रोजगारीका लागि विदेशिने जुम्ली युवा बढ्दै «

रोजगारीका लागि विदेशिने जुम्ली युवा बढ्दै


जुम्लाबाट रोजगारीका लागि विदेशिने युवाको संख्या वर्षेनी बढ्दै गएको छ । आफ्नै गाउँठाउँमा रोजगारीका अवसर नभएपछि ठूलो संख्यामा युवाहरू वर्षेनी पलायन हुन थालेका हुन् । स्थानीय सरकार सञ्चालन भएको साढे चार वर्षमा पनि सीप क्षमता र योग्यताअनुसार आफ्नै गाउँघरमा उपयुक्त रोजगारी पाउने वातावरण नपाएपछि युवाहरू विदेशिन बाध्य भएका छन् । जुम्लासहित कर्णालीका नागरिकको रोजगारीका लागि मुख्य केन्द्र भारत भए पनि हालसम्म भारतमा कति नागरिक रोजगारीका लागि गएका छन् भन्ने आधिकारिक तथ्यांक छैन । तर जुम्लाबाट तेस्रो मुलुकमा रोजगारीका लागि पलायन हुने युवा भने बढेको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको राहदानी फाँटको तथ्यांकअनुसार जुम्लामा चालू आवको हालसम्म झण्डै ४ सय १० जना युवाले राहदानी लिएका छन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा जुम्लाबाट विदेश जानका लागि ३ सय ३६ जना युवाले मात्रै राहदानी लिएका थिए । तर स्थानीय सरकार सञ्चालनको साढे चार वर्ष बित्दा भने चालू आवको ६ महिनामै ७४ जनाले बढेर ४ सय १० युवाले राहदानी लिएका छन् ।
दुई आर्थिक वर्षको गरेर जुम्लाबाट ७६ जना महिलाले राहदानी लिएका छन् । ३÷४ वर्ष पहिलेसम्म राहदानी लिने महिलाको संख्या शून्य हुने जुम्लामा पछिल्लो वर्ष वैदेशिक रोजगारीप्रति महिलाको पनि आकर्षण बढेको देखिन्छ । देशमा रोजगारीको अवसर नपाएपछि युवाहरू खाडीतिर जान बाध्य भएका हुन् । स्थानीय सरकारले दिने रोजगारी आफ्ना कार्यकर्तामुखी भए पनि विपन्न युवाहरू रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएका छन् ।
नागरिक अगुवा राजबहादुर महत भन्छन्, “स्थानीय सरकारले बितेको साढे चार वर्षमा अपेक्षित “पमा रोजगारीको सृजना गर्न सकेनन् । प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार कार्यक्रमले अल्पकालीन रोजगार दिए पनि युवाहरूलाई दीर्घकालीन रोजगारको अभाव थियो । खाडी मुलुकका लागि राहदानी लिनेमात्रै दैनिक बढ्न थालेका छन् । तर रोजगारीकै लागि कालापहाड जानेको संख्या नगन्य मात्रामा छ ।”
कर्णालीका ९० प्रतिशत ग्रामीण युवा रोजगारीको खोजीका लागि कालापहाड जान्छन् । यद्यपि हालसम्म कति युवा भारत गएका छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन । तर कर्णालीका मानिसको मुख्य रोजगारी केन्द्र पनि भारत नै हो भने बाँकी योग्यता क्षमताअनुसारको रोजगारी नपाएका कर्णालीका युवा विदेश जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्