Logo

दोलखामा १२ वर्षमाथिका बालबालिकालाई पहिलो खोप पूरा

दोलखामा बालकालिकालाई कोरोना विरुद्धको पहिलो चरणको खोप लगाइएको छ । १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई विद्यालय र खोप केन्द्रमै पुगेर खोप लगाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयबाट उपलब्ध गराएको खोप स्थानीय तहका स्वास्थ्य शाखाले विभिन्न खोप केन्द्र र विद्यालयहरुहरुमै पुगेर लगाएको हो । पहिलो चरणमा मोर्डना खोप १५ हजार ९ सय खोप लगाएको हो ।
स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले केही छुटेका बालबालिकाहरुका लागि पनि खोप लगाउने कार्यक्रम भएको बताए । पहिलो खोप लगाएका बालबालिकालाई पहिलो खोप लगाएकै खोप केन्द्र र विद्यालयमा दोस्रो डोज खोप लगाउने निर्णय समेत भएको छ । अब माघको पहिलो हप्तादेखि बालबालिकालाई दोस्रो खोप लगाउने तयारी छ ।
ओमिक्रोनको जोखिम बढ्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले सार्वजनिक ठाउँमा हिडडुल गर्न समेत खोप कार्ड खोज्ने निर्णय गरेपछि खोप लगाउनेहरु बढ्न थालेका हुन् । विभिन्न कारणले खोप लगाउन छुटेका १८ वर्ष माथिका लागि खोप लगाउन पनि जिल्लाभरका विभिन्न अस्पतालमा खोप लगाउने व्यवस्था गरेको छ ।
संघीय सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा समेत विद्यालय बन्द हुन थालेका छन् । विद्यालय बन्द भए तापनि खोप कार्यक्रम भने निरन्तर सुचारु गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप छुटेकाहरु १८ वर्षमाथिका पनि खोप केन्द्र आउन थालेका छन् । कोभिडको तेस्रो लहर आउन थालेपछि खोप लगाउन छुटेकाहरु केही दिन यता खोप केन्द्रमा बढ्न थालेका छन् । स्वास्थ्य प्रमुख पौडेलले छुटेकाहरुका लागि चरिकोट अस्पताल, सिंगटी, जिरी, नाम्दू लगायतका अस्पताल र खोप केन्द्रमा हरेक हप्ताको एक दिन खोप सञ्चालन भइरहेको बताए । स्वास्थ्यको गोदाममा प्रयाप्त खोप रहेकाले खोपको कुनै समस्या नभएको बताए । पहिलो खोप एउटा लगाएका र खोप केन्द्रमा अर्को खोप चलि रहँदा कहिलेकाँही समस्या परे तापनि त्यसको व्यवस्थापन भएको बताए ।
भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जिल्ला स्वास्थ्यले राम्रो समन्वय नगर्दा बेला बेलामा खोप व्यवस्थापनमा समस्या हुने गरेको बताए । तर नगरभित्रका अधिकांश नागरिकले खोप लगाएको उनले बताए ।
केही दिन अघि दोलखा भ्रमणमा आएका स्वास्थ्य मन्त्री विरोध खतिवडाले अहिले खोप प्रयाप्त भएको तर यहाँ खोप नै नलगाइदिंदा समस्या भएको बताए । स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई खोपबाट कोही नछुटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्