कम्पनीहरूले उठाएका हुन् । त्यसलाई तानातान भन्न मिल्दैन । अहिले सायद बजारमा १ लाख ५० हजार अभिकर्ता होलान्, जसमध्ये मुस्किलले २५ हजार अभिकर्ताले मात्रै सक्रिय रूपमा काम गरेका होलान् । बाँकी त अहिलेसम्म निष्क्रिय भई सकेका थिए, जसलाई जगाउने काम नयाँ कम्पनीले गरेका छन् । जुन कम्पनीले त्यस्ता अभिकर्तालाई उठाउँछ त्यही कम्पनीले व्यवसाय पाउँछ ।
भनेपछि नेपालमा व्यावसायिक रूपमा काम गर्ने सक्रिय अभिकर्ताको कमी छ । लाखौंले तालिम लिए पनि काम गर्ने भनेको हजारौंमा मात्रै छन् । नेपालमा व्यावसायिक अभिकर्ता उत्पादन हुन नसक्नुको कारण के हो ?
अभिकर्तालाई एकपटक तालिम दिएर मात्रै हुँदैन । समय–समयमा अन्य विभिन्न खालका तालिम दिनुपर्छ । उनीहरूमा उत्प्रेरणा कायम राख्न मोटिभेसनल तालिम पनि दिनुपर्छ, तर हामीकहाँ यस्तो खालको अभ्यास कम छ । यदि अभिकर्तालाई समय–समयमा घचघच्याउने काम गरेन भने ऊ अन्य पेसातर्फ मोडिन थाल्छ । त्यसैले उसको उत्पादकत्वमा कमी आउँछ । तसर्थ अभिकर्तालाई व्यावसायिक बनाउने हो भने समय–समयमा तालिम दिनुपर्छ ।
कम्पनीहरूले अभिकर्ता फकाउन जथाभावी कर्जा पनि दिने गरेको सुनिन्छ नि ?
मलाई लाग्दैन, कम्पनीहरूले जथाभावी कर्जा दिएका छन् । किनभने जथाभावी कर्जा दिँदा घाटा त कम्पनीहरूलाई हुन्छ । हामीले पनि विभिन्न खालका स्किम निकालेका छौं । तर, हामीले निश्चित ब्याज तोकेर धितो राखेर मात्रै कर्जा दिएका छौं । जथाभावी कर्जा प्रवाह गरेका छैनौं ।
बैंक तथा वित्तीय संस्थापछि नेपालको अर्थतन्त्रमा बिमा कम्पनीको अहम् भूमिका मानिन्छ । नयाँ कम्पनीहरूले मुलुकको अर्थतन्त्रमा कस्तो खालको योगदान देलान् त ?
नेपालको विगतको बिमा उद्योगको इतिहास हेर्ने हो भने जतिबेला नयाँ कम्पनीहरू आए, त्यतिबेला पुराना कम्पनीहरूको पनि व्यवसाय बढेको छ । जस्तै, २०२९ सालदेखि राष्ट्रिय बिमा संस्थानले जीवन बिमा व्यवसाय सञ्चालन गर्यो । २०४६ सालमा आएर मात्रै नेसनल लाइफ इन्स्योरेन्सले जीवन बिमा व्यवसाय सुरु गरेको हो । नेसनलले कारोबार सुरु गरेपछि राष्ट्रिय बिमा संस्थानको पनि व्यवसाय बढ्यो । २०५८ आएर लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेपाल लाइफ, मेटलाइफ पनि व्यवसाय सुरु गरे । यिनीहरूका कारणले पुराना नेसनल र राष्ट्रिय बिमा संस्थानको पनि व्यवसाय बढ्यो । त्यस्तै, २०६४ सालमा आएर अन्य चारवटा प्राइम लाइफ, एसिएन लाइफ, सूर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पनि व्यवसाय सुरु गरे । यसै गरी अहिले जुन नौवटा कम्पनी थपिएका छन्, योसँगै पुराना कम्पनीहरूको पनि व्यवसाय बढ्नेछ । चालू आवमा कम्पनीको बिमाशुल्क ५० प्रतिशतले बढ्छ । यसरी संकलन गरिएको रकमले मुलुकको अर्थतन्त्रमा असर त गर्छ नै । त्यसै गरी कम्पनीहरूले रोजगारी सिर्जना गरेका छन् । अहिले तत्काल कम्तीमा पनि १ हजार ५ सय व्यक्तिले रोजगारी पाएका छन् । साथै, अभिकर्ताहरूले पनि रोजगारी पाएका छन् । अहिले हाम्रो कम्पनीमा २ हजार अभिकर्ता छन् । यो वर्षभित्रमा प्रत्येक कम्पनीमा कम्तीमा पनि ३ हजार अभिकर्ता हुन्छन् । एउटा कम्पनीमा ३ हजार हुनु भनेको ९ वटा कम्पनीमा २७ हजार अभिकर्ता हुन्छन्; अर्थात् २७ हजारले रोजगारी पाउँछन् । उनीहरूको जीवनस्तर उकासिन्छ । यसले अर्थतन्त्रमा सकारात्मक असर गरेकै हुन्छ नि !
