Logo

नबिलले एनबी बैंक प्राप्ति गर्ने


बैंक तथा वित्तीय संस्था गाभिने क्रममा नबिल बैैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ । बिहीबार हस्ताक्षर भएको प्रारम्भिक सम्झौताअनुसार एनबी बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता हुने गरी प्राप्तिका लागि सम्झौता भएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा १० प्रतिशत तलमाथि भएमा सोहीअनुरुप स्वाप अनुपात कायम गर्ने सहमति पनि भएको बैंकले जनाएका छन् ।
सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट उदय कृष्ण उपाध्याय तथा एनबी बैंकको तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहपछि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले दुई स्थापित बैंकको मिलनले नेटवर्क, ब्यालेन्स सिट साइज, टिम स्ट्रेन्थ तथा भविष्यको लागि नेपाली बैंकिङ क्षेत्रमा नेतृत्व गर्न सक्ने बलियो संस्थाको जन्म हुने कारोबारलाई बताए ।
नबिल बैंकले एनबीलाई प्राप्ति गरेपछि बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत को हुने तथा दुवै बैंकले कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो लगाउन बाँकी नै छ । तर, पनि नबिलले एनबीलाई प्राप्ति गरेपछि नेपाल राष्ट्र बैंकको नीतिअनुरुप बैंकको संख्या घटाउन मद्दत मिल्ने छ । यसअघि राष्ट्र बैंकको नीतिअनुरुप डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदा ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्ज भइसकेको छ भने हाल हिमालयन बैंक तथा नेपाल इन्भेष्टमेण्ट बैैंकको मर्जर प्रक्रिया अगाडि बढेको छ ।
हाल नबिल बैंकको १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ तथा नेपाल बंगलादेश बैंकको ९ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यसैले प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड (बोनसपछि) रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्