नयाँ पुल सञ्चालनमा ल्याउनु नै उत्तम विकल्प

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगले खपत गर्ने कच्चापदार्थ आयात गर्ने मुख्य नाका जोगबनी नाका हो । यस नाकाबाट कच्चापदार्थ र तयारी वस्तु आयातसँगै नेपाली उत्पादनसमेत निर्यात हुने गरेको छ । खासगरी यस क्षेत्रका उद्योगी–व्यवसायीले भारतसहित तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै आयात गर्ने वस्तु जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने गरेको पाइन्छ । तर, जोगबनीस्थित मिरगन्ज पुलका कारण यो क्षेत्रका उद्योगी–व्यवसायीहरूले पटक–पटक समस्या झेल्दै आएका छन् । मिरगन्ज पुल जीर्ण हुँदा भत्किने र भासिने समस्या देखिने गरेको छ । पछिल्लो समय एक हप्ताअघि पुल भासिएपछि आयात–निर्यात ठप्प भएको छ । उद्योगी–व्यवसायीहरूले हाल सुनसरीको भीमनगरबाट सामान आयात गरिरहेका छन् । यसरी आयात गर्दा घुमाउरो भएका कारण ढुवानीसँगै समय बढी लाग्ने गरेको उद्योगी–व्यवसायी बताउँछन् । उनीहरूले हालको जीर्ण पुलनजिकै निर्माण भइरहेको पक्की पुल चाँडो सञ्चालनमा ल्याउने वातावरण मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन् । मिरगन्ज पुल भासिँदा उद्योगी–व्यवसायीमा परेको समस्या, हाल भइरहेका पहललगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी मीनकुमार नवोदितले पूर्वका उद्योगी–व्यवसायीहरूसित गरेको कुराकानीको सार :
मिरगन्जको समस्या समाधानका लागि निजी क्षेत्रले पहल गरिरहेको छ
राजेन्द्र राउत
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–१
मिरगन्ज पुल पूर्वका उद्योगी–व्यवसायीका लागि निकै महत्वपूर्ण पुल हो । यही पुलबाट आयात–निर्यात हुने गरेको छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगका ९० प्रतिशतभन्दा बढी कच्चापदार्थ यही पुल प्रयोग गरेर आयात गर्ने गरिएको थियो । जुटलगायत धेरै उत्पादनको निर्यात पनि यही पुलबाट हुँदै आएको थियो । जोगबनी नाकाबाट आयात गर्दा यो पुलको विकल्प छैन । अहिले पुल भासिँदा आयात–निर्यात ठप्प भएको छ । एक हप्ताभन्दा लामो समय भइसकेको छ, पुलबाट आयात–निर्यातमा रोक लगाइएको । विगतमा पनि पुल भत्किँदा भीमनगरबाट रि–रुट गरेर आयात गरिएको थियो । यसरी आयात–निर्यात गर्दा पनि प्रक्रिया पूरा गर्नुपर्छ । उद्योगी–व्यवसायीहरूले जहिले पनि समस्या मात्रै झेल्नुपर्ने ? कहिले बैंकको ब्याज, कहिले विद्युत् समस्या, कहिले नाकाबन्दी, कहिले मजदुर हड्ताल ? यस्तै–यस्तै समस्या हामीले भोग्दै आएका छौं । अहिले फेरि पुलका कारण समस्या थपिएको छ । मिरगन्ज पुल धेरै नै पुरानो र जीर्ण भएको छ । यो पुलबाट आयात–निर्यातको सम्भावना एकदमै कम छ । अब सरकारले पहल गरेर नयाँ पुल चाँडो सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ । अहिलेको जीर्ण पुलनजिकै पक्की नयाँ पुलको निर्माण लगभग सकिएको छ । अब पुलसित जोड्ने सडक निर्माण भइरहेको छ । सरकारले पहल गरेमा यो पुल छिट्टै सञ्चालनमा आउनेछ र यस क्षेत्रका उद्योगी–व्यवसायीले सहज रूपमा आयात–निर्यात गर्न पाउनेछन् । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रले पनि पुल सञ्चालनका लागि पहल गरिरहेको छ ।
नयाँ पुल सञ्चालनमा आए हाम्रो तनाव कम हुन्थ्यो
भीम घिमिरे
अध्यक्ष, नेपाल उद्योग परिसंघ, प्रदेश–१
