Logo

सुन्तलाको पकेट क्षेत्र बन्दै पाणिनी सिम्ले

अर्घाखाँची जिल्लाका व्यावसायीक कृषकहरु सुन्तला खेतीबाटै सन्तुष्ट छन् ।
जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्रका कृषक यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । पाणिनी गाउँपालिकाको पोखराथोकमा रहेको शिवशक्ति शित भण्डारमा ६५ सय क्यारेट सुन्तला राखिएको छ । शितभण्डारमा रहेका सुन्तला बिक्री गर्न थालिएको स्थानीय कृषक चन्द्रकान्त पोडेलले बताए । “५०० क्यारेट शितभण्डारमा राखेका सुन्तला पठाइसकेका छौं, प्रतिकेजी १०५ देखि ११५ रुपैयाँमा बिक्री हुन्छ” पौडेलले भने ।
यहाँका सबैजसो कृषक व्यावसायिकरुपमा सुन्तला खेती गर्छन् । सुन्तला खेतीबाट कृषकले वार्षिक १४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । ११ वर्ष वैदेशिक रोजगारीमा बिताएका खगेन्द्र पौडेलले ६ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । मकै र गहुँ रोपेर २० हजार आम्दानी नगर्ने पौडेलले अहिले सुन्तला खेतीबाट राम्रो आम्दानी हुने बताए । गत वर्ष ७ लाखको आम्दानी गरेका सिम्लेका भोजराज पौडेलले यस वर्ष पनि राम्रो उत्पादन हुनेमा विश्वस्त छन् ।
यहाँ उत्पादन भएको सुन्तला प्रति किलो ७० रुपैयाँ देखि ११५ रुपैयाँमा बुटबलको बजारमा बिक्री हुन्छ । सुन्तला बिक्रीबाट मात्र नभइ सुन्तला जातका बिरुवा बेचेर पनि सिम्लेका किसानले वार्षिक चार, पाँच लाख रुपैयाँ कमाउने गरेका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ, खन लगायतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो । अर्घाखाँचीमा १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्