निजी क्षेत्रले सिधै बिजुली बेच्न पाउने कार्यविधि बन्दैछः ऊर्जामन्त्री

सरकारले अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रले सिधै बिजुली बेच्न दिने गरी कार्यविधि निर्माण गरिरहेको जनाएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको टोलीसँगको भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले डेढ महिनाभित्र निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी स्वरुप कार्यविधि बनाइरहेको बताइन् । उनले नयाा व्यवस्था भएसँगै निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा सिधै बबिजुली बेच्न पाउने बताइन् ।
हालै मन्त्रिपरिषदले विद्युत प्राधिकरणको सहायक नेपाल विद्युत व्यापार कम्पनीलाई अनुमति दिइसकेको छ भने नेपाल पावर एक्सचेञ्ज लिमिटेडले विद्युत व्यापारका लागि तथा इन्फ्रास्ट्रक्चर बैक (निफ्रा) को पावर ट्रेडिङ कम्पनी नेपालले समेत अनुमतिका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिइसकेका छन् । “विद्युत निर्यातमा निजी क्षेत्रलाई विद्युत निर्यातमा सहभागी बनाउने नै हाम्रो सोच हो, विद्युत आयात गर्न दिँदैनौं, तपाईंहरूले गन्तव्य खोजेर निर्यात गर्नुस्” उनले भनिन् “आफैं विद्युत उत्पादन गर्ने र बिक्री गर्नेलाई पनि सहजीकरण गर्ने गरी कार्यविधि बनाउछौँ । उनले विद्युत उत्पादनमा मात्रै नभइ प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने उल्लेख गरिन् ।
मन्त्री भुसालले बंगलादेशसम्म विद्युत निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गरिन् । उनले नेपालमा उत्पादन हुने विद्युतको मुख्य बजार भारत भएकाले निजी क्षेत्रले पनि भारतमा बजार खोज्नुपर्ने बताइन् ।
छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपालमा उत्पादन हुने विद्युत निर्यातका दुई महत्वपूर्ण गन्तव्य भारत र बंगलादेश भएको भन्दै दुवै देशमा अलग–अलग उच्चस्तरीय संयन्त्रमार्फत विद्युत व्यापारको काम अघि बढाउन खोजेको बताए ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशमा नवीकरणीय ऊर्जाको उच्च माग रहेको बताउँदै नेपालमा उत्पादन हुने विद्युत निजी क्षेत्रमार्फत निर्यातको वातावरण बनाइदिन आग्रह गरेका थिए । विद्युत निर्यातको काम अघि बढाउन सरकार र निजी क्षेत्र सम्मिलित उच्चसतरीय संयन्त्र बनाउन उनले आग्रह गरे ।