केही दिनअघि हामीले पुलको निरीक्षण गरेका थियौं । त्यो पुल अब सञ्चालनमा आउने सम्भावना निकै कम छ । पूरै भासिएको छ । जसले गर्दा सामान लिएर आएको मालवाहक सवारीलाई पुलले थाम्दैन अब । मोटरसाइकल र हलुका सवारीलाई मात्रै प्रवेश गर्न दिइएको छ । मालवाहक सवारीलाई आवत–जावतमा रोक लगाइएको छ । अहिले आंशिक मात्रामा सुनसरीको भीमनगरबाट सामान आयात भइरहेको छ । तर, यो समस्याको दीर्घकालीन समाधान होइन । जोगबनीबाटै पनि अर्को घुमाउरो सडक छ । तर, त्यो सडक साँघुरो भएका कारण र धेरै ठाउँमा पक्की नभएका कारण मालवाहक सवारी ल्याउन कठिन छ । हामीले नेपाल सरकारको ध्यानाकर्षण गराइसकेका छौं । हामीलाई आशा के छ भने अहिले भत्किएको पुलभन्दा केही उत्तरपट्टि भारत सरकारले नयाँ पुल बनाइरहेको छ । त्यो पुलको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यति तीव्र गतिले काम हुने हो भने चाँडै नै सञ्चालनमा ल्याउन सकिन्छ । तत्कालका लागि एकतर्फी रूपमै भए पनि मालवाहक सवारीलाई आवतजावत गर्न अनुमति दिइएमा केही हदसम्म समस्याको समाधान हुनेछ । यस विषयमा परिसंघसहित मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले नेपाल सरकारको सम्बन्धित मन्त्रालय र भारतीय पक्षलाई आग्रह गरिसकेका छौं । नेपाल सरकारले पनि पुल सञ्चालनमा ल्याउन पहल गरिसकेको छ । नयाँ पुल सञ्चालनमा आयो भने हाम्रो तनाव कम हुने थियो । अहिले त हामी धेरै तनावमा छौं । एकातर्फ समयमै मालसामान नआउने अवस्था छ भने अर्कोतर्फ लागत पनि बढेको छ ।
अब समस्याको दीर्घकालीन समाधान खोजिनुपर्छ
महेश जाजू
उद्योगी
भारतको जोगबनीस्थित मिरगन्ज पुल निकै पुरानो भइसकेको छ । यो पुल जीर्ण भएको लामै समय भयो । मर्मत गर्दै सञ्चालनमा ल्याइएको थियो यो पुल । विगतमा पनि यो पुल भत्किएर मर्मत गरिएको थियो । पूर्वका उद्योगी–व्यवसायीका लागि आयात–निर्यातका लागि यो पुलबाहेक अन्य सहज विकल्प नै छैन । तत्कालका लागि रि–रुट गरेर सामानको आयात–निर्यात गरिरहेका छौं । तर, यो दीर्घकालीन समाधान होइन । दीर्घकालीन समाधान भनेको अहिले निर्माण भइरहेको नयाँ पुललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनु नै हो । यसरी आयात–निर्यात ठप्प हुँदा सरकारको राजस्व पनि गुमिरहेको छ । विराटनगर भन्सारले हरेक दिन झन्डै १५ करोड राजस्व संकलन गर्ने गरेको छ । एक दिन बन्द हुँदा सरकारलाई पनि नोक्सान हुन्छ । उद्योगी–व्यवसायीले बेहोर्ने नोक्सानीको त कुरै छाडौं । अहिले भान्टाबारीबाट रि–रुट गरेर ल्याइरहेका छौं । रि–रुट गर्दा घुमाउरो पर्छ, जसले गर्दा ढुवानी खर्च पनि बढ्छ । एकपटक सामान ल्याउँदा २५–२६ हजारभन्दा बढी ढुवानी खर्च बढ्छ, जसले गर्दा उत्पादन लागत पनि बढ्छ । बढी लागतमा उत्पादित हाम्रा वस्तुले कम लागतमा उत्पादित भारतीय वस्तुसित प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । चोरीपैठारी भएर आउने वस्तुका कारण हाम्रा उत्पादनले प्रतिस्पर्धा गर्न झनै गाह्रो छ । अहिलेको फलामको पुल हो । यो पुल निकै जीर्ण भएको छ । मर्मत गरेर सञ्चालनमा पनि ल्याउन निकै कठिन छ । केही महिना सञ्चालनमा आए पनि जीर्ण भएकाले पुनः समस्या आउने निश्चित छ ।
नयाँ पुल सञ्चालनमा ल्याए समस्या समाधान हुन्छ
प्रकाश मुन्दडा
अध्यक्ष, मोरङ व्यापार संघ
