Logo

खोप केन्द्रमा भीड

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ ।
काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ ।
काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो । बिहीवार टेकु अस्पतालमा धेरै भीड देखियो । खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरी समेत कायम गर्न नसकेको दृश्य स्पष्ट देखिन्थ्यो । टेकु अस्पताल परिसर भन्दा बाहिर सडक सम्मै खोप लगाउनेहरुको लाइन थियो ।

कर्मचारी अभाव नहुन स्वास्थ्य मन्त्रालयको निर्देशन
सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो । मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भए तत्कालै पदपूर्तिको व्यवस्था गर्न भनेको छ । त्यस्तै, स्वीकृत दरबन्दीअनुसार कुनै पनि पद रिक्त भएमा त्यस्तो ठाउँमा करार कर्मचारी भर्ना गरेर जनशक्तिको उपयुक्त व्यवस्था गर्न निर्देशन गरेको छ ।
बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पतालहरु र प्रयोगशालाहरूलाई जनशक्ति व्यवस्थापन गर्न निर्देशन गरिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयले स्वीकृत दरबन्दीहरूको करार नियुक्ति भएको र म्याद सकिएको भए ती पदहरूमा माघ महिनादेखि बढीमा ३ महिनासम्म म्याद थप गर्ने व्यवस्था गर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्