Logo

वन व्यवस्थापनमा वित्तीय क्षेत्रसँग सहकार्य हुने

वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमा वित्तीय क्षेत्रसँग सहकार्य गर्ने भएको छ । वनको दिगो व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्डको मस्यौदामा वन क्षेत्रमा लगानी बढाएर वनबाट वित्तीय आम्दानी बढाउने लक्ष्यका साथ वित्तीय क्षेत्रसँग सहकार्य गर्ने उल्लेख छ ।
वनमा लगानीमैत्री वातावरण तयार गरेर वित्तीय क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने तयारी भएको वन तथा वातावरण मन्त्रालयका सहसचिव शिव वाग्लेले बताए ।
“दिगो वन व्यवस्थापनको मापदण्डले वनबाट मुलुकको अर्थतन्त्र सुधार गर्ने र राष्ट्रिय जीडीपीमा वनको योगदान बढाउन लक्ष्य हासिल गर्न वित्तीय क्षेत्रसँग सहकार्य गर्नुपर्छ,” उनले भने, “वनबाट आर्थिक वृद्धि गर्न र वनबाटै आगामी दिनमा रोजगारी पनि बढाउन गैरकाष्ठजन्य वन पैदावारको पनि व्यावसायिक योजना बनाएर अगाडि बढाउने योजना छ, वनमा निजी लगानीलाई प्रोत्साहन गरिनेछ ।”
सरोकारवालाहरुले पनि वन क्षेत्रमा वित्तीय लगानी भित्र्याउन सरकारले सहज वातावरण बनाउनुपर्ने बताएका छन् । कृषि वस्तु सरह सहज रुपमा वन पैदावारको बिक्रीवितरण गर्न पाउनुपर्ने उनिहरुको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)की अध्यक्ष भारती पाठकले वन पैदावारको उचित व्यवस्थापन गर्ने भए वन क्षेत्रबाटै मुलुकको अर्थतन्त्र उकास्न सहज हुने बताइन् । “जसले संरक्षण गरेको छ, जसले उत्पादन गरेको छ, ती वन पैदावारको उपभोग गर्ने अधिकार पनि संरक्षणकर्तालाई नै हुनुपर्छ,” उनले भनिन् “अब सरकारले संरक्षणमुखी वन व्यवस्थापन मात्रै भनेर वनको पुरानो व्यवस्थापनको शैलिलाई परिवर्तन गरेर मापदण्ड ल्याइनुपर्छ ।”
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले वनजन्य उद्यममा निजी लगानी घटिरहेको भन्दै लगानीमैत्री वातावरण नबनाए वित्तीय क्षेत्रसँगको सहकार्य सफल नहुने बताए । “वन व्यवस्थापनमा भएको अन्योलले गर्दा बजारमा काठ छैन, कार्यविधि आउन पनि ढिलाइ भईरहेको छ, कच्चा पदार्थको अभावका कारण हाम्रा उद्योगहरु घाटामा जान थालेका छन्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्