पूर्वका उद्योगी–व्यवसायीहरू जहिले पनि मारमा पर्ने गरेका छन् । राज्यबाट समेत यस क्षेत्रका उद्योगी–व्यवसायी उपेक्षित भएको हामीले महसुस गरेका छौं । बजेट ल्याउँदा जहिले पनि पूर्वलाई सौतेनी व्यवहार गर्छ सरकार । यसरी विभिन्न समस्यासित जुध्दै अगाडि बढेका यो क्षेत्रका उद्योगी–व्यवसायीलाई अहिले फेरि अर्को समस्या आइपरेको छ । भारतको जोगबनीस्थित मिरगन्ज पुल भासिँदा आयात–निर्यात ठप्प भएको छ । त्यो पूर्वबाट आयात–निर्यातमा रोक लगाइएको छ । अहिले सुनसरीको भीमनगरबाट रि–रुट गरेर सामानहरू आयात भइरहेको छ । अब यो समस्याको दीर्घकालीन उपाय खोजिनुपर्छ । दीर्घकालीन उपाय भनेको नयाँ पुल सञ्चालनमा ल्याउनु हो । हामीले नेपाल सरकारका परराष्ट्रमन्त्री, गृहमन्त्रीलगायत सरोकारवाला मन्त्रीसँग भेटघाट गरिसकेका छौं । नयाँ पुलको काम लगभग ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । सरकारीस्तरबाट पहल गर्ने हो भने अबको १५–२० दिनभित्रै पुल सञ्चालनमा ल्याउन सकिन्छ । निजी क्षेत्रले पनि भारतीय पक्षसित वार्ता र छलफल अगाडि बढाएका छौं । केही दिनअघि निरीक्षणमा पनि गएका थियौं । पुल चाँडो सञ्चालनमा ल्याउन भारतीय पक्ष पनि सकारात्मक पाएका छौं । अब नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्छ । हामीले बुझेअनुसार १५ दिनभित्रै एकतर्फी रूपमा नयाँ पुलबाट आयात–निर्यात सुरु हुन्छ । नयाँ पुल सञ्चालनमा आएमा पूर्वका उद्योगी–व्यवसायीले भोग्दै आएको आयात–निर्यातको समस्या समाधान हुनेछ । वर्षा लाग्नेबित्तिकै हामीलाई पुलकै तनाव हुन्थ्यो ।
मिरगन्ज पुलबाट आयात–निर्यात रोकिँदा लागत बढेको छ
नवलकिशोर काबरा
उपाध्यक्ष, नेपाल उद्योग परिसंघ, प्रदेश–१
यो समस्या आजको होइन । विगतदेखिकै समस्या हो । विगतमा पनि यस क्षेत्रका उद्योगी–व्यवसायीहरूले धेरै नै समस्या झेलेका थिए । भारतको जोगबनीस्थित मिरगन्ज पुलमा समस्या आउँदा विगतमा पनि पटक–पटक आयात–निर्यात ठप्प भएको थियो । त्यतिबेला पनि सुनसरीको भीमनगर हुँदै भान्टाबारीबाट आयातसहित तेस्रो मुलुकबाट आयात गरिएको थियो । अहिले पनि त्यस्तै अवस्था सिर्जना भएको छ । बथनादेखि भीमनगर हुँदै कोसी ब्यारेज र भान्टाबारी हुँदै फेरि विराटनगर भन्सारमै कच्चापदार्थ र अन्य वस्तु ल्याउनुपर्ने अवस्था छ । यसरी आयात भएको वस्तु भान्टाबारीमा घण्टौंसम्म रोकिन्छ । किनभने त्यहाँ दिनभर आएका मालवाहक सवारीलाई प्रहरीले स्कटिङ गरेर विराटनगर भन्सार ल्याउने गरेको छ । प्रहरीले एउटा–दुई गाडी ल्याउने कुरा भएन । जसले गर्दा आयातकर्तालाई ढुवानीमा व्ययभारसँगै समय बढी लागेको छ । अहिले भीमनगरबाट वस्तु आयात गर्दा प्रतिटन १ हजार रुपैयाँ बढी ढुवानी भाडा पर्ने गरेको छ । कुनै ट्रकमा २५ टन सामान छ भने २५ हजार रुपैयाँ बढी तिर्नुपर्छ । त्यसबाहेक ड्यारेज शुल्क त छँदै छ । जोगबनीबाट आयात गर्दा १० बजे आईसीपी आइपुगेको मालवाहक सवारीले भन्सारमा चेकजाँच गरेर उद्योगमा अनलोड गरेर बेलुकासम्ममा फर्किन्छ, जसले गर्दा अतिरिक्त शुल्क तिर्नु पर्दैनथ्यो । अहिले त समय पनि बढी लागेको छ, आयात गर्दा ढुवानी खर्च पनि बढी लागेको छ । जसबाट उद्योगी–व्यवसायी सीधै मारमा परेका छन् ।
आर्थिक नोक्सानीसँगै मानसिक तनाव सिर्जना भएको छ
भीम पौडेल
अध्यक्ष, इटहरी उद्योग वाणिज्य संघ, सुनसरी
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–१
मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगका लागि आवश्यक कच्चापदार्थ आयात गर्ने र उत्पादित वस्तु निर्यात गर्ने मुख्य नाका भनेकै जोगबनी हो । जुुन मिरगन्ज पुल हुँदै आयात गर्नुपर्ने हुन्छ । मिरगन्ज पुल पटक–पटक भत्किँदा र भासिँदा यस क्षेत्रका उद्योगी–व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । आर्थिक नोक्सानी त छँदै छ, मानसिक तनाव पनि उत्तिकै हुने गरेको छ । अहिले वैकल्पिक मार्गबाट आंशिक मात्रामा आयात भए पनि पूर्ण आयात–निर्यात हुन अझै समय लाग्ने अवस्था छ । यो क्षेत्रमा सञ्चालित करिब ६ सय उद्योगले धेरैजसो कच्चापदार्थ भारतबाटै आयात गर्ने गरेका छन् । कतिपय उद्योगको कच्चापदार्थ सकिएर उत्पादन बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको दीर्घकालीन विकल्प भनेको अहिले भासिएको पुलभन्दा केही उत्तरमा निर्माण भइरहेको पक्की पुललाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउनु नै हो । नेपाल सरकारले कूटनीतिक माध्यमबाट सो पुल चाँडो सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । हिउँदमै पुल भासिएको छ । वर्षाको समयमा त झनै समस्या आउने देखिन्छ । नयाँ पुल निर्माण लगभग सकिएको छ । पुलसँग जोड्ने सडक निर्माण पनि भइरहेको छ । तीव्र काम हुने हो भने आउँदो वर्षायामभन्दा अगाडि नै नयाँ पुल सञ्चालनमा ल्याउन सकिन्छ । यो काम सरकारीस्तरबाट मात्रै सम्भव छ । सरकारले भारतीय पक्षसँग पुल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन तत्काल पहल सुरु गर्नुपर्छ ।
सुनसरीको भीमनगरबाट आयात गर्नुपर्दा लागत बढेको छ
राजकुमार गोल्छा
उपाध्यक्ष, उद्योग संगठन मोरङ
सुनसरी–मोरङ औद्योगिक क्षेत्रको मुख्य नाका जोगबनी हो । यही नाकाबाट आयात–निर्यात हुने गरेको छ । यो क्षेत्रमा रहेका जुटका ९५ प्रतिशत तयारी वस्तु यही नाकाबाट निर्यात हुने गरेको छ । यसबाहेक कच्चा जुट पनि यही नाकाबाट आयात हुन्छ । यो नाका सामान ल्याउँदा र लाँदा मिरगन्ज पुलको प्रयोग गर्नुपर्ने बाध्यता छ, यस क्षेत्रका उद्योगी–व्यवसायीका लागि । त्यसवरपर अन्य पुल छैन । नयाँ पुल त निर्माण भइरहेको छ । अब त्यो पुल सञ्चालनमा आएमा पुरानो पुलको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । तर, हालका लागि अन्य विकल्प छैन । विकल्प भनेको सुनसरीको भीमनगर र भान्टाबारी नाका हो । यो नाका प्रयोग गर्दा घुमाउरो पर्छ । सुनसरीको कोसी ब्यारेज हुँदै फेरि विराटनगर भन्सारमै सामान ल्याउनुपर्ने बाध्यता छ । यसरी घुमाउरो सडक प्रयोग गर्दा ढुवानी लागत बढ्छ । यो सिधासिधी हाम्रो नोक्सान हो । हामीले उत्पादनमा जोड्दा सामानको मूल्य बढ्छ । एक त भारतीय वस्तुका कारण हाम्रा उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको अवस्थामा झनै मूल्यवृद्धि गरियो भने के होला ? सोचनीय अवस्था छ । एउटा खुसीको कुराचाहिँ के छ भने त्यही छेउमा अर्को नयाँ पक्की पुल निर्माण भइरहेको छ । हामीमा के आशा पलाएको छ भने अब छिट्टै त्यो पुल सञ्चालनमा आउनेछ । यदि त्यो पुल सञ्चालनमा आयो भने पक्कै पनि यस क्षेत्रका उद्योगी–व्यवसायीले लामो समयदेखि भोग्दै आएको समस्याको दीर्घकालीन समाधान हुनेछ ।