लकडाउनले विदेश जान नपाएपछि कालिज पालन

पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्का विदेश जाने योजना बनाएका थिए । तर कोभिडको कारण लकडानको लागि विदेश जान पाएनन् । विदेश जान नपाए पनि अब यतै केही गर्नु पर्दछ भनेर योजना बनाए ।
त्यसपछि व्यावासायीक रुपमा कालिज पालन सुरु गरेको उनले बताए । खड्काले करिब ५० लाख रुपैयाँ खर्च गरेर घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा एमके मल्टी पर्पोज प्रालिमार्फत कालिज पालनदेखि बच्चा उत्पादन गर्दै आएका छन् । एक वर्षअघि कालिज पालनमा लागेका उनले अहिले फर्ममा ह्याचरीमार्फत चल्ला उत्पादन, कालिज कै परिकार पाइने कालिज रेष्टुरेष्ट सञ्चालन गर्ने तयारीमा जुटेका छन् । रेष्टुरेष्टका लागि घोराहीमा तयारी भइरहेको उनले बताए ।
“कालिज फर्मदेखि चल्ला उत्पादनको काम भइरहेको छ । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको छ” उनले भने, “यता व्यवसायलाई सर्पोटसँगै कालिजको मासु खाने इच्छुकलाई सहज समेत हुने छ ।” उनले अन्य व्यवसाय भन्दा केही फरक व्यवसाय गरौं भन्ने सोच र सानैदेखि कालिज प्रतिको आकर्षणले व्यावसायिक रुपमै यसतर्फ लागेको बताए ।
विदेश जाने सोच भएपनि लकडाउनका कारण उड्न नपाएपछि व्यवसायमा लागेको उनले बताए । “आफूले पनि कृषि पढेकाले स्वदेश मै केही गरौं भन्ने थियो, तर अष्ट्रेलिया जाने तयारीमा थिए” उनले भने, “त्यही समयमा लकडाउन भयो । विदेश जाने भएन अनि त्यही पैसा यता लगानी गरें ।” उनले वार्षिक एक लाख बढी भाडा तिर्ने गरेका छन् । फर्ममा कालिजसँगै लौकाट, कडकनाथ, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादनको काम गर्दै आएका छन् ।