कम्पनीहरूको बिमाशुल्कमा उच्च वृद्धि हुन्छ भन्नुभयो, तर अहिले पनि कम्पनीहरू समितिले बाध्यकारी बनाएका बिमा योजनामा केन्द्रित भएको देखिन्छ नि ?
त्यो त बाध्यकारी बिमा हो, तर जहाँसम्म मलाई लाग्छ कम्पनीहरू वैदेशिक रोजगारी म्यादी जीवन बिमामा मात्रै केन्द्रित छैनन् । कम्पनीहरूले अन्य जीवन बिमा पनि जारी गरेका छन् ।
तपाईंले नयाँ कम्पनीहरूले रोजगारी सिर्जना गरेका छन् भन्नुभयो, तर कम्पनीहरूले पुरानै कम्पनीका कर्मचारीलाई तानातान गरेका छन् । कसरी रोजगारी सिर्जना भयो त ?
समितिको निर्देशनअनुसार केही विभागीय प्रमुखहरू बिमा क्षेत्रमै काम गरेका चाहिन्छन् भनिएको छ । त्यसैले केही विभागीय प्रमुखहरू चार–पाँच जना यता–उता भएकै हो । यसको अन्य विकल्प छैन । तर, अन्य कर्मचारीहरू नयाँ नै छन् । जस्तै, मार्केटिङका कर्मचारी नयाँ छन् । हामीले उनीहरूलाई तालिम दिएर पठाएका छौं ।
तर, कम्पनीहरूले पुराना कम्पनीका कर्मचारीलाई उच्च पारिश्रमिक र तह दिएर नियुक्त गरेको पाइन्छ । यसले कम्पनीको सञ्चालन खर्च बढ्दैन ?
हो, पक्कै पनि कम्पनीहरूले यसरी पुराना कर्मचारी नियुक्त गर्नुपरेको छ । केही निश्चित कर्मचारीको हकमा मात्रै यस्तो भएको छ । तर, जुन कम्पनीले उच्च सुविधा दिएर कर्मचारी नियुक्त गरेका छन् भने उनीहरूले व्यवसाय पनि गर्नुगर्यो । नत्र बाँच्च गारो हुन्छ ।
तपाईंहरू आईपीओ जारी गर्ने तयारीमा हुनुहुन्छ, तर धितोपत्रले बोर्डले यो आर्थिक वर्षमा आईपीओ जारी गर्न मिल्दैन भनेको छ त ?
आईपीओ जारी गर्नका लागि हामीले बिमा समितिबाट स्वीकृति पाइसकेका छौं । अब हामी धितोपत्र बोर्डमा निवेदन दिँदै छौं । बोर्डले के भन्छ, त्यसपछि हामीले प्रक्रिया अगाडि बढाउँछौं ।
नयाँ अन्य कम्पनीहरूमा पनि आईपीओ जारी गर्ने तयारीमा देखिएका छन्, तर सञ्चालन भएको एक वर्ष पूरा नहुँदै तपाईंहरू आईपीओ जारी गर्न किन हतारिनुभएको हो ?
आईपीओ जारी गर्नु भनेको प्रमोटर थपिनु हो । प्रमोटर थपिँदा कम्पनीले लगानीका लागि क्यापिटल पाउँछ, जसलाई लगानी गरेर कम्पनीले थप नाफा आम्दानी गर्न सक्छ । समग्रमा यसले सबैलाई फाइदा हुन्छ । कम्पनी, बिमित, लगानीकर्ता र सरकारलाई पनि फाइदा हुन्छ । त्यसले यसमा हामी हतारिएका होइनौं । समग्रमा हामीले कम्पनीको पुँजी बढाएर ठूलो व्यवसाय मात्र गर्न खोजेका हौं ।
साधारणतया कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको विगत तीन वर्षको विवरण हेर्नुपर्छ भन्ने मान्यता छ । तर, तपाईंहरूको कम्पनीमा लगानी गर्दा लगानीकर्ताले केलाई आधार मानेर लगानी गर्ने त ? लगानीकर्ताहरू भ्रममा पर्दैनन् ?
विगतको अवस्था हेरेर लगानी गर्नु भनेको अनुमान मात्रै हो । तर, सबै अवस्थामा यस्तो पनि हुँदैन । जस्तै, तीन वर्षसम्म नाफा गरेको कम्पनीले सधैंभरि नाफा गर्छ भन्ने पनि छैन । ३ हजार ४ सय रुपैयाँसम्म सेयर कारोबार भएका कम्पनीको सेयर कुनै समयमा १ सय २८ रुपैयाँमा पनि झ¥यो । त्यसैले त्यो सबै आधार पनि होइन । हामीले लगानीकर्तालाई भ्रममा पारेका पनि छैनौं । लगानीकर्ताले हाम्रो प्रमोटर र व्यवस्थापनलाई पनि हेर्न सक्छ । यद्यपि हामीले बिमा समितिमा आफ्नो चार वर्षको व्यवसाय योजना बुझाएका छौं । समितिले सोहीअनुसार हामीलाई नजिकबाट नियमन गरिरहेको छ । त्यसैले हामीले समितिबाट स्वीकृति पाएका छौं । अब सेबोनमा जान्छौं । सेबोनले अनुमति दियो भने निकाल्छौं, नत्र निकाल्दैनौं ।
अधिकांश कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । वास्तविक दीर्घकालीन रूपमा कम्पनीहरूका लागी यो नाफामूलक हो त ?
अहिलेका लागि नयाँ कम्पनीहरूलाई वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्नु नाफामूलक नै छ । तर, सधैं यही नै प्राथमिकतामा रहन्छ भन्ने छैन । बिमा समितिले कम्पनीको लगानी नीतिमा परिवर्तन गरिरहेको छ । त्यसैले भोलिको दिनमा अन्य क्षेत्रको पहिचान हुन सक्छ । जस्तै, अहिले समितिले कम्पनीलाई जलविद्युत् क्षेत्रमा लगानी गर्न पनि छुट दिएको छ । भोलिका दिनमा अन्य क्षेत्र पनि आउलान् । सोही अनुसार हामीले पनि लगानी गर्नेछौं ।
जनचेतनाको अभावका कारण नेपालमा बिमा विस्तार हुन सकेको छैन । बिमासम्बन्धी चेतना बढाउन तपाईंको कम्पनीको आगामी एक वर्षको योजना के छ ?
हामीले अभिकर्तामार्फत बिमासम्बन्धी जनचेतना जगाउने काम गरेका छौं । हामीले अभिकर्तालाई तालिम दिएर विभिन्न स्थानमा पठाएका छौं । उहाँहरूलाई हामीले मानिसहरूलाई भेटेर बिमाबाट पाउने सुविधाको विषयमा जानकारी दिन लगाएका छौं ।
आगामी चार वर्षमा कम्पनी कहाँ पुग्छ ? बिमितले कहिलेदेखि बोनस पाउँछन् ?
हामीले काम गरिरहेका छौं । तर, चार वर्षमा कहाँ पुग्छ भन्न भने गारो छ । कहाँ पुग्ने भन्ने भन्दा पनि हामी सबैमा बिमा पुगोस् भन्ने चाहन्छौं । त्यस्तै, अहिले प्रत्येक वर्ष कम्पनीको बिमांकीय मूल्यांकन हुन्छ । त्यसैले हामीले अर्को वर्षदेखि नै बिमितलाई बोनस दिन सक्छौं । तर, कति बोनस दिन्छौं भनेर अहिले अनुमान गर्न भने मुस्किल छ ।