नगरसभाबाट बजेट विनियोजन «

नगरसभाबाट बजेट विनियोजन


बेनी नगरपालिकामा आयोजित १०औं नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ । बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई आठ लाख रुपैयाँका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो ।
नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई आठ लाखका दरले सो बजेट विनियोजन गर्दै पारित भएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । नगरसभामा हरेक वडाबाट सिफारिस भएका योजनालाई आठ लाखका दरले विनियोजन गर्दै पारित गरिएको बताए । नगरसभाले २०७८÷०७९ मा छनोट भएका आठवटा योजना संसोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको छ । चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि छनोट भएका ४ सय ७० योजनामध्ये ३० वटा योजना सम्पन्न र ४३ वटा सम्झौतासँंगै अन्य योजना कार्यान्वयनको चरणमा रहेको उपप्रमुख सञ्जु बरुवालले बताइन् ।
नगरसभामा मेयर श्रेष्ठले सबै नागरिकलाई कोभिड खोपसहितको स्वास्थ्य सरल र सहज रूपमा उपलब्ध गराउने प्रयास भएको बताए । उनले पर्यटकीय सम्भावना बोकेको तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय निर्माणका लािग २० लाख बजेट, रावण पार्क निर्माणका लागि संघीय सरकारसँंग साझेदारीको सुरुवात, शिक्षालाई गुणस्तर बनाउन विद्यालय पूर्वाधार निर्माण तथा सुधारमा आवश्यक पहल, कृषि पेशालाई ब्यवस्थित बनाउन बाली उत्पादन तथा पशुपालनमा अनुदानका कार्यक्रम सञ्चालन, नगरक्षेत्रको एकमात्र खेलकुद मैदानको प्यारापिट र खेल मैदानको भौतिक सुधारका लागि सम्बन्धित निकायसँंग पहल गरिएको नगरसभामा जानकारी गराए । “सबै नागरिकलाई खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ संघीय सरकारको सहयोगमा खबरा खानेपानी, गौश्वार खानेपानी योजना र जामुनाखर्क खानेपानी योजना निर्माणका लागि अघि बढेको छ ।”
नगरपालिकाले दुई लाखसम्मका योजनालाई वडा कार्यालयबाट सम्झौता गर्ने व्यवस्था, आन्तरिक आय अभिवृद्धिका लागि करको दायरा बढाउने प्रयास, बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा एकतर्फी सवारीसाधन सञ्चालन, बसपार्क व्यवस्थापनका लागि समिति गठनलगायतको काम भएको मेयर श्रेष्ठले बताए ।
समृद्ध नगर निर्माणमा सरसरफाइ व्यवस्थापनका लागि ल्याण्डफिल साइट छनोटमा समस्या, नदीजन्य पदार्थको अवैध उत्खनन् एवं चोरी निकासी पूर्णरूपमा नियन्त्रण हुन नसकेको, छाडा गाईवस्तुको व्यवस्थापन र सबै नागरिकलाई पूर्णरूपमा करको दायरामा समेट्न नसक्नु नगरपालिकाको चुनौती छन् ।

प्रतिक्रिया दिनुहोस्