मेडिकल ‘हब’ बन्दै च्यारे «

मेडिकल ‘हब’ बन्दै च्यारे


जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माणकार्य थालिएको छ । जुम्लामा मंसिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस कार्यक्रमको शुभारम्भ गरेसँंगै च्यारेचौरलाई मेडिकल हब बनाउने तयारी स्वरुप पूर्वाधार निर्माणकार्य थालिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकाम खलंगाबाट ६ किलोमिटर टाढा डाँफे लेखको तल च्यारेचौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि करिब दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।
एमबीबीएस सञ्चालनका लागि झण्डै २३ वटा शैक्षिक तथा प्रशासनिक, आवास भवन निर्माण हुँदैछन् । कर्णाली प्रतिष्ठानका उपकुपति डा. मंगल रावल भन्छन्, “प्रतिष्ठानले एमबीबीएस सुरु गरेपछि मेडिकल हबको रूपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना अघि बढेको छ । च्यारेचौरलाई प्रतिष्ठानको दीर्घकालीन योजनाअनुसार मेडिकल हवको रूपमा विस्तार गरिने छ । एमबबिीएसलगायतका कार्यक्रम सञ्चालन गर्न चन्दननाथ–३ का स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि मेडिकल हब बनाउने योजना सुरु भएको हो ।”
यद्यपि २३ वटा भवनमध्ये एक शैक्षिक भवन निर्माणकार्य सुरु भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनका अनुसार भवन निर्माणको जिम्मा तीन सय शैया कर्णाली प्रतिष्ठान अस्पताल बनाएको रसुवा कम्पनीलाई दिइएको छ ।
च्यारेचौरमा मेडिक कलेज सञ्चालन भए पनि विश्कै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकाले जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हब बन्ने अपेक्षा गरिएको छ ।
रजिष्ट्रार महतले भने, “च्यारेचौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली प्रतिष्ठानलाई स्थानीयले दिने सहमति भएको र तीन सय रोपनी दर्ता भइसकेको छ । सो क्षेत्रमा २३ वटा शैक्षिक प्रशासनिक भवन निर्माण गर्ने योजना नेपाल सरकारसमक्ष पेस गरिएको छ ।”
वर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमबीबीएस सहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको प्रतिष्ठानले जनाएको छ ।
च्यारेचौर भवन निर्माण नहुँदासम्म प्रतिष्ठान छेउमै ७६ करोड लगातमा निर्माण भइरहेको भवन सम्पन्नपछि त्यही विभिन्न विषयको पढाइ हुनेछ । प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न २० जना विद्यार्थी भर्ना भइ पढाइ सञ्चालन भएको छ भने हाल प्रतिष्ठानमा एमबीबीएस लगायत बीपीएच, बी फार्मेसी, बीएनएस लगायतका पढाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्