कोरोनाको तेस्रो लहर : एक हप्तामा चार गुणाले बढ्यो संक्रमण «

कोरोनाको तेस्रो लहर : एक हप्तामा चार गुणाले बढ्यो संक्रमण

एक हप्ताअघि प्रतिदिन ६.४६ प्रतिशत रहेको कोरोना संक्रमण बिहीबार २३.५५ प्रतिशत पुगेको छ । यो संक्रमण गत वर्षको दोस्रो लहरका बेला उच्च मापन भएको २५ प्रतिशतकै हाराहारीमा हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित स्वास्थ्य प्रतिवेदनमा एक हप्ताअघि ९ सय ६८ व्यक्ति संक्रमित हुने गरेकोमा बुधबार सो संख्या ३ हजार ५ सय ५३ पुगेको उल्लेख छ । मन्त्रालयकी प्रवक्ता संगिता मिश्राले कोरोना संक्रमण बढ्दै गएका कारण जनस्वास्थ्य मापदण्ड र खोप लगाउन अनुरोध गरेकी छन् ।
गत २४ घन्टामा १५ हजार ८१ जनामा गरिएको एन्टिजेन तथा पीसीआर गरेकोमा तीन हजार ५ सय ५३ संक्रमित भएका छन् । यो अवधिमा २ सय ७१ जना संक्रमण मुक्त भएर फर्किएको मन्त्रालयले जनाएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको छ । यो संख्या एक हप्ताअघि पाँच हजार ७ सय ४१ रहेको थियो । यसैगरी गत हप्ता काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या दुई हजार ६ सय ८० रहेकोमा बिहीबार सो संख्या आठ हजार ३ सय ९६ पुगेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भक्तपुर, ललितपुर र काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित उपचाररत भएका जिल्ला हुन् । यसैगरी दुई सयभन्दा बढी संक्रमित उपचार गरिरहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली रहेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्न सरकारलाई सिफारिस गरेपछि गृह मन्त्रालयले स्वास्थ्यका विभिन्न मापदण्ड पालना गराउने नियम बनाएको छ । सरकारले सार्वजनिक स्थान कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने नियम बनाएको छ । खोप कार्ड अनिवार्य गरेपछि स्वास्थ्य मन्त्रालयले खोप अभियान अझ प्रभावकारी बनाएको छ । संक्रमण बढदै गएपछि राजधानी तथा जिल्ला अस्पताल र खोप केन्द्रमा मानिसको भीड लाग्न थालेको छ । बिहीबार तीन लाख ५६ हजार चार जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल कुल देशभरको जनसंख्याको ५७ प्रतिशतले समेत पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. मिश्राले पछिल्लो समय कोभिड संक्रमणका विभिन्न भेरियन्ट फेला परिरहेको र यसको असर नेपालमा समेत देखिन थालेकाले अनावश्यक भीडभाड नगर्न अनुरोध गरेकी छन् । सीसीएमसीले कोभिड–१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुझाव दिएकोे छ । कार्यविधिअनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा लकडाउनमा कडाइ गरिने र अत्यावश्यक बाहेकका व्यवसाय तथा सेवा आंशिक वा पूर्णरूपमा